तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प अदालतमा पराजित तर यो कसरी उनको रणनीतिक जित हो
- Author, एन्थनी जर्कर र म्याट मर्फी
- Role, बीबीसी न्यूज, वाशिङ्टन
डोनल्ड ट्रम्पले अदालतमा एउटा मुद्दा हारेका छन्। तर आसन्न राष्ट्रपति निर्वाचनमा सहभागी हुन पाउने भएकाले यो पराजय उनका लागि विजयजस्तै बनेको छ।
संयुक्त राज्य अमेरिकाको डीसी क्षेत्रस्थित पुनरावेदन अदालतले मङ्गलवार ट्रम्पले राष्ट्रपति हुँदा गरेको कार्यका लागि फौजदारी अभियोगबाट उन्मुक्ति नपाउने फैसला सुनायो। तर त्यो फैसला आउन समय लागेको हुँदा ट्रम्पविरुद्ध सन् २०२१ ज्यानुअरीमा अमेरिकी संसद् भवनमा गरिएको आक्रमणसम्बन्धी अर्को मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि सरेको छ।
पदमा हुँदा ट्रम्पले दण्डहीन बनेर अमेरिकी राष्ट्रपतिको व्यापक शक्ति प्रयोग गर्न नसकेको भए पनि उनीविरुद्ध वाशिङ्टन डीसीमा परेको र आगामी मार्च ४ तिर सुरु हुने ठानिएको एउटा मुद्दाको मिति भने सङ्घीय अदालतको तालिकाबाट हटेको छ।
त्यो मुद्दा फेरि कहिले सुरु हुन्छ भन्ने कुनै टुङ्गो छैन।
भूतपूर्व सङ्घीय अभियोजनकर्ता नेमा रहमानीका अनुसार सम्भव भएसम्म न्यायिक प्रक्रिया लम्ब्याउने भूतपूर्व राष्ट्रपतिको रणनीतिअनुरूप नै त्यसो भएको छ।
"ज्यानुअरी ६ को [संसद् भवनमा भएको दङ्गको] मुद्दालाई नोभेम्बरमा हुने चुनावपछिसम्म सार्न सक्नु ट्रम्पको हितमा हुन्छ," उनले भने, "पदासीन राष्ट्रपतिलाई मुद्दा चलाउन नमिल्ने भएको हुँदा उनले चुनाव जितेमा त्यस विषयमा सुनुवाइ हुने छैन।"
आलटाल गर्ने उपाय
प्रक्रियामै आलटाल गर्ने उद्देश्य हो भने ट्रम्पको कानुनी टोलीले केही उपाय अपनाउन सक्छ।
उनीहरूले डीसी पुनरावेदन अदालतको पूर्ण इजलासले फैसलामाथि पुनर्विचार गरोस् भनेर अनुरोध गर्न सक्छन्। सुरुको फैसला तीन न्यायाधीशको इजलासले सुनाएको थियो। अर्थात् पूर्ण इजलासले पुनर्विचार गर्न बाँकी आठमध्ये छ न्यायाधीशले ट्रम्पको अनुरोधलाई स्वीकार गर्नुपर्छ। त्यस्तो अनुरोध बिरलै स्वीकारिन्छ। त्यसैले त्यो प्रयास असफल हुने सम्भावना छ।
पुनरावेदन अदालतले त्यस्तो अनुरोधमाथि विचार हुँदै गर्दा पनि ज्यानुअरी ६ मा भएको आक्रमणको मुद्दाको सुनुवाइ अघि बढ्न सक्ने निर्णय सुनाइसकेको छ। सम्भवतः थप विलम्ब हुन नदिन त्यस्तो निर्णय गरिएको हो।
तर ट्रम्पसँग अन्य विकल्पहरू पनि छन्।
सर्वोच्च अदालत जाने विकल्प
डोनल्ड ट्रम्प सर्वोच्च अदालत जान सक्छन्। त्यहाँ तल्लो अदालतको फैसला सदर गर्ने कि बदर गर्ने भनेर फेरि सुनुवाइ हुन सक्छ। सर्वोच्च अदालतले ज्यानुअरी ६ को घटनासम्बन्धी मुद्दालाई तत्काल अगाडि नबढाउन आदेश पनि दिन सक्छ।
ट्रम्पले यही उपाय अवलम्बन गर्ने सम्भावना छ। किनभने पुनरावेदन अदालतले उनको कानुनी टोलीलाई सर्वोच्च अदालतमा जान फेब्रुअरी १२ सम्मको समय दिएको छ।
थप विलम्ब हुने वा नहुने त्यहीँ निर्धारण हुने छ।
यदि सर्वोच्च अदालतले मुद्दा हेर्न अस्वीकार गर्यो भने अर्को मुद्दामा सुनुवाइ अगाडि बढ्ने छ। तर मुद्दा यदि स्वीकार भयो भने अर्को मुद्दामा सुनुवाइ चुनावताका नै हुने छ। त्यस्तो अवस्थामा मुद्दा हेरिरहेका न्यायाधीश टान्या चुट्कनले सुनुवाइ राष्ट्रपतीय निर्वाचनपछिसम्मका लागि स्थगित गर्न सक्ने छिन्।
विगतका नजिर र अमेरिकी कानुनी परम्परालाई हेर्दा सर्वोच्च अदालतले मुद्दा स्वीकार गर्यो भने पनि उसको निर्णय ट्रम्पको पक्षमा नजाने अनुमान जोर्ज टाउन विश्वविद्यालयमा संवैधानिक कानुनका प्राध्यापक डेभिड सूपर गर्छन्।
"ट्रम्पको तर्कअनुसार अमेरिकी राष्ट्रपतिहरूको कानुनी हैसियत राजाहरूको भन्दा फरक हुँदैन," उनले बीबीसीसँग भने।
फेरि राष्ट्रपति बने आफैँलाई क्षमादान दिने सम्भावना
तर त्यसबाट हुने विलम्बले सर्वोच्च अदालतमा मुद्दा हारे पनि त्यो पूर्वराष्ट्रपति ट्रम्पका लागि जितसरह हुने छ।
झन् उनी फेरि राष्ट्रपति निर्वाचित भए भने त उनीविरुद्ध सङ्घीय अदालतमा परेका सबै मुद्दा सजिलै बिलाउन सक्छन्।
राष्ट्रपतिको पदभार लिएपछि आफूले न्याय मन्त्रालयमा नियुक्त गरेका अधिकारीमार्फत् ट्रम्पले सबै मुद्दा फिर्ता लिन लगाउन सक्छन्। अथवा उनले क्षमादान दिने राष्ट्रपतिको अधिकार आफ्ना लागि अभूतपूर्व रूपमा प्रयोग गर्न पनि सक्छन्।
दोस्रो कार्यकालका लागि ट्रम्प राष्ट्रपति बने त्यसको थालनी फरक तरिकाले हुने छ। चार वर्षअघि हार अस्वीकार गर्दै उनका समर्थकहरूले दङ्गा गरेको संसद् भवनअगाडि उभिएर फेरि शपथ लिनु अर्को अभूतपूर्व कुरा हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।