तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्।
आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी छन्। मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ।
सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध "घातक हतियारहरू" प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ। यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन्।
केही साता चलेको आन्दोलन र अशान्तिका क्रममा बाङ्ग्लादेशमा झन्डै १,४०० जनाको मृत्यु भएको थियो। तर उनी सत्ताच्युत भइन्। उनी १५ वर्षदेखि सत्तामा थिइन्।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बाङ्ग्लादेशमा गत वर्ष सबैभन्दा ठूलो हिंसा फैलिएको मानिन्छ।
'१,४०० वटा मृत्युदण्ड'
मुख्य सरकारी अभियोजनकर्ता तजुल इस्लाम हसिनालाई १,४०० वटा मृत्युदण्ड दिनुपर्ने ठान्छन्। "तर व्यावहारिक रूपमा त्यसो गर्न सम्भव नभएकाले कम्तीमा एउटा मृत्युदण्ड दिनुपर्ने माग गरेका छौँ," उनले भने।
"[शेख हसिनाको] उद्देश्य स्थायी रूपमा सत्तामा बस्नु थियो, आफ्ना लागि र परिवारका लागि," बिहीवार इस्लामले सुनुवाइका क्रममा अदालतमा भने।
"उनी कठोर अपराधी बनिसकिन्। आफूले गरेको क्रूरतामा उनले कुनै पश्चात्ताप देखाएकी छैनन्," उनले भने।
सरकारी जागिरमा कोटा छुट्ट्याउने सरकारको निर्णयको विरोधमा जुलाई २०२४ मा विरोधप्रदर्शन सुरु भएको थियो। सन् १९७१ मा स्वतन्त्रताका लागि भएको युद्धमा सहभागी मुक्तियोद्धाका परिवारका लागि भन्दै सरकारले सरकारी सेवामा आरक्षणको व्यवस्था गरेको थियो। तर त्यसविरुद्धको अभियानले चाँडै आन्दोलनको स्वरूप लियो।
ढाका र अन्य सहरमा हिंसा चर्किएपछि ५ अगस्टमा हेलिकप्टर चढेर हसिना भारत पलायन भइन्। त्यो दिन आन्दोलनकारीहरूले ढाकास्थित उनको निवासमा धावा बोलेका थिए।
ढाकास्थित एउटा क्षेत्रमा प्रहरीको गोली लागी कम्तीमा ५२ जनाको मृत्यु भएको थियो। उक्त घटनालाई बाङ्ग्लादेशको इतिहासमै प्रहरीको संलग्नता भएको सबैभन्दा नराम्रो हिंसा मानिन्छ।
राज्यले प्रतिवादी हसिनाका पक्षमा बहस गर्न उपलब्ध गराएका वकिलले आन्दोलकारीहरूले हिंसात्मक गतिविधि गरेकाले त्यसको प्रतिकार गर्न प्रहरी बल प्रयोग गर्न बाध्य भएको तर्क गरेका छन्।
हसिनासँगै उनको सरकारमा गृहमन्त्री रहेका असदुज्जमान खान कमाल र तात्कालिक प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनविरुद्ध पनि मुद्दा परेको थियो।
अभियोजनकर्ताहरूले कमाललाई पनि मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। अधिकारीहरूका अनुसार उनी फरार छन्।
चौधरीले दोष स्वीकार गरिसके। तर उनीविरुद्ध फैसला आउन बाँकी छ।
अदालतले मानहानिको मुद्दामा हसिनालाई छ महिनाको जेल सजाय सुनाइसकेको छ। उनीविरुद्ध भ्रष्टाचार गरेको भन्दै छुट्टै मुद्दा पनि परेको छ।
बाङ्ग्लादेशमा आगामी फेब्रुअरी महिनामा निर्वाचन हुन लागेको छ।
हसिनाको पार्टी अवामी लीगलाई निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ। उक्त निर्वाचनमा अवामी लीगको प्रतिद्वन्द्वी बीएनपी अग्रस्थानमा आउने देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।