देशभर वर्षासँगै कयौँ ठाउँमा बाढी र पहिरो, जनधनको क्षतिका विवरण

तस्बिर स्रोत, Reuters
देशका अधिकांश ठाउँमा शुक्रवार रातीबाट जारी अविरल वर्षका कारण शनिवार साँझसम्म पाँच जनाको मृत्यु, सात जना बेपत्ता र कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएको अधिकारीहरूले बताएका छन्।
काठमाण्डूमा पहिरोका कारण गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
त्यसैगरी पहिरोबाटै पर्वतमा दुईजना र स्याङ्जामा दुईजनाको मृत्यु भएको गृह मन्त्रालयको विवरण छ।
सरकारी विवरण अनुसार शनिवार बाढी र पहिरोका कारण तनहुँ, स्याङ्जा, दाङ र दोलखा जिल्लामा सातजना बेपत्ता हुनुका साथै विभिन्न जिल्लामा १४ जना घाइते भएका छन्।
यससँगै जारी मनसुनमा हासम्म ३३ जनाको मृत्यु भएको सरकारी विवरण छ।

शनिवार दाङको लमहीस्थित राप्ती नदीमा बगेर एकजना बेपत्ता भएको र दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
लमही बजारमा बिहान दूध बेचेर फर्किएका राजपुरका तीनजना कृषक राप्ती नदी तर्ने क्रममा बाढीमा फसेका थिए।
नदीको बीचमा फसेका दुईजनालाई प्रहरीले उद्धार गरे तापनि एक जनालाई बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तस्बिर स्रोत, RSS
जल तथा मौसम विज्ञान विभागले शनिवार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ।
बाँकेमा राप्ती नदीमा पानीको सतह उच्च तहमा पुगेको भन्दै चेतावनी जारी गरिएको छ।
शुक्रवार राति दाङ र प्युठान जिल्लामा परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढिरहेकोले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगञ्जस्थित बीबीसी संवाददाता विमला चौधरीले जनाएकी छन्।

तस्बिर स्रोत, RSS
प्रहरीका अनुसार दोलखाको गौरिशङ्खर हिमालको फेदबाट गएको पहिरोले स्थानीय खोला थुनेपछि आएको बाढीमा एकजना स्थानीय बेपत्ता भएका छन्।
तटीय क्षेत्रमा पानीको वहाव बढेपछि होटेलको सामान सार्ने क्रममा स्थानीय ६४ वर्षीय महिलालाई खोलाले बगाएको थियो।
बाढीले गौरीशङ्कर गाउँपालिकामा तीनवटा घर बगाएको र खोला छेउका मानिसहरू घर छोडेर सुरक्षित ठाउँमा बसिरहेको प्रहरीले जनाएको छ।
राजधानीमै बाढी

तस्बिर स्रोत, RSS
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार राजधानी काठमाण्डूमा पनि बाढीका कारण नदीका तटीय क्षेत्रमा जोखिम देखिएको छ।
“नदी किनारमा पर्खाल नलगाइएका ठाउँहरूमा राजधानीमा पनि कटान र डुबानको समस्या देखिएको छ,” उनले भने।
भक्तपुरमा हनुमन्ते खोला र काठमाण्डूको दक्षिणी क्षेत्रमा बागमती खोला आसपासका बस्तीसम्म पुगेको विवरण आएका छन्।
जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको, बढ्दो क्रममा रहेको र सो जलाधारमा थप वर्षा हुने सम्भावना रहेको भन्दै हनुमन्ते खोला र यसका सहायक नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ।
कैयौँ राजमार्ग अवरुद्ध

तस्बिर स्रोत, RSS
गृह मन्त्रालयका भुसालले देशभरका कैयौँ राजमार्ग र स्थानीय सडकहरूमा अवरोध हुने र खुल्ने क्रम चलिरहेको बताए।
राष्ट्रिय समाचार समितिका अनुसार पहिरोका कारण सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छ।
त्यस्तै सिन्धुलीमा गएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ भने मध्यपहाडी राजमार्गमा पनि विभिन्न स्थानमा पहिरोले आवतजावत प्रभावित भएको छ।
“राष्ट्रिय र प्रदेश स्तरका राजमार्गहरूमा अवरोध खुलाउन उपकरण सहितको टोलीहरू ठाउँ ठाउँमा तयारी अवस्थामा राखिएका छन्,” गृह मन्त्रालयका सहसचिव भुसालले भने।
“निरन्तरको वर्षाका कारण कतिपय ठाउँमा सडक खुलाउने कामहरू पनि प्रभावित भएका छन्।”

तस्बिर स्रोत, Ashok Dahal/BBC
राससका अनुसार हेटौँडाबाट काठमाण्डू जोड्ने सडक मार्गहरू पनि अवरुद्ध बनेका छन्।
सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रशासनले जनाएको छ।
त्यस्तै महालक्ष्मी खोलामा पहिरो गएका कारण भीम फेदी–फाखेल–माता तीर्थ सडक खण्ड र ललितपुरको भट्टेडाँडा नजिक गएको पहिरो गएका कारण कान्ति राजपथ पनि शनिवार बिहानैदेखि अवरुद्ध रहेको राससले जनाएको छ।

तस्बिर स्रोत, RSS
त्यस्तै पहिरोका कारण बेँसी सहर–चामे सडक र बाढीका कारण घोराही–तुलसीपुर सडक सडक पनि अवरुद्ध भएको छ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भुसालले पछिल्लो सुख्खा याममा सडकहरू खोलिएका कैयौँ ठाउँमा पहिरो गएको विवरण आएको बीबीसीसँग बताए।
राससले कर्णाली राजमार्गको कालिकोट सडक खण्डमा पहिरो खस्दा सुर्खेतबाट जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएको जनाएको छ।
त्यस्तै बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो खसेका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको र गाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले संवेदनशीलताको मूल्याङ्कन गरेर सतर्क रहन देश भरीका प्रहरी एकाइहरूलाई निर्देशक दिइएको बताए।
जोखिम रहेका ठाउँहरू
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम राप्ती कुसुम बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। यो क्षेत्रमा जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा शनिवार साँझसम्म उच्च सतर्कता अपनाउन विभागले भनेको छ।
त्यस्तै नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ।
यहाँ पनि बाढी बढ्दो क्रममा रहेको र थप बढ्ने देखिएको भन्दै नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम औँल्याइएको छ।
चितवनस्थित बीबीसी संवाददाता इश्वर जोशीले नारायणी नदीको जल सतह निरन्तर बढिरहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बहने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी जारी गरेको छ।
त्यस्तै शनिवार र आइतवार बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अधिकारीहरूले सूचना जारी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








