केरा उत्पादक किसानले किन पाउँदैनन् समयमै बिमा रकम

- Author, ईश्वर जोशी
- Role, चितवन
केराखेतीका लागि अग्रणी जिल्लाको रूपमा चिनिने चितवनमा प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको केरा उत्पादक किसानहरूले बताएका छन्।
किसानहरूका अनुसार गत शुक्रवार र शनिवार आएको हावाहुरीले चितवनका विभिन्न स्थानका केराखेतीमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ।
“बर्सेनि प्राकृतिक विपद्का कारण केराखेतीमा क्षति हुने गरे पनि किसानले बिमा गरेको रकम समयमा पाउने गरेका छैनन्,” नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भने।
पछिल्लो हावाहुरीले चितवनको खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्रका किसानको करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
क्षतिपूर्तिको व्यवस्था
केराखेती गर्ने किसानहरूलाई कृषि मन्त्रालयले ८० प्रतिशत प्रिमियम अनुदान दिने गरेको छ भने किसानले २० प्रतिशत प्रिमियम बुझाउने गरेका छन्।
तर गत वैशाखमा चार करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बिमा रकममध्ये २ करोड ५० लाख रुपैयाँ अझै किसानहरूले नपाएको अध्यक्ष पन्तले बताए।
किसानहरूले अहिले पनि ६० करोड रुपैयाँ बराबरको बिमा गरेका छन्। बिमा कम्पनीले प्रतिबोट २७५ लागत मूल्य तोकेर बिमा गर्ने गरेका हुन्।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार बिमा गरेको पहिलो तीन महिनामा क्षति भए ५५ प्रतिशत, चारदेखि ६ महिनामा ६५ प्रतिशत, ७-८ महिनामा ७५ प्रतिशत र नौदेखि १२ महिनामा क्षति भए शतप्रतिशत क्षतिपूर्ण दिनेगरी बिमा गर्ने गरिएको छ।
केराबारीमा क्षति भएको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था रहेको छ।
गत वर्षकै बाँकी

गत वर्षका ४०/४५ जना किसानले क्षतिपूर्ति वापत बिमा रकम नपाएको गुनासो किसानहरूको छ।
बिमा कम्पनीबाट २० लाख रुपैयाँ पाउनुपर्नेमा अहिलेसम्म नपाएको किसान ऋषि गुरुङले बताए।
क्षतिपूर्ति नपाउँदा जग्गा भाडा वापत लिएको ब्याज र मल किन्न समेत समस्या भएको बताए।
बिमा कम्पनीमा पैसा माग्न जाँदा सरकारले तिर्नुपर्ने रकम जम्मा नगरेको कारण भुक्तानी दिन नसकेको बताउने गरेको उनले सुनाए।
“सरकारले पैसा जम्मा गर्ने बित्तिकै तपाईँहरूले पैसा पाउनुहुन्छ भनेर बिमा कम्पनीले बताउने गरेका छन्,”अर्का किसान बिष्णु भट्टराईले भने।
“यही अवस्था रहे केरा उत्पादक किसानहरू पलायन हुने अवस्था आउँछ।”
सरकारबाट प्रिमियममा ढिलाइ
अधिकारीहरूका अनुसार सरकारले किसानलाई दिने ८० प्रतिशत अनुदान बिमा कम्पनीले समयमा पाउने गरेका छैनन्।
“त्यो रकम समयमा नपाउँदा हामीले पनि समयमा दिन नसकेका हौँ भनेर बिमा कम्पनीहरूले भन्ने गरेका छन्,” बिमा प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक निर्मल अधिकारीले बीबीसीसँग भने।
“किसानले पाउने बिमा रकममा ढिलाइ हुनुमा अन्य कुनै कारण होइन, सरकारले प्रिमियम रकम नै समयमा उपलब्ध नगराउनु रहेको छ,” उनले थपे।
चाँडो दिन माग
पछिल्लो हावाहुरीले क्षति पुर्याएको केराखेतीको विवरण लिने काम मशुरू भएको छ।
क्षतिपूर्तिको विवरण जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग आफूहरूको माग रहेको खैरहनी नगरपालिका-६ तुलसीपुरकी आशिका मल्लले बताइन्।
उनले करिब ११ बिघामा गरेको केराखेती पूर्ण रूपमा नष्ट भएको छ। मल्लका अनुसार करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको केरा क्षति भएको छ।
चितवनमा करिब ३,५०० बिघामा केराखेती गरिएको बताइन्छ। तीमध्ये १,५०० बिघामा गरिएको केराखेतीको मात्र बिमा गरिएको छ।
हावाहुरीले करिब २,५०० बिघामा गरिएको केराखेतीमा क्षति पुगेको छ।
गत वर्षकै बिमा रकम नपाएका किसानहरूले पछिल्लो ठूलो क्षतिले झन् चिन्तित बनेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








