धाविका सुस्त दौडिएपछि सोमालियाका खेल अधिकारी निलम्बनमा

तस्बिर स्रोत, CCTV
एक जना सिकारु धाविकालाई अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा सहभागी गराएपछि सोमालियाले एक जना खेल अधिकारीलाई नातावादको आरोपमा निलम्बन गरेको छ।
चीनमा भएको वर्ल्ड युनिभर्सिटी प्रतियोगितामा सोमालियाकी नसरा अबुबकर अलीलाई १०० मिटर दौड पूरा गर्न विजेता भन्दा करिब दोब्बर बढी समय लागेको थियो।
सोमाली युवा तथा खेलकुद मन्त्रालयले त्यसपछि गरेको अनुसन्धानले उनी “खेलाडी र धावक दुवै नरहेको” पत्ता लगायो।
सोमाली एथलेटिक्स फेडेरेसनकी अध्यक्षलाई आफ्नो अख्तियार दुरुपयोग गरेर देशलाई बदनाम गरेको आरोप लागेको छ।
खदिजो एडन दहिरले खेलकुद मन्त्रालय र राष्ट्रिय ओलिम्पिक्स कमिटीसँगको बैठकपछि राजीनामा दिएकी छिन्।
अस्थित्वमै नरहेको निकायबाट प्रतिनिधित्व
प्रारम्भिक अनुसन्धानले सोमाली युनिभर्सिटीज् स्पोर्ट असोसिएसन नामको खेलकुद निकाय नै अस्थित्वमा नरहेको देखाएको छ।
मन्त्रालयले नक्कली खेलकुद समूह निर्माण गरेकोमा एथलेटिक्स फेडेरेसनका अध्यक्ष र जिम्मेवार अन्य व्यक्तिहरूमाथि कानुनी कारबाही गरिने जनाएको छ।
मन्त्रालयले नातावादको आरोप लगाए पनि दहिर र अलीबीचको सम्बन्ध खुलाएको छैन।
ती नयाँ धाविकाले प्रतियोगिताका विजेताको भन्दा १० सेकेन्ड ढिलो २१.८१ सेकेन्डमा दौड पूरा गर्छिन्।
धाविकाको प्रस्टोक्ति
धाविकाले भने आफूलाई युनिभर्सिटीको सङ्गठनले छनौट गरेको तर खुट्टा मर्किएका कारण दौडन नसकेको प्रतिक्रिया दिएकी छिन्।
एक जना पत्रकारसँग फेसबुकमा अन्तर्वार्ता दिँदै उनले आफूमाथि भएका टिप्पणी नाजायज भएको र आफ्नो प्रयासलाई आँटको रूपमा हेरिनुपर्ने बताएकी छिन्।
“म घाइते भएको भए पनि मेरो प्रदर्शनको चर्को आलोचना भएको छ। मैले प्रयास गरेँ। यदि म सफल भएको भए उनीहरूकै त्यसमा हर्षोल्लास मनाउँथे,” उनले भनिन्।
यद्यपि असोसिएसन अफ सोमाली युनिभर्सिटीज्ले कुनै पनि धावक छनौट नगरिएको उल्लेख दाबी गरेको छ।
मन्त्रीले मागे जनतासँग माफी

तस्बिर स्रोत, moys.gov.so
सोमालियाका खेलकुद मन्त्री मोहम्मद बार मोहम्मदले उक्त घटनालाई लज्जाजनक भनेका छन्।
“त्यसले सोमाली जनतालाई प्रतिनिधित्व गर्दैन…. हामी सोमाली जनतासँग माफी मान्छौँ,” उनले भने।
त्यसअघि उनले कुनै पनि प्रतियोगितामा भाग लिएको अनुभव नभएको विवरण आएपछि केही सोमालीहरूले उनको छनौटबारे आश्चर्य व्यक्त गरेका थिए।
“यस्तो असक्षम सरकार देख्दा निराशा लाग्छ। उनीहरूले कसरी दौडने प्रशिक्षण पनि नलिएकी महिलालाई सोमालियाको प्रतिनिधित्व गरेर दौडन दिए?” एल्हम गरडले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।
“यो वास्तवमै स्तब्ध पार्ने कुरा हो र हाम्रो देशलाई अन्तर्राष्ट्रिय रूपमा कमजोर देखाउने घटना हो।"


असोसिएसन अफ सोमाली युनिभर्सिटीज्ले आफ्नो फेसबुक पेजमा राखेको एउटा प्रेस वक्तव्यमा उक्त प्रतियोगितामा दौडनका लागि कुनै पनि धावक नियुक्त नगरिएको उल्लेख गरेको छ।
सोमाली एथलेटिक्स फेडेरेसनले अबुबकर अली कसरी छनौट भइन् भन्नेबारे अनुसन्धानमा सहयोग गर्ने सहमति जनाएको बताइएको छ।
यसअघि पनि भएको थियो विवाद
सोमालियाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनौट गरेका खेलाडीको विषयमा विवाद उत्पन्न भएको यो नै पहिलो घटना भने होइन।
सन् २०१६ को रियो ओलिम्पिक्समा सोमालियाको प्रतिनिधित्व गरेका खेलाडीले धावकहरूले औसत ४८ सेकेन्डमा पूरा गर्ने ४०० मिटर दौड पूरा गर्न १ मिनेट १० सेकेन्ड भन्दा लामो समय लगाएका थिए।
यद्यपि धेरै जनाले सोमाली महिलाहरूले सामना गरिरहेको कठिन परिस्थितिबीच उच्च स्तरको प्रतियोगितामा सहभागिता जनाएको भन्दै ती धाविकाको प्रशंसा गरे।
सन् २०१२ को लन्डन ओलिम्पिक्समा पनि जमाम मोहम्मद फराहले विजेताभन्दा ३० सेकेन्ड बढी समय लगाए पछि विवाद भएको थियो।
यी धावकहरूलाई प्रतियोगिता अवधिभरि महिलाले खेलकुदमा भाग लिन नहुने ठान्ने केही सोमालीहरूले ज्यान मार्ने धम्की समेत दिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








