इमरान खानकी पत्नी बुशरा बिबी को हुन्, उनलाई जेल सजाय किन

बुशरा बिबी

तस्बिर स्रोत, HUM TV

भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई १४ वर्षको जेल सजाय सुनाएको छ।

इमरान खानलाई अदालतले १० वर्षका लागि सार्वजनिक पदमा रहन अयोग्य घोषित पनि गरेको छ।

खान दम्पतीलाई कुल एक अर्ब ५७ करोड पाकिस्तानी रुपैयाँ जरिबाना तोकिएको छ।

अदालतको यो आदेशसँगै इमरान खानलाई आरोपित गरिएको तोशाखाना मुद्दामा बुशरा बिबी पनि जोडिएकी छन्।

बुशरा बिबी र इमरान खानलाई कस्तो आरोप?

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले विभिन्न राष्ट्रप्रमुखबाट १०८ वटा उपहार प्राप्त गरेको दाबी गरिएको छ। तीमध्ये ५८ वटा उपहार खान दम्पतीले आफूसँगै राखेका थिए। त्यस्तो उपहार राख्दा सरकारलाई तिर्नुपर्ने राजस्व कम गर्न ती उपहारको मूल्य कम देखाइएको आरोप उनीहरूमाथि छ।

साउदी अरबका युवराजबाट प्राप्त गहना बुशरा बिबीले तोशाखाना भनिने सरकारी ढुकुटीमा जम्मा नगरेको र आफूले लिँदा त्यसको मूल्य कम देखाएको आरोप अदालतमा दायर मुद्दामा दाबी गरिएको थियो।

नियमानुसार प्रत्येक उपहार तोशाखानामा जम्मा गर्नुपर्ने भए पनि खान दम्पतीलाई त्यसो नगरेको आरोप लागेको छ। सन् २०२० मा प्रधानमन्त्रीका सैन्य सचिवले साउदी अरबबाट पाएका उपहारबारे जानकारी दिएका थिए।

उनीहरूले आफैँ राखेको भनिएका गहनाको बजारबाट मूल्य पनि अनुमान गरिएको र कम मूल्य देखाएको पाइएको मुद्दामा दाबी गरिएको छ।

तोशाखाना प्रकरणको अनुसन्धान र कारबाहीका क्रममा बुशरा बिबी र इमरान खानका एक कर्मचारीको भनिएको एउटा अडिओ रेकर्ड पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

बुशरा बिबी

तस्बिर स्रोत, Getty Images

बुशरा बिबीले तोशाखानाबाट उपहार लिएको तस्बिर खिचेको भन्दै कर्मचारीलाई गाली गरेको आरोप उक्त अडिओका आधारमा उनीहरूमाथि लागेको थियो ।

तर पूर्वप्रधानमन्त्री खानको पार्टीले अडिओ रेकर्डिङलाई ‘अप्रमाणित’ भन्दै अस्वीकार गरेको छ।

यो सजाय हुनुअघि पाकिस्तान तहरिक-ए-इन्साफका संस्थापक अध्यक्ष पनि रहेका इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई ईदको समयमा विवाह गरेको अर्को अभियोग पनि लगाइएको छ।

यो दम्पतीविरुद्ध अल कादिर ट्रस्टसँग सम्बन्धित अर्को मुद्दा पनि परेको थियो।

इमरान खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए।

ट्रस्टमा इमरान खान र बुशरा बिबी मात्र ट्रस्टी थिए। मन्त्रिपरिषद्ले बहरिया टाउनबारे निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए।

बहरिया टाउन परियोजनाले विश्वविद्यालयका लागि चन्दा दिएको आरोप छ। त्यस्तै इमरान खानमाथि बहरिया टाउनका सीआईओ मलिक रियाज र उनको परिवारलाई फाइदा पुर्‍याएको आरोप छ।

यद्यपि इमरान खान र बुशरा बिबीले यो आरोप अस्वीकार गरेका छन्।

तहरिक-ए-इन्साफका नेता सैयद जुल्फिकर अब्बास बुखारी अदालतको निर्णयले देशको प्रजातन्त्रको उपहास गरेको बताउँछन्।

उनले हाल पाकिस्तानमा इमरान खानका लागि छुट्टै कानुन र बाँकी मानिसहरूका लागि छुट्टै कानुन भएको आरोप लगाए।

तोशाखानाको सम्पत्ति प्रयोग गरेको आरोप नवाज शरीफ र आसिफ जर्दारीमाथि पनि छ। उनीहरूलाई अवैध रूपमा तोशाखानाका दुईवटा गाडी राखेको आरोप भए पनि मुद्दा नपरेको पीटीआईका नेताहरू बताउँछन्।

को हुन् बुशरा बिबी?

बुशरा बिबी

तस्बिर स्रोत, PTI

पीटीआईका संस्थापक इमरान खानकी पत्नी बुशरा बिबीको पूरा नाम बुशरा रियाज भिटो हो। उनको उमेर ५० वर्ष पुग्न बाँकी भएको बताइन्छ।

उनले पहिला खावर मनेकासँग बिहे गरेकी थिइन्। सन् २०१७ मा २८ वर्ष लामो वैवाहिक सम्बन्ध भङ्ग नगर्दासम्म उनी बुशरा खावर मनेका नामले चिनिन्थिन्। उनीहरूका पाँच सन्तान छन्।

बुशराले सन् २०१८ मा इमरान खानसँग फेरि बिहे गरेकी हुन्। इमरान खानले त्यसअघि दुई पटक बिहे गरेका थिए।

बुशराका पूर्वपति सरकारी कर्मचारी र पूर्वससुरा प्रख्यात नेता हुन्। बुशराका बुवा मियाँ रियाज कुइका भिटो पाकपट्टन जिल्लाका जमिनदार थिए।

बुशराका पूर्वससुरा मोहम्मद अहमद मनेका प्रधानमन्त्री बेनजिर भुट्टोको सरकारमा मन्त्री थिए। मोहम्मद अहमद मनेकाका पिता मियाँ नूर मनेका पनि पाकिस्तान भारतबाट छुट्टिनुअघि पञ्जाब विधानसभाका सदस्य थिए।

बुशरा बिबीका केही नातेदारहरू आगामी साता हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका छन्।

उनक सम्धी मियाँ अत्ता मनेका पटकपटक मन्त्री र प्रान्तीय संसद्‌को सदस्य बनिसकेका छन्।

पूर्वपतिले लगाए यस्तो आरोप

पाकिस्तानबाट अङ्ग्रेजीमा प्रकाशित हुने 'डन' पत्रिकाका अनुसार गत नोभेम्बर महिनामा बुशराका पति खावर मनेकाले उनीविरुद्ध "जाली बिहे र व्यभिचार" को आरोप लगाउँदै उजुर दर्ता गरे।

त्यसको केही दिनअघि उनले जिओन्यूजलाई फूले त्यो कुरा लुकाउन नसकेको बताएका थिए।

अदालतले व्यभिचारको आरोप सुन्न मानेन तर बुशराविरुद्ध जाली बिहेको मुद्दा भने अघि बढ्यो।

पाकिस्तानमा विद्यामन मुस्लिम पारिवारिक कानुनका अनुसार सम्बन्धविच्छेद वा पतिको मृत्यु भएपछि केही महिना महिलाले तत्काल बिहे गर्न पाउँदैनन्।

खावर मनेकासँग छुट्टिएपछि त्यस्तो समयावधि नटुङ्गिई बुशराले इमरान खानसँग बिहे गरेको आरोप लगाइएको छ।

इमरान खानकी 'आध्यात्मिक मार्गदर्शक'

इमरानका पूर्वपत्नीहरू जेमिमा गोल्डस्मिथ र रेहम खानका तस्बिर पत्रपत्रिकामा छापिन्थे र उनीहरू टीभीमा पनि देखा पर्थे। तर अनुहार छोपिने परम्परागत पहिरनमा लगाउने बुशरा प्रायः नेपथ्यमै बस्थिन्।

'मेल अन सन्डे' पत्रिकालाई दिएको अन्तर्वार्तामा इमरान खानले बिहे नगरेसम्म आफूले बुशराको पूरा अनुहार नदेखेको बताएका थिए।

खान बुशराको बौद्धिकता र चरित्रका कारण उनीप्रति आकर्षित भएको बताइन्छ। तर मानिसहरू बुशरासँग "आध्यात्मिक शक्ति" भएको ठान्थे। केही मानिसहरू बुशराले सूफी परम्पराकी अनुयायी भएको दाबी गरेका छन्।

इमरान खानले उनलाई आफ्नो "आध्यात्मिक मार्गदर्शक" पनि मान्दै आएका छन्।

खान सन् २०१८ मा प्रधानमन्त्री बनेपछि बुशरा प्रथम महिलाका रूपमा विभिन्न सामाजिक कार्यमा व्यस्त बनिन्। उनी लाहोरमा बनाइएको लङ्गर घर, आश्रयस्थल र पञ्जाब इन्स्टिट्यूट अफ मेन्टल हेल्थको भ्रमण गर्थिन्। त्यहाँ खिचिएका उनका तस्बिर सामाजिक सञ्जाल र परम्परागत सञ्चारमाध्यममा देखा पर्न थाले।

पाँच वर्षअघि नदीम मलिकलाई दिएको एउटा अन्तर्वार्तामा बुशरा बिबीले इमरान खानसँग विवाह गरेपछि आफ्नो जीवनमा आएको परिवर्तनबारे पनि चर्चा गरेकी थिइन्।

“प्रथम महिला बन्नुअघि अल्लाह र उनका सन्देश वाहकसँग नजिक हुन मानिसहरू मसँग आउँथे। अहिले खान साहेबसँग नजिक हुन मानिसहरू मेलाई भेट्न आउँछन्,” उनले भनेकी थिइन्।

बुशरा बिबीले सोही अन्तर्वार्तामा आफूले इमरान खानबाट मानवताको सेवा गर्न सिकेको बताएकी थिइन्।

उनले आफूेल लाहोर र इस्लामाबादमा पढेको र सानै उमेरमा विवाह भएको बताएकी थिइन्।

बुशरा बिबी जोडिएका विवाद

बुशरा बिबी

तस्बिर स्रोत, Getty Images

इमरान खानसँग विवाह गरेपछि व्यक्तित्व र उनको परिवारको विषयमा बिबी चर्चामा छिन्।

इमरान खानको शासनकालमा उनकी बहिनी मरियम रियाज भिटोलाई पाकिस्तानको उच्च शिक्षा आयोगमा सल्लाहकारको रूपमा नियुक्त गरिएको थियो। तर केही समय काम गरेपछि भिटोले उक्त पदबाट राजीनामा दिएकी थिइन्।

सन् २०२३ मा भ्रष्टाचारविरोधी अधिकारीहरूले बुशरा बिबीका भाइ अहमद मुजताबा भिटोविरुद्ध आर्थिक हिनामिनाको मुद्दा दर्ता गरेका थिए। उनलाई विकास कार्यमा दुई करोड पाकिस्तानी रुपैयाँभन्दा बढी दुरुपयोग गरेको आरोप लगाइएको थियो।

त्यो मुद्दामा बुशरा बिबीको नाम पनि मुछिएको थियो ।

केही महिनाअघि सरकारी जग्गामा अवैध निर्माण गरेको आरोपमा बुशरा बिबीका पूर्वपति खावर फरीद मनेकालाई भ्रष्टाचार नियन्त्रण विभागले पक्राउ गरेको थियो। उनीमाथि सरकारी जग्गामा अवैध रूपमा पसल र वैवाहिक समारोह आयोजना गर्ने हल बनाएको आरोप छ।

इमरान खानको विगत

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।