तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विराट कोहलीलाई शाहरुख ज्वाइँ जस्तो किन भन्छन्?
भारतका सुपरस्टार अभिनेता शाहरुख खान जवाफ दिने शैलीका कारण खुब चर्चित छन्। उनका केही रमाइला कुराकानी सामाजिक सञ्जालमा धेरै शेअर हुने गर्छ।
शाहरुखको यही पक्ष बुधवार साँझ एक पटक फेरि सामाजिक सञ्जालमा देखियो।
एक्स (पहिला ट्विटर)मा शाहरुखले सुरु गरेको ह्याशट्याग #AskSrk मा कैयौँ प्रश्न र जबाफ पढ्न पाइयो।
ती सवालमा शाहरुखको तर्फबाट रमाइला जबाफ थिए।
उनले विराट कोहली, जवान फिल्मको कमाई लगायतका मुद्दामा मानिसहरूलाई जबाफ दिए।
एक प्रशंसकले शाहरुखसँग सोधे, “जवान फिल्मको शैलीमा विराट कोहलीको बारेमा केही भन्नुहोस् न?”
यसको जबाफ दिँदै शाहरुखले भने, “म विराटलाई माया गर्छु। उनी म जस्तै छन्। म उनका लागि सधैँ असल कामना गर्छु। उनी हाम्रा भाइ/ज्वाइँ जस्ता हुन्।”
शाहरुख खान र अनुष्का शर्माले कुन कुन फिल्ममा सँगै काम गरेका छन्?
अनुष्का शर्माले शाहरुख खानसँग सन् २००८ मा 'रब ने बना दी जोड़ी' फिल्मबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।
शाहरुख र अनुष्काले चार फिल्ममा सँगै खेलेका छन्।
- जब तक है जान
- जब ह्यारी मेट सेजल
- जीरो
- रब ने बना दी जोडी
अनुष्का शर्मा, रणवीर कपूर र ऐश्वर्या रायको फिल्म 'ऐ दिल है मुस्किल' मा शाहरुख खान सानो भूमिकामा देखिएका थिए।
'जीरो' र 'ह्यारी मेट सेजल' फिल्म हटाउने हो भने यी दुई नायक नायिकाका बाँकी दुई फिल्म बक्स अफिसमा हिट भएका थिए।
विराट कोहली र शाहरुखको सम्बन्ध
शाहरुख र विराट दुवै जना दिल्लीका हुन्।
अनुष्का शर्माले पनि दिल्लीबारे एक अन्तर्वार्तामा बोलेकी छन्, "मानिसहरूलाई म दिल्लीवाली हुँ जस्तो लाग्छ। मैले 'ब्यान्ड बाजा बारात' मा दिल्लीको केटीको जस्तो भूमिका खेलेकी थिएँ। मानिसहरूलाई लाग्यो कि म पश्चिम दिल्लीको जनकपुरीकी केटी हुँ।"
विराट कोहलीको बाल्यकाल त्यहीँ पश्चिम दिल्लीमै बितेको थियो।
कोहली, अनुष्का र शाहरूखबीचको नजिकपन यसअघि कैयौँ मौकामा देखिइसकेको छ।
यो वर्ष २५ जनवरीका दिन शाहरुखको फिल्म पठान रिलिज भयो।
रिलिज भएको कैयौँ दिनपछि जब आइपीएल प्रतियोगिता भयो त्यस बेला शाहरुखले सिकाएर कोहलीले मैदानमा 'झुमे जो पठान' गीतमा नाच्ने कोसिस गरेको देखिएको थियो।
कोहली आइपीएलको रोयल च्यालेन्जर्स ब्याङ्गलुरु टिममा छन्। र, शाहरुख कोलकाता नाइट राइडर्स टीमका मालिक हुन्।
आइपीएल खेलपछि शाहरुखले कोहलीलाई माया गरिरहेको तस्बिर एप्रिलमा खुब शेअर भएको थियो।
यो तस्बिर कैयौँ सामाजिक सञ्जालका पोस्टहरूको जबाफ जस्तो थियो जसमा कोहली र शाहरुखको अनुहार एक आपसमा ठोक्किएको जस्तो देखिन्थ्यो।
अनुष्काले शाहरुखबारे के भनेकी थिइन्?
अनुष्का शर्मा र शाहरुखको सम्बन्ध पनि स्नेहपूर्ण छ। दुवै जनाले एक अर्काबारे टिप्पणी गरिरहन्छन्।
केही वर्ष अगाडि निर्देशक साजिद खानले एक समारोहमा शाहरुखकै अगाडि अनुष्कासँग सोधेका थिए, तपाईँ शाहरुखको के एक चिज चोर्न चाहनुहुन्छ?
अनुष्काले रमाइलो पारामा जवाफ दिँदै भनेकी थिइन्, “धेरै कुरा छन्। शाहरुखको घडीको सङ्कलन चोर्छु र बिक्री गर्छु। मन्नत (घर) पनि चोर्छु।”
यसमा शाहरुखले भनेका थिए 'भ्यानिटी भ्यान' चाहिँ छोड्देउ है नत्र त कहाँ बसुँला?
अनुष्काले 'भ्यानिटी भ्यान'को बारेमा भनिन्, “त्यो पनि लिन्छु।”
एक अन्तरवार्तामा शाहरुखको बारेमा अनुष्का शर्माले भनेकी थिइन्, ''शाहरुख त्यस्ता व्यक्ति हुन् जसप्रति मेरो धेरै सम्मान छ। मेरो पहिलो फिल्मदेखि नै उनी मप्रति एकदमै दयालु छन्। मलाई लाग्छ एक व्यक्तिका रूपमा उनी धेरै परिवर्तन भएका छन्। शाहरुखसँग मेरो सम्बन्ध निकै बदलिएको छ। किनभने अहिले म उनीसँग निकै सहज भएर कुराकानी गर्न सक्छु।”
शाहरुखसँग पहिलो फिल्म खेलेको दिन सम्झिँदै अनुष्का भन्छिन्, ''सुरुमा खानसँग कुरा गर्न डर लाग्थ्यो। शाहरुखसँग जे कुरा गर्न चाहन्थेँ त्यो बेकारको कुरा हो किन गर्नु जस्तो लाग्थ्यो। अब त्यस्तो छैन।”
'जब ह्यारी मेट सेजल' फिल्मको प्रवर्द्धन कार्यक्रमका बेला शाहरुख र अनुष्काले सन् २०१७ मा अल अरेबियालाई अन्तर्वार्ता दिएका थिए।
शाहरुखले उक्त अन्तर्वार्तामा अनुष्काबारे भनेका थिए, ''अनुष्का असाध्यै दुष्ट छिन्। सधैँ समयमै आउँछिन्। ९ बजे आइपुग्नु पर्ने भए ८:४५ मा हाजिर हुन्छिन्। यस्तो कसले गर्छ र किन? जब हामीले पहिलो फिल्ममा साथसाथ काम गरेका थियौँ मलाई लागेको थियो नयाँ नयाँ जोस छ त्यसैले समयभन्दा पहिला आएकी होला। तर अब त पुरानी भइसकिन् तर पनि समयमै आउँछिन्। मलाई खराब लाग्छ।''
तर एउटा अन्तर्वार्तामा अनुष्का शर्माले भनेकी थिइन्, “म मानिसहरूसँग धेरै बोल्दिनँ। तर शाहरुख यस्ता मानिस हुन् जसले कहिल्यै पनि अरूबारे व्यक्ति हेरेर धारणा बनाउँदैनन्।”
यसपछि शाहरुखले पनि भनेका थिए, “अनुष्का र म कहिल्यै पनि समय बिताएर साथी बनेका छैनौँ। त्यसको मतलब अनलाइन कुरा गर्छौँ भन्ने पनि होइन र हामीबीच त्यस्तो साझा कुरा पनि छैन। तर जसरी हामी एक अर्काको इज्जत गर्छौँ मलाई त्यो असाध्यै राम्रो लाग्छ। अनुष्का कहिल्यै पनि कसैगरी अर्काको व्यक्तिगत र गोप्य कुरामा प्रवेश गर्दिनन्। म पनि त्यस्तो गर्दिनँ। सायद हामी यसै कारण पनि नजिक छौँ। हामी जब कुरा गर्न थाल्छौँ हामी धेरै नै कुरा गर्छौँ।”
'पठान' पछि 'जवान' ले पनि गर्यो राम्रो कमाइ
शाहरुख खानको ‘जवान’ फिल्मले संसारभरि अहिलेसम्म एक हजार करोड रुपैयाँ भन्दा बढी कमाइसकेको छ।
फिल्म रिलिज भएको २० दिनमै उक्त फिल्मले यति कमाइ गरेको हो।
यसअघि यही वर्ष रिलिज भएको 'पठान' ले पनि एक हजार करोड भन्दा बढी नै कमाएको थियो।
सन् २०२३ को अन्तिममा शाहरुखको यो वर्षको तेस्रो फिल्म 'डंकी' पनि रिलिज हुने बताइएको छ। फिल्मका जानकारहरूले उक्त फिल्मले पनि राम्रो कमाइ गर्न सक्ने बताएका छन्।
तर 'पठान' भन्दा अगाडिका शाहरुखका कतिपय फिल्मले राम्रो गरेको थिएन। पठान पनि चार वर्षपछि मात्रै रिलिज भएको थियो।
चार वर्षसम्म फिल्म रिलिज नभएकोमा शाहरुख आफैँ पनि आफ्नो मजाक उडाउने गर्थे।
शाहरुख खान फिल्म 'जवान' को टिजर सार्वजनिक भएदेखि आफ्ना प्रशंसकहरूसँग सामाजिक सञ्जालमार्फत जोडिने गरेका छन्।
गत बुधवार पनि यही भएको हो। शाहरुखले उनीहरूका कतिपय प्रश्नको जवाफ दिए।
शाहरुख खानलाई सवालजवाफ
वसिम नामका प्रयोगकर्ताले एक्समा सोधेका छन् - 'जवान' को फर्जी कमाइका बारेमा के भन्नुहुन्छ? कतिपय फिल्म निर्माताहरूले कमाइ गरेको भनेर झुटो खबर फैलाएको भनिरहेका छन्?
शाहरुखले जवाफ दिँदै भने – चुप लागेर बस्नुस् र पैसा गन्नुस्। पैसा गन्ने कामबाट ध्यान नहटाउनुस्।
अर्का व्यक्तिले सोधे – के तपाईँले कपालमा रङ्ग लगाउनुहुन्छ?
शाहरुखले भने, “अँ थोरै थोरै। खास भन्ने भए अलि बढी नै।”
फेरि अर्काले सोधे – “मलाई मेरो प्रेमिकासँग विवाह गर्न मन छ। उनको घरमा तपाईँ मेरो बिहेको कुरा लिएर जानुस् न।”
शाहरुख: म गएँ भने त तपाईँको समस्या झन् बढ्छ। मैले झन् बिगारिदिन्छु।
कान्हा नाम गरेको ह्यान्डलबाट सोधिएको छ – टाइगर ३ मा तपाईँ मध्यान्तर अगाडि देखिनुहुन्छ वा पछाडि?
शाहरुख: जब-जब भाइ(सलमान)ले बोलाउँछन्। तब तब म आउँछु।
एक प्रयोगकर्ताले भने- 'जवान' को बक्स अफिस कलेक्सनपछि मलाई थाहा भयो कि एक हजार करोडमा १० वटा शून्य हुँदो रहेछ।
शाहरुखले यसमाथि भने- साथी शून्यबारे अहिले मलाई नसम्झाऊ।
शाहरुखको 'जीरो' फिल्म बक्स अफिसमा फ्लप भएको थियो।
शाहरुखको अब आउने फिल्म 'डंकी' क्रिसमसको बेला रिलिज हुनेछ।
'डंकी' फिल्मका निर्देशक राजकुमार हिरानीले बुधवार शाहरुखलाई ट्याग गर्दै लेखेका छन् – सर बाथरुमबाट बाहिर आउनुस्। त्यहाँ के गरिरहेको मलाई फिल्मको ट्रेलर देखाउनु छ।
शाहरुखले यसमा पनि जवाफ दिए - 'आउँदै छु सर। साथीहरूसँग गफ गर्दै थिएँ। साथीहरू अब म जानुपर्छ। नत्र डंकी बाट निकालिदिन्छन्। समय दिनुभएकोमा धन्यवाद। चाँडै सिनेमा घरमा भेट्नुपर्छ है।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।