तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लेबननमा इजरेली हमलाबाट ४९२ जनाको मृत्यु
- Author, डेभिड ग्रिटन
- Role, बीबीसी न्यूज
लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरेलले गरेका भीषण र व्यापक हवाई हमलामा परेर कम्तीमा ४९२ जना मानिसहरू मारिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।
झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ।
हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरेलले जनाएको छ।
त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरेली सेनाले जनाएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटनका भग्नावशेष लागेर दुई जना मानिसहरू घाइते भएका छन्।
दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिईरहँदा विश्व शक्तिहरूले उनीहरूलाई संयम अपनाउन आग्रह गरेका छन्।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। अन्य १,६४५ जना घाइते अवस्थामा छन्।
उसले हताहत हुने सर्वसाधारण र लडाकुहरू छुट्याइएको विवरण दिएको छैन।
चिन्ता
लेबननका स्वास्थ्यमन्त्री फिरास अबियादले हमलाका कारण हजारौँ परिवार विस्थापित भएको बताएका छन्।
सीमापार लडाइँबाट भाग्न खोजेका सर्वसाधारणको भिडले सोमवार उत्तरी क्षेत्र जोड्ने सडकमा गाडीहरूको ठूलो जाम देखा परेको थियो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले चर्कँदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनन “अर्को गाजा बनेको” देख्न नचाहेको बताएका छन्।
राष्ट्रसङ्घमा विश्व नेताका भेलाअघि बोलेका युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले अवस्था "चर्कनु निकै नै खतरनाक र चिन्ताजनक" रहेको बताए।
उनले थपे: "हामी लगभग एउटा पूर्ण आकारको युद्धमा छौँ।"
राष्ट्रपति जो बाइडनले "मानिसहरू घर फर्कन पाउन सक्ने गरी अवस्था मत्थर पार्न" अमेरिका लागिपरेको बताएका छन्।
यसैसाता राष्ट्रसङ्घीय महासभामा लेबननको सङ्कट अन्त्य गर्ने गरी ठोस योजना प्रस्तुत गरिने बाइडन प्रशासनले जनाएको छ।
पेन्टागनले "सावधानी स्वरूप" मध्यपूर्वमा "सानो सङ्ख्यामा" अतिरिक्त फौज पठाउने घोषणा गरेको छ।
गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसमा मारिने सयौँ मानिसहरूमध्ये अधिकांश हिज्बुल्लाह लडाकु छन्।
दुवैतर्फ दशौँ हजार मानिस विस्थापित अवस्थामा छन्।
'भयानक'
लेबननी सञ्चारमाध्यमहरूका अनुसार इजरेली हवाई हमलाको पहिलो लहर सोमवार सबेरै ६:३० बजेतिरबाट सुरु भएको थियो।
“त्यो भयानक थियो, मिसाइलहरू हाम्रो शिरमाथिबाटै उडे। हामी बम पड्किएको सुनेर उठ्यौँ, हामीले यस्तो होला भन्ने ठानेका थिएनौँ,” एक महिलाले भनिन्।
दिनभरजसो दक्षिणी लेबननका दर्जनौँ सहर, गाउँ र खुला ठाउँ निशानामा परे। पूर्वी बेका उपत्यकाका तीन वटा जिल्लामा समेत हमला गरिएको सरकारी समाचार संस्था एनएनएले जनाएको छ।
लेबननी अधिकारीहरूले अधिकांश सर्वसाधारणका ठाउँलाई निशानामा पारिएको बताएका छन्।
इजरेली सेनाका अनुसार उत्तरी सहर हाइफा र आसपासमा हिज्बुल्लाहका रकेटका कारण झन्डै १० लाख मानिसहरू आश्रय स्थलमा शरण लिइरहेका छन्।
हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमापार हमलाहरू रोक्ने जनाएको छ।
इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।