पोखरेली जेठो बुढोमा किरा, फेवा फाँटको हजार रोपनीको धान चौपट

- Author, कृष्णमणि बराल
- Role, पोखरा
पोखरेली जेठो बुढो धानको निम्ति फेवा फाँट पकेट क्षेत्र मानिन्छ। तर गवारो किराले त्यहाँको धानमा पूर्ण क्षति पुर्याएको बताउने किसानहरूका अनुसार पराल समेत काम नलाग्ने भएको छ।
सरकारी अधिकारीले पनि फेवा फाँटमा गवारो किराले धान चौपट पारिदिएको बताएका छन्।
पोखरा-२३ की राधादेवी लामिछानेले ६० रोपनीमा धान लगाएकी थिइन। एक दिन युरिया मल छर्न भनेर गइन। तर धान सप्रिएको देखेर मल फिर्ता लिएर फर्किइन। उनलाई लाग्यो, यस पटक धान बेसरी फल्ने भयो।
“तर त्यो खुसी टिक्नै पाएन,” वर्ष भरी गरेको मेहनत धान भित्र्याउने बेला खेर गएको सुनाउँदै उनले भनिन्, “फूल फुल्ने बेलामा हावाहुरी लाग्दा पनि चिन्ता त लागेको थियो तर यतिसम्म होला भन्ने कल्पना थिएन।”
फूल फुल्दै गर्दा उनको मनमा शङ्का भने जन्मिएको थियो- पहेँलो हुँदै गएपछि कति छिटो धान पाकेछ भन्ने लागेछ। “बोट नै सुक्दै मर्दै गएपछि बल्ल रोग लागेको थाहा भयो,” लामिछाने स्तब्ध देखिन्छन्।
यो पीडा सुनाउँदा उनले आफ्नो बिहे भएको वर्ष सम्झिन-२०४४ साल।
“बिहे गरेर यहाँ आएयता फेवा फाँटको धानमा कहिल्यै यस्तो भएको मलाई सम्झना छैन,” उनले भनिन्, “अब के गर्ने, कसो गर्ने हामी अलमलमा छौँ।”
‘धान त के, पराल पनि हैन, भुस मात्र हातमा’
गवारो किराले धान मात्र होइन परालको डाँठ नै खाइदिएको किसानहरू बताउँछन्।
त्यसैले त्यस्तो धान काट्ने कि नकाट्ने भन्ने कुरामा उनीहरू अलमल परेका छन्। किन कि काट्दा, चुट्दा, दाइँ लगाउँदा थप खर्च मात्र बढ्ने उनीहरूको चिन्ता हो।
किसान राधा देवी लामिछानेले भनिन्, “ऋण काढेर, ट्याक्टर भाडामा लिएर खेतालाको भरमा खेती गरेका किसान रुनुकी हाँस्नुको अवस्थामा पुगेका छन्।”
फेवा फाँटको हजार रोपनी क्षेत्रफलमा जेठो बुढो धान खेती गरिन्छ। फेवातालको मुख्य पानीको स्रोत हर्पन खोलाको दक्षिण तर्फको एक हजारभन्दा बढी क्षेत्रफलमा लगाएको धान गवारो किराले नोक्सान गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहरी कडरियाले बताए।

उनका अनुसार किरा लागेको क्षेत्रको धानको पराल समेत काम नलाग्ने गरी शतप्रतिशत धान नोक्सान भएको छ।
पोखरा-२३ की दिल सुब्बा गुरुङले आठ रोपनी क्षेत्रफलमा धान लगाएकी थिइन। केही धान निस्किएला किन भनेर धान काट्ने, चुट्न गर्न थालिन। “तर दुई रोपनी क्षेत्रफलको धान काटेर चुट्दा भुस मात्र हात लाग्यो,” उनले सुनाइन्।
अर्की किसान रुपा लामिछाने अर्को वर्षका लागि बिउँको समेत अभाव हुने गरी गवारो किराले धान नोक्सान गरेको बताउँछिन्।
गवारो लाग्दा के ख्याल गर्ने?
यो पुतली वर्गको किरा हो। जसको लार्भाले गुभो खाइ बालीमा नोक्सान पुर्याउँछ। महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पहेँलो र सेतो गवारोले धान बालीमा नोक्सान गर्दछन्। गुलाबी गवारो र धर्के गवारोले अन्य बालीहरूमा पनि नोक्सान गर्छन्।
बर्सेनि यी किराहरूबाट करिब १५ प्रतिशत सम्म धान नोक्सान हुने गरेको अनुमान छ। माउ गवारो एकदेखि दुई सेन्टिमिटरसम्म लामो हुन्छ।
विज्ञहरूका अनुसार गवारोको माउले पातको टुप्पोतर्फ पछाडिको भागमा अण्डा पार्दछ। लार्भा निस्केर डाँठमा प्वाल पार्दै त्यो भित्र पस्छ र गुभो खाँदै तल वा माथि जान्छ।

त्यसपछि पातहरू भुईँमा झर्छन्। कृषि महाशाखा प्रमुख कडरियाका अनुसार त्यहीँ बेलै उपचार गरेमा धेरै नोक्सान हुनबाट जोगाउन सकिन्छ।
गवारोले भित्र खाँदै गएपछि बाला सेतो हुने उनले बताए। गवारो नलागेको हरियो हुन्छ तर गवारो लागेको धानको बाला सेतो हुन्छ।
“धान फुल्यो भन्ने ठानिन्छ, तर त्यो गवारो लागेको सङ्केत हो, किसानले त्यो भेउ नपाउँदा समस्या जटिल बन्ने गरेको छ,” कडरियाले बताए।
जेठो बुढो धानको डाँठ मोटो र किराका लागि खानेकुरा प्रशस्त हुने भएकाले गवारो लागेपछि धेरै नोक्सानी हुने गरेको विज्ञहरू बताउँछन्। कडरियाले भने, “त्यसैले फेवा फाँटमा गवारोको प्रकोप लागेको धान शतप्रतिशत नष्ट भएको छ।”

धान बालीको बीमा नगर्दा…
धान बालीको बीमा नगर्दा गवारो, असिना लगायतले नोक्सान पुर्याउँदा किसानले क्षतिपूर्ति पाउने अवस्था नरहेको अधिकारीहरू बताउँछन्।
पोखरा महानगरपालिकाले २०७७/२०७८ मा अनुदान लिएर खेती गर्ने किसानलाई बीमा अनिवार्य गराएको थियो। सरकारको निःशुल्क बीमा कार्यक्रम सकिएपछि किसानले बीमा नै गर्ने छाडेको महानगरपालिका कृषि महाशाखाका सूचना अधिकारी सुरोज चिलुवालले जानकारी दिए।
तर बीमा रकम दाबी गर्दा झन्झट रहेकाले त्यसप्रति किसानले रुचि नदेखाएको बताइन्छ। असिनाले क्षति पुर्याउँदा बीमा दाबी गर्न असिना परेको भिडियो र चारै कुनाको असिना सहितको फोटो खिच्नु पर्ने व्यवस्था रहेको उनीहरूको भनाइ छ।
त्यसैले बीमा गर्न किसानहरू हच्किने गरेको चिलुवालको अनुभव छ।
तर पोखरा महानगरपालिकाले गवारो किराका कारण धान बालीमा नोक्सानी बेहोरेका किसानलाई गहुँको बिउँमा ५० प्रतिशत र थ्रेसिङमा प्रति रोपनी तीन सयका दरले अनुदान रकम उपलब्ध गराउने उनले जानकारी दिए।
किरा लागेको फेवा फाँटमा एक बाली मात्र लगाइन्छ। अरू बेला बाँझै रहने गर्दछ।
त्यसैले महानगरपालिकाले धानको क्षतिपूर्तिको रूपमा प्रभावित क्षेत्रका किसानलाई गहुँ खेती गर्न प्रेरित गर्न अनुदान कार्यक्रम ल्याएको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








