शनिवार मध्य नेपालमा केन्द्रीत वर्षा आइतवार पश्चिम नेपालतर्फ सर्दै, देशभर क्षतिको अवस्था के छ?

तनहुँको पहिरो

तस्बिर स्रोत, RSS

देशभर एकैसाथ आएको मनसुनी वर्षाका कारण विभिन्न भागमा बाढी, पहिरो र डुबान निम्तिएको र त्यसले जनधनको क्षति गराएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले दुई दिनकै अन्तरालमा कम्तीमा १४ जनाको मृत्यु हुने गरी भएका घटना यस मनसुन अवधिकै ठुलोमध्येको रहेको बताएका छन्।

विपद् अधिकारीहरूका भनाइमा प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत पुर्‍याउने क्रम जारी छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार शनिवार मध्य नेपालमा केन्द्रीत रहेको वर्षाको क्रम आइतवारबाट भने पश्चिम नेपालतर्फ सरेको छ।

"शनिवार पाल्पा जिल्लाको कुमाल गाउँमा चौबिस घण्टामा अत्यधिक ४०२ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो जुन निकै भारी हो," उनी भन्छिन्।

"सोमवारबाट पानी पर्ने क्रम सुस्त हुँदै जानेछ। तर विभिन्न ठाउँमा छिटपुट तथा हल्का वर्षा भइरहनेछ। घाम लागिहाल्ने वा सुख्खा भइहाल्ने अवस्था होइन।"

बाढी

मौसम अधिकारीहरूका अनुसार आइतवार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा उच्च वर्षा भएको छ। शनिवार गण्डकी, लुम्बिनी र बागमतीमा भारी वर्षा भएको थियो। मधेश र कोशी प्रदेशमा भने सामान्य वर्षा भएको विवरण छ।

"कोलकातादेखि दिल्लीबीचको भागलाई मनसुनको उच्च प्रभाव हुने क्षेत्र मानिन्छ। सोमवारबाट मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सर्ने सम्भावना भएकाले धेरै वर्षा नेपालमा भन्दा भारतमा हुने देखिन्छ," मौसमविद् कँडेल भन्छिन्।

अधिकारीहरूले विपद्‌को जोखिम रहेका क्षेत्र नजिकका स्थानीयवासीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

कुन प्रदेशमा कस्तो छ अवस्था?

नारायणगढस्थित हाम्रा संवाददाता ईश्वर जोशीका अनुसार बाढी र पहिरोका कारण बागमती प्रदेशमा पछिल्लो दुई दिनमा एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ मा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ। गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर ९ मा हिम पहिरोमा परेर एक जना बेपत्ता भएका छन्।

पछिल्लो विपद्‍मा काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, चितवन र रसुवा सबैभन्दा बढ्ता प्रभावित छन्।

नारायणी नदीमा सर्तकताको तह पार गर्नेगरी नदिको सतह ११ दशमलव ६९ मिटर पानी सतह पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी चन्द्रदेव यादवले जनाएका छन्।

पहिरो र लेदोले पृथ्वी राजमार्ग नारायणगढ-मुग्लिङ सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग र भिमभेदी-काठमाण्डौ सडकको विभिन्न स्थानमा अवरोध देखा परेकामा यतिखेरै धेरैतिर सडक खुलाइसकिएको छ।

नारायणगढ

तस्बिर स्रोत, Ishwor Joshi/BBC

बुटवलस्थित हाम्रा संवाददाता माधव नेपालका अनुसार नदीले बगाउँदा पाल्पामा एक जना र बर्दियामा एक जना बेपत्ता भएको विवरण छ।

लुम्बिनी प्रदेशमा २३१ घर डुबानमा परेको प्रहरीले जनाएको छ। दाङको लमही क्षेत्रमा १ सय ७१ र राप्ती सोनारी गाउँमा ६० घर डुबानमा परेका छन्।

लगातार पानी पर्दा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका धेरैजसो सडकमा पहिरो जानुका साथै सडक भासिदा कतिपय स्थानमा यातायात अवरुद्ध भएको बताइएको छ।

प्रहरीका अनुसार प्युठान, गुल्मी, रोल्पा र रुकुमका कतिपय सडकमा पहिरो जाँदा यातायात चल्न सकेका छैनन्।

नेपालगञ्ज

नेपालगन्जस्थित हाम्री संवाददाता विमला चौधरीका अनुसार बाढीले बगाएर दाङमा तीन जनाको मृत्यु भएको छ।

राप्ती नदीले बगाएर बेपत्ता भएका दुई जना पुरुषको शव आइतबार बिहान फेला परेसँगै शनिवारको बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जनाएका छन्।

दूध बेचेर घर फर्किँदै गरेका राजपुरकै अन्य थप दुई जनाको भने उद्धार भएको थियो।

राप्ती नदीको बाढी दाङको देउखुरी क्षेत्रका बस्तीमा प्रवेश गरेर घर डुबाउन थालेपछि २० घर परिवारलाई सकुशल उद्धार गरेर समयमै सुरक्षित स्थानमा सारिएकाले अन्य मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ।

बाँकेमा शनिवार राप्ती नदीमा आएको बाढीले मानवीय क्षति नभए पनि ३१ घर डुबानमा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाएका छन्।

यस्तै बाँकेमा बाढीका कारण नदी पार गर्न नसकेर शनिवारदेखि रातभर फसेका चार जना डुङ्गा चालकलाई आइतबार सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिएको जानकारी अनुसार लगातारको वर्षाले गुलरिया क्षेत्रमा करिब २० घर डुबानमा परेको खबर प्राप्त भएपछि अहिले तत्काल उद्धारक लागि सुरक्षाकर्मी खटाइएको छ।

जयपृथ्वी राजमार्ग
तस्बिरको क्याप्शन, जयपृथ्वी राजमार्ग

धनगढीस्थित हाम्रा संवाददाता हिक्मतबहादुर रावलका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा भएका मनसुनी वर्षाले विभिन्न ठाउँमा राजमार्ग र सडकखण्ड अवरुद्ध पारेको छ। 

प्रदेश प्रहरीले दिएको जानकारी अनुसार पहाडी जिल्ला बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। त्यसैगरी साँफेबगर–मार्तडी सडकखण्ड पनि पहिरोले गर्दा अवरुद्ध छ।

बझाङ र बाजुराका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा आवागमन बन्द रहेको प्रहरीले जनाएको छ।

कैलाली र कञ्चनपुरमा केही बस्तीहरू डुबानमा परेका विवरण छन्। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ।

पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो।

सुदूरपश्चिम प्रदेशकै डडेल्धुरास्थित संवाददाता प्रकाशबहादुर पार्कीका अनुसार पहिरोमा परेर जिल्लाको परशुराम नगरपालिका–३ भिरकोटमा एक जनाको मृत्यु भएको छ।

शनिवार अपराहन्न खानेपानीको मुहान सफा गर्न पुगेका स्थानीय शिक्षकको पहिरोमा परेर घटनास्थलमै मृत्यु भएको हो।

बागमती नदी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, बागमती नदी

विराटनगरस्थित हाम्रा संवाददाता विक्रम निरौलाका अनुसार मनसुनी वर्षाका कारण उक्त प्रदेशका सबैजसो जिल्लाहरू प्रभावित भएका छन्।

पछिल्लो दुई दिनको वर्षाका कारण खासगरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सोलुखुम्बु र इलाम जिल्लामा पहिरोका घटना देखा परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

जसक्रममा केही परिवार विस्थापित हुनुका साथै सहायक सडकहरू अवरूद्ध भएका छन्।

वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोका अनुसार मधेश प्रदेशका अन्यत्रजस्तो ठूलो वर्षा नभए तापनि माथिल्लो तटिय क्षेत्रमा वर्षा भएका कारण नदी आसपासका मानिसहरूलाई सतर्क रहने भनिएको छ।

यो मनसुनमा वर्षा बढी हुने पूर्वानुमान

बाढी र पहिरो

तस्बिर स्रोत, RSS

जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी बर्खायाममा सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने आकलन गरेको छ।

विभागका अधिकारीहरूका अनुसार प्रशान्त महासागरमा विकसित हुने ‘ला नीन्या’ प्रणालीका कारण पनि यो वर्ष औसतभन्दा धेरै वर्षा हुने आकलन गरिएको छ।

देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ।

विभागका अधिकारीहरूका अनुसार देशका अधिकांश ठाउँमा औसत वर्षा नै हुने सम्भावना छ तर गण्डकी प्रदेशमा यो वर्ष औसतभन्दा बढी वर्षा हुने देखिन्छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा भने यो वर्ष सरदर वर्षा हुने सम्भावना छ।

उनीहरूका भनाइमा प्रतिशतमा वर्षा बढी हुने देखिएका ठाउँमा औसतभन्दा बढी हुने सम्भावना हो। त्यो भनेको १० मिलिमिटर बढी पनि हुन सक्छ र १०० पनि हुन सक्छ।

कति मानिसहरू प्रभावित होलान्?

बाढी र पहिरो

तस्बिर स्रोत, RSS

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको यो बर्खायामको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष विपद्‍बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

प्राधिकरणले मनसुनजन्य विपद्‌बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपद्‌मा उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ।

प्राधिकरणका अनुसार नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिको कार्यालयको प्राविधिक सहयोगमा यस्तो आकलन तयार गरिन्छ।

अधिकारीहरूले जनाए अनुसार विगत ३०-४० वर्षदेखिका तथ्याङ्क हेरेर यस्तो विश्लेषण तयार गरिएको हो।

नेपालको भूगोलअनुसारको जनसङ्ख्याका आधारमा जल तथा मौसम विज्ञान विभागले कुनकुन स्थानमा बढी पानी पर्छ भनेर गरेको पूर्वानुमान गरेको छ। त्यो पूर्वानुमानलाई पनि एउटा आधार बनाइएको छ।

प्राधिकरणले बाढीको जोखिम रहेका क्षेत्रबारे यसअघि गरेका अध्ययनबाट थाहा भएका विवरणका आधारमा पनि यस्तो आकलन तयार गरिएको जनाएको छ। प्राधिकरणले बाढीले क्षति पुर्‍याउन सक्ने बस्तीहरूको नक्साङ्कन पनि तयार गर्ने गरेको छ।

यसअघिका वर्षहरूमा गरिएका अनुमान र वास्तविक क्षतिका समेतका आधारमा यस्तो तथ्याङ्क तयार गरिएको छ।

नेपालमा बाढी र पहिरो आउने कारण

बाढी र पहिरो

तस्बिर स्रोत, RSS

व्यापक वर्षा, तीव्र गतिमा हिउँ पग्लने अवस्थालगायतका कारणले नेपालमा बाढी तथा पहिरो आउने गरेको छ। विश्वका विभिन्न स्थानमा आउने बाढीका कारणहरू केही फरक पनि हुन सक्छन्।

मुख्यत: बाढीहरू तीन प्रकारका छन्:

-अचानक आउने बाढी: व्यापक वर्षाका कारण पानीको तह एक्कासी बढ्दा नदी, खोला, खोल्सा, खहरे र अन्य पानी बग्ने माध्यमहरूमा व्यापक पानीको मात्र भई त्यो बाहिर निस्कँदा यस्तो खालको बाढी आउन सक्छ।

-नदीबाट आउने बाढी: व्यापक वर्षा वा तीव्र गतिमा हिउँ पग्लिएर वा हिमताल फुटेर र हिमपहिरोका कारण नदीमा पानीको मात्रा बढ्न गई त्यो बस्तीतिर पस्दा यस्तो खालको बाढी आउन सक्छ।

-तटीय बाढी: उष्णतटीय चक्रवात र सुनामीका कारण यस्तो खालको बाढी आउने गर्छ। तर नेपाल समुद्रसँग नजोडिएकाले यस्तो बाढीको सम्भावना निकै न्यून हुन्छ।

राष्ट्रसङ्घका अनुसार विगत १० वर्षको विवरण हेर्दा ८० देखि ९० प्रतिशत प्राकृतिक प्रकोपका कारणहरूमा बाढी, सुक्खा, उष्णतटीय चक्रवात, उष्णलहर र तीव्र खालको आँधीलगायत रहेका छन्।

उच्च वर्षाले कसरी बाढी निम्त्याउँछ?

बाढी र पहिरो

तस्बिर स्रोत, RSS

धेरै नदीहरू समुद्रतर्फ बग्दा बिस्तारै बगिरहेका हुन्छन्। त्यसैले गर्दा नदीमा बाढी आउँदा त्यो पनि सामान्यतया बिस्तारै नै हुन्छ किनभने वर्षाको पानी जमिनले सोसेर अनि त्यहाँबाट नदीहरूमा र नदीबाट समुद्रमा पुग्न केही समय लाग्छ। त्यसले गर्दा यस्तो विपद्‌मा तयारीका लागि केही समय पाउन सकिन्छ।

यद्यपि अचानक आउने बाढीका बेला पानी पर्न सुरु गरेको अवस्था र बाढीबीच प्रायः एकदमै कम समय हुन्छ।

-सामान्यत: नदीहरू साँघुरो र ठाडो हुने ठाउँमा अचानक आउने बाढीको मात्रा बढी हुन्छ किनभने त्यस्तो स्थानमा नदीहरू तीव्र गतिमा बग्छन्।

-यस्तो घटना सहरी क्षेत्रहरूका साना नदीहरूबाट पनि हुन सक्छ। त्यहाँ सडक र कङ्क्रीट कडा सतहहरूले पानीलाई जमिनमा सोस्ने अवस्था बनाउन दिँदैनन्।

-त्यसले गर्दा सतहमा पानीको मात्रा बढाउँछ र प्रायः स्थानीय निकासी प्रणालीले थेग्न नसक्ने हुन्छ अनि अकस्मात् बाढी निम्तिन सक्छ।

-रूख, हरियाली क्षेत्र र वृक्षारोपण भएका क्षेत्रलगायतले पानी सोस्न भूमिका खेल्छन् र सहरमा बढ्दो बाढीको प्रभावलाई कम गर्न मद्दत गर्छन्।

बाढी र पहिरोबाट कसरी जोगिने?

बाढी र पहिरो

तस्बिर स्रोत, RSS

विज्ञहरूका अनुसार बाढी र पहिरोका बेलामा तपाईँले निम्न काम गर्नुपर्छ:

  • यदि व्यक्तिगत सुरक्षामा कुनै खतरा महसुस भयो भने विलम्ब नगरी आपत्कालीन सेवा दिने निकायलाई फोन गरिहाल्नुहोस्।
  • बाढीको पानीमा नहिँड्नुहोस्, पौडी नखेल्नुहोस्। केवल ६ इन्च अग्लो तीव्र गतिमा बगिरहेको पानीले तपाईँलाई लडाउन सक्छ भने दुई फिट पानीले कारलाई बगाउन सक्छ।
  • नदी किनारमा नहिँड्नुहोस्।
  • बाढीको पानी नचलाउनुहोस्। ढल मिसिएर यो दूषित भएको हुन सक्छ। यदि तपाईँले त्यस्तो पानी छुनु भयो भने सफा पानीले आफ्नो हात र लुगा राम्ररी धुनुहोस्।
  • बालबालिकालाई बाढीको पानीमा वा त्यसको नजिकै खेल्न नदिनुहोस्।
  • पहिरो जानसक्ने संवेदनशील क्षेत्रमा नजानुहोस्।
  • बाढी वा पहिरो आएको स्थानमा हेर्नका लागि नजानुहोस् त्यो जोखिमपूर्ण हुनसक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।