बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा '१४ जनाको मृत्यु'

गत साताको अन्त्यदेखि देशैभरि परेको मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म कैयौँको ज्यान गइसकेको सरकारी अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरण अनुसार अनुसार पछिल्ला दुई दिनमा १४ जनाको मृत्यु भएको छ।

"दुई दिनमै यतिधेरै हताहत भएको परिस्थिति यस मनसुनकै ठूलो हो," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बीबीसीलाई भने।

"पछिल्लो यस वर्षाको असर देशव्यापी हुनुले समेत छोटो अवधिमै उच्च क्षति देखाएको हो।"

उक्त अवधिमा १५ जना घाइते र एकजना बेपत्ता भएका छन्। मन्त्रालयले जनाए अनुसार १३ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन्।

जल तथा मौसम विज्ञान विभागले गत सातादेखि जारी मनसुनी वर्षा अझै केही दिनसम्म कायम रहने तर सोमवारदेखि पानी पर्ने क्रम कम हुँदै जाने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार शनिवार मध्य नेपालमा केन्द्रीत रहेको वर्षाको क्रम आइतवारबाट भने पश्चिम नेपालतर्फ सरेको छ।

"शनिवार पाल्पा जिल्लाको कुमाल गाउँमा चौबिस घण्टामा अत्यधिक ४०२ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो जुन निकै भारी हो," उनी भन्छिन्।

"सोमवारबाट पानी पर्ने क्रम सुस्त हुँदै जानेछ। तर विभिन्न ठाउँमा छिटपुट तथा हल्का वर्षा भइरहनेछ। घाम लागिहाल्ने वा सुख्खा भइहाल्ने अवस्था होइन।"

अधिकारीहरूले दिएको जानकारीअनुसार देशैभरि नदी तथा खोलाहरूमा पानीको सतह बढेर "उच्च जोखिम"को अवस्थामा पुगेको छ।

उनीहरूले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन स्थानीयवासीहरूलाई आग्रह गरेका छन्।

अधिकांश जिल्ला प्रभावित

नेपालमा यो वर्ष जुन १० मा भित्रिएको मनसुनसँग सम्बन्धित चार सय भन्दा धेरै विपद्‍का घटना देखा परेका छन्।

नेपालका ६१ जिल्ला ती घटनाबाट प्रभावित भएको सरकारी विवरण छ।

मनुसन भित्रिएदेखिका घटनामा यस वर्ष ४३ जनाको मृत्यु भएको गृह मन्त्रालयको विवरण छ।

सरकारी विवरणमा यस वर्ष ८ करोड भन्दा बढिको क्षति पुगेको छ।

'सोमवारदेखि वर्षा कम हुँदै जाने'

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार "मनसुनको न्यून चापीय रेखा" नेपाल नजिक भएकाले अहिले वर्षा भइरहेको हो।

यद्यपि उक्त अवस्थामा विस्तारै सुधार आउने महाशाखाले जनाएको छ।

आइतवार दिउँसो ३ बजे महाशाखाले जारी गरेको विशेष बुलेटिनमा सोमवारदेखि मनसुनको "न्यून चापीय रेखा" नेपालबाट दक्षिणतर्फ सर्न थाल्ने जनाइएको छ।

त्यसको प्रभावबारे बुलेटिनमा भनिएको छ, "… नेपालमा मनसुनको सकृयतामा कमी आई भोलि (सोमवार) देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।"

"तथापि भोलि (सोमवार)देखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा उच्च वर्षाको सम्भावना रहेको छ।"

त्यस्तै उक्त अवधिमा मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उसले वर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबान जस्ता गतिविधि हुन सक्ने जनाएको छ।

उक्त बुलेटिनमा भनिएको छ, "वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।