खाली आँखाले नै देखिने छ अबको केही महिनामा तारा विस्फोटन हुँदाको अद्भुत दृश्य

एउटा चम्किलो ताराको चित्राङ्कन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'टी कोरोनी बोरियालिस' मा विस्फोटन हुँदा त्यो ध्रुवताराजत्तिकै उज्यालो देखिने छ
    • Author, मिआ टेलर
    • Role, बीबीसी फ्यूचर

यो साता उत्तर अमेरिकाबाट देखिएको खग्रास सूर्यग्रहणले विश्वको ध्यान तान्यो। सुदूर अन्तरिक्षमा अवस्थित 'कोरोना बोरियालिस' नामक दुइटा ताराको प्रणालीमा हुन लागेको विस्फोटनले पनि पृथ्वीवासीको ध्यान तान्ने अपेक्षा गरिएको छ।

उक्त प्रणाली पृथ्वीबाट ३,००० प्रकाशवर्ष टाढा छ। त्यसमा एउटा मृत 'ह्वाइट ड्वार्फ' तारा र अर्को बूढो हुँदै गएको विशाल रातो तारा छन्। वैज्ञानिकहरूले उक्त ह्वाइट ड्वार्फ ताराको नाम 'टी कोरोनी बोरियालिस' (सङ्क्षेपमा T CrB वा टी सीआरबी) राखेका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार उक्त तारामा विस्फोटन हुन लागेको छ। सानो सेतो तारामा हुने त्यस्तो विस्फोटनलाई 'नोभा' भनिन्छ।

उक्त दुर्लभ ब्रह्माण्डीय घटना आउँदो सेप्टेम्बर महिनाअघि नै भइसक्ने अनुमान गरिएको छ। विस्फोटन हुँदा पृथ्वीबाट खाली आँखाले देखिने अपेक्षा गरिएको छ।

नासाका अनुसार उक्त घटना हेर्न महँगो टेलिस्कोप पनि चाहिँदैन।

'टी सीआरबी'मा ८० वर्षमा एक पटक त्यस्तो विस्फोटन हुन्छ। यसअघि सन् १९४६ मा भएको थियो।

"म निकै उत्साहित छु। यो 'हेली' धूमकेतु देखिनु जस्तै हो जुन ७५-८० वर्षमा एक पटक देखा पर्छ। तर हेलीको जति चर्चा 'नोभा'ले पाउँदैन," नासाको उल्कापिण्डसम्बन्धी कार्यक्रमका प्रबन्धक विलियम जे कुकले भने। "धूमकेतुहरूले सधैँ बढी चर्चा पाउँछन्।"

'ह्वाइट ड्वार्फ' र 'रेड जाइन्ट' ताराको प्रणालीमा 'नोभा विस्फोटन' हुन सक्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'ह्वाइट ड्वार्फ' र 'रेड जाइन्ट' ताराको प्रणालीमा 'नोभा विस्फोटन' हुन सक्छ

तारा विस्फोटन कहिले हुन्छ भन्ने कसरी थाहा हुन्छ?

अधिकांश घटनामा नासामा कार्यरत विज्ञहरूलाई पनि तारा विस्फोटन कहिले हुन्छ भन्ने थाहा नहुने कुक बताउँछन्। "तर झन्डै १० वटा तारामा बारम्बार विस्फोटन हुन्छ भन्ने हामीलाई थाहा छ," उनी भन्छन्।

"त्यसको एउटा उदाहरण 'टी कोरोनी बोरियालिस' हो।"

तर 'टी सीआरबी'मा केही महिनाभित्रै विस्फोटन हुन लागेको भन्ने आधार के हो त?

गणित र सदृश प्रमाणका आधारमा नासाले त्यस्तो गणना गरेको हो। यसअघि ७८ वर्षअघि उक्त तारामा विस्फोटन भएको थियो र फेरि हुने बेला आइसकेको छ।

कुकका अनुसार सम्भाव्य विस्फोटनको अर्को सङ्केत पनि छ।

"विस्फोटन हुनुभन्दा अघि एक वर्षजति तारा धमिलो देखिन्छ अनि 'टी कोरोनी बोरियालिस' मार्च २०२३ देखि धमिलो हुन थालेको थियो। त्यसैले अहिलेदेखि सेप्टेम्बरको अन्त्यसम्म जतिबेला पनि विस्फोटन हुन्छ भन्ने हामीलाई लाग्छ।"

आकाशमा कहाँ हेर्ने

केही वर्षयता पत्ता लागेका 'नोभा'सँग तुलना गर्दा 'टी सीआरबी'मा पुनः विस्फोटन हुने दर बढी विश्वसनीय छ। त्यसैले अहिले अपेक्षा गरिएको विस्फोटन विशेष छ।

"धेरैवटा तारा विस्फोटन पत्ता लागेका छन् तर तीमध्ये अधिकांश दोहोरिएको देखिएको छैन। अथवा लामो समयसम्म फेरि विस्फोटन नभएकाले हामीलाई फेरि कहिले त्यसो हुन्छ भन्ने थाहा छैन," ताराको गतिविधिसम्बन्धी विशेषज्ञता भएका वैज्ञानिक मेरिडिथ मक्ग्रेगर भन्छिन्। उनी जोन्स हप्किन्स विश्वविद्यालयको विलियम एच. मिलर तृतिय भौतिक तथा खगोलशास्त्र विभागमा प्राध्यापन गर्छिन्।

यूनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनमा खगोलशास्त्रका प्राध्यापक रिचर्ड टाउन्सन्डका अनुसार तारामा एक वर्षदेखि लाखौँ वर्षसम्ममा पुनः विस्फोटन हुन सक्छ।

किन हुन्छ तारा विस्फोटन

नासाका वैज्ञानिकहरूलाई 'नोभा' अर्थात् तारा विस्फोटन कहिले हुन्छ भन्नेबाहेक त्यो किन हुन्छ भन्ने पनि थाहा छ।

'टी कोरोनी बोरियालिस' एउटा 'ह्वाइट ड्वार्फ' हो। यो र विशाल रातो तारा मिलेर एउटा प्रणाली बनाएका छन्। ती दुई ताराले एकअर्कालाई परिक्रमा गर्छन्।

प्राध्यापक टाउन्सन्डका अनुसार ह्वाइट ड्वार्फहरूको पिण्डमान सूर्यको जति नै भए पनि व्यास सयौँ गुना सानो हुन्छ अर्थात् तिनलाई पृथ्वीको आकारसँग तुलना गर्न सकिन्छ। धेरै पिण्डमान र सानो आकारका कारण ह्वाइट ड्वार्फमा निकै धेरै गुरुत्वाकर्षण हुन्छ।

दुइटा ताराको प्रणालीमा विशालकाय रातो ताराले बाहिर पदार्थ फाल्दा अर्को ताराले आफ्नो गुरुत्वाकर्षणका कारण तानेर आफ्नो सतहमा थुपार्छ। त्यो क्रम वर्षौँ चलिरहन्छ। तर त्यसको पनि एउटा सीमा हुन्छ।

"उक्त प्रणालीमा के भइरहेको छ भने विशालकाय रातो ताराले आफूसँग भएको पदार्थ सानो सेतो तारातिर फ्याँकिरहेको छ," कुक भन्छन्, " त्यो सानो सेतो ताराको सतहमा पदार्थको थुप्रो लागेपछि बममा जस्तै 'थर्मोन्यूक्लिअर' प्रतिक्रिया हुन्छ अनि त्यो तारामा त्यो पदार्थ पड्किन्छ।"

नोभा विस्फोटनका कारण देखाउने चित्र

तस्बिर स्रोत, Getty Images

टाउन्सन्डका अनुसार 'टी सीआरबी'मा पदार्थ पर्याप्त मात्रामा जम्मा भइसकेपछि र त्यसको तापमान दशौँ लाख डिग्री सेल्सिअस पुगेपछि त्यहाँ 'न्यूक्लिअर फ्यूजन' अर्थात् पारमाणविक संलयन सुरु हुन्छ। त्यस क्रममा पदार्थ जल्दा स्पष्ट रूपमा देखिने विस्फोटन हुन्छ।

"यो सूर्यको मध्यभागमा हुने खालकै प्रतिक्रिया हो र यस्तो प्रतिक्रियाले उक्त ह्वाइट ड्वार्फ ताराको सतहमा ठूलो मात्रामा ऊर्जा निकाल्छ," टाउन्सन्ड भन्छन्। "त्यस्तो ऊर्जा निष्काशनका कारण केही समयका लागि विशालकाय रातो ताराभन्दा त्यो सेतो तारा बढी चम्किलो देखिन्छ। अनि पृथ्वीबाट हेर्दा ती दुई ताराले निकाल्ने प्रकाश एक हजारदेखि एक लाख गुना बढी हुन्छ।"

मक्ग्रेगरका अनुसार विस्फोटनको सँघारमा पुग्न प्रायः हजारौँ वर्ष लाग्न सक्छ। "तर टी कोरोनी बोरियालिसमा चाँडै हुने गरेको देखिन्छ। त्यसैले यो दुर्लभ हो।"

टी सीआरबी नोभा विस्फोटन हुँदा हामी के देख्छौँ?

विशालकाय रातो तारा र सानो सेतो ताराको प्रणाली

तस्बिर स्रोत, Getty Images

नासाका अनुसार टी सीआरबी तारा प्रणालीको दृश्यता प्रायः +१० हुन्छ। तर विस्फोट हुँदा दृश्यता बढेर +२ पुग्छ। दृश्यता कम सङ्ख्यामा हुनु भनेको त्यो बढी उज्यालो हुनु हो।

यो विस्फोटन हुँदा ध्रुवताराजत्तिकै चम्किलो हुन्छ र टी सीआरबी खाली आँखाले नै देखिने छ।

नासाका अनुसार तारा विस्फोटन भएको हेर्न 'बूओटिस' र 'हर्क्युलिस'नजिकै 'कोरोना बोरियालिस' तारामण्डलतिर हेर्नुपर्छ। "त्यहाँ नै नयाँ चम्किलो ताराजसतरी विस्फोटन देखा पर्छ," नासा भन्छ।

तर नझुक्किनोहोस् है! यो घटनाबाट नयाँ तारा चाहिँ बन्दैन। हामीले देख्ने भनेको सुदूर अन्तरिक्षमा भएको पारमाणविक प्रतिक्रियाको सङ्केत मात्र हो।

"त्यो तारा पहिलादेखि नै अस्तित्वमा छ। तर सधैँ नदेखिने भएकाले हामीलाई चाहिँ नयाँ तारा बने जस्तो लाग्न सक्छ," मक्ग्रेगर भन्छन्, "ह्वाइट ड्वार्फ निकै साना हुने भएकाले हामी खाली आँखाले देख्न सक्दैनौँ। पारमाणविक संयोजन हुँदा हामी त्यसलाई देख्न सक्छौँ।"

उज्यालो उत्कर्षमा पुग्दा 'टी सीआरबी' मङ्गल ग्रहजत्तिकै चम्किलो देखिने कुक बताउँछन्। उक्त तारा केही दिनसम्म उज्यालो र खाली आँखाले देखिने अपेक्षा गरिएको छ। तर विस्फोटनको घटना भने एक साताभन्दा बढी समय चल्ने छ।

थुप्रिएको पदार्थ सकिएपछि उक्त ह्वाइट ड्वार्फ तारा फेरि फिक्का हुने छ र दशकौँसम्म पृथ्वीबाट देखिने छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।