इमरान खानलाई राज्यको गोपनीयता चुहाएको मुद्दामा सफाइ, तर जेलबाट तत्काल नछुट्ने

इमरान खानका एक कार्यकर्ता उनको तस्बिरसँगै मिठाई बोकेर हर्षोल्लास गर्दै

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, इमरान खानका कार्यकर्ता र समर्थकहरूले अदालतको फैसलापछि हर्षोल्लास गरेका थिए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राज्यका गोप्य कुरा चुहाएको अभियोगमा सफाइ पाएका छन्। तर अर्को एउटा मुद्दामा दोषी ठहर भएको हुनाले उनी जेलबाट छुट्ने भने छैनन्।

फेब्रुअरीमा भएको निर्वाचनअघि ७१ वर्षीय खानलाई तीनवटा मुद्दामा जेल सजाय सुनाइएको थियो। उनले राजनीतिक दुराशय राखेर आफूविरुद्ध ती मुद्दा हालिएको दाबी गरेका थिए।

सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हटेका थिए।

उनलाई एउटा कूटनीतिक दस्तावेज सन् २०२२ मा सार्वजनिक गरेको अभियोगमा मुद्दा परेको थियो। उक्त मुद्दामा उनलाई ज्यानुअरीमा १० वर्षको जेल सजाय सुनाइएको थियो।

इस्लामाबाद उच्च अदालतले उनको पुनरावेदन स्वीकार गर्दै सोमवार उनले सफाइ दियो। तर उनी तत्काल कारागारबाट छुट्ने सम्भावना छैन।

क्रिकेटबाट अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका खान पछि राजनीतिमा प्रवेश गरेका हुन्।

इमरान खान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इमरान खान सन् २०१८ देखि २०२२ मा पाकिस्तानका प्रधानमन्त्री थिए

पत्नी बुशरा बिबी पनि जेलमा

इमरान खानकी पत्नी बुशरा बिबी पनि जेलमा छिन्।

बुशराको पारपाचुके भएको निकै छोटो समयमा उनले इनरान खानसँग बिहे गरेको भन्दै यसअघि अदालतले उनीहरूको सम्बन्धलाई गैरइस्लामिक र गैरकानुनी ठहर गरेको थियो। उनीहरूले सन् २०१८ मा विवाह गरेका थिए।

खान दम्पतीलाई इमरान खान प्रधानमन्त्री हुँदा उनले लिएका उपहारमा भ्रष्टाचार गरेको अभियोगमा पनि अदालतले दोषी ठहर गरेको थियो। पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले विभिन्न राष्ट्रप्रमुखबाट १०८ वटा उपहार प्राप्त गरेको दाबी गरिएको छ।

तीमध्ये ५८ वटा उपहार खान दम्पतीले आफूसँगै राखेका थिए। त्यस्तो उपहार राख्दा सरकारलाई तिर्नुपर्ने राजस्व कम गर्न ती उपहारको मूल्य कम देखाइएको आरोप उनीहरूमाथि थियो।

जेलमा शक्तिशाली नेता

इमरान खानका समर्थक र कार्यकर्ताहरू

तस्बिर स्रोत, Reuters

जेल परे पनि इमरान खानलाई पाकिस्तानको राजनीतिमा शक्तिशाली पात्र मानिन्छ।

फेब्रुअरीको निर्वाचनमा उनको पाकिस्तान तहरिक-ए-इन्साफ पार्टी (पीटीआई)का उम्मेदवारहरू स्वतन्त्र हैसियतमा चुनाव लड्न बाध्य भएका थिए।

पीटीआईका स्वतन्त्र उम्मेदवारहरू ९३ क्षेत्रमा विजयी भएका थिए।

यद्यपि उनीहरूले बहुमत जुटाउन सकेनन् र प्रतिद्वन्द्वीहरूले मिलेर नयाँ सरकार बनाए।

कुल ३३६ सदस्य रहने न्याश्नल असेम्ब्ली भनिने संसद्‌मा बहुमतका लागि १६९ सीट आवश्यक पर्छ।

सफाइ पाएको मुद्दा

"साइफर केस" भनिएको मुद्दामा सरकारी वकिलहरूले खानले वाशिङ्टनमा रहेका पाकिस्तानी राजदूतलाई पठाइएको गोप्य कूटनीतिक सन्देश चुहाएको दाबी गरेका थिए।

सन् २०२२ को मार्चमा भएको एउटा र्‍यालीमा तात्कालिक प्रधानमन्त्री खानले मञ्चबाट हातमा बोकेको एउटा कागज देखाउँदै त्यसमा आफूविरुद्धको विदेशी षड्यन्त्र रहेको बताएका थिए।

उनले कुनै देशको नाम लिएका थिएनन्। यद्यपि त्यसपछिका दिनमा उनी अमेरिकाप्रति निकै आलोचनात्मक बनेका थिए।

वाशिङ्टन र पाकिस्तानी अधिकारीहरूले ती दाबी अस्वीकार गरेका छन्।

अभियोजनकर्ताहरूले खानका गतिविधिबाट गोप्य दस्तावेज चुहिएको र कूटनीतिक सम्बन्धमा क्षति पुगेको उल्लेख छ।

सो मुद्दामा खानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई समेत १० वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनले पनि सफाइ पाएका छन्।

पीटीआईका प्रवक्ताले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्: "धन्य ईश्वर, सजाय उल्टियो।"

पाकिस्तान

बीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।