तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मौसमी फ्लू'ले बालबालिकादेखि ठूलासम्म मारमा, बच्ने उपाय थाहा पाउनुहोस्
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
हाँडीगाउँ, काठमाण्डूकी इन्दिरा गिरीलाई रुघाखोकी र घाँटी खसखस हुने समस्याले सताएको एक साता हुन लाग्यो।
"मौसमी रुघाखोकी हो भन्छन्, घाँटी खसखस गरेर कस्तो गाह्रो भइरहेको छ," उनले सुनाइन्।
पछिल्ला केही दिनयता रुघाखोकी र ज्वरोसहितका समस्याले सताएर बालबालिकादेखि वृद्धवृद्धासम्म उपचारका लागि अस्पताल आउने गरेका चिकित्सकहरूले बताएका छन्।
यो बेला त्यस्तो समस्या अलि बढी देखिने गरेको भन्दै सतर्कता अपनाउन उनीहरूको सुझाव छ।
धेरैमा समस्या
काठमाण्डूको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा त्यस्ता लक्षण भएका धेरै बालबालिका उपचारका लागि आइरहेका सो अस्पतालका प्रवक्ताले बताएका छन्।
डा. सुमित अग्रवालका अनुसार हाल दैनिक आउने गरेका बिरामीमध्ये आधा जति उक्त समस्या भएका बिरामी हुने गरेका छन्।
"हाम्रो मेडिकल ओपीडी [बहिरङ्ग विभाग] मा हाल दैनिक औसतमा ३५० देखि ४०० जनासम्म जँचाउन आउने गरेका छन्। त्यसको ५० प्रतिशत जति रुघाखोकी, ज्वरो र बान्ता हुने समस्या भएका हुन्छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।
उनका अनुसार ती समस्यासँगै पछिल्ला दिनहरूमा निमोनिया भएका बच्चाहरू पनि बढिरहेका छन्।
"ठ्याक्कै कारण भन्नलाई त पीसीआरलगायतका परीक्षण गर्नुपर्ने हुन्छ। तर यो भाइरल सङ्क्रमण भएको सम्भावना धेरै छ," डा. अग्रवालले थपे।
'मौसमी फ्लू' कि 'भाइरल इन्फेक्शन'?
नेपालमा खास गरी फेब्रुअरी-मार्च अनि जुलाई-अगस्टतिर 'फ्लू'को सङ्क्रमण बढी देखिने गरेको काठमाण्डूस्थित शक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित चिकित्सकीय अनुसन्धान एकाइका प्रमुख समेत रहेका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
तर उनका अनुसार अहिले देखिएका ज्वरो, रुघाखोकी लगायतका कारण एउटा मात्र नहुन पनि सक्छ।
"मेरो अनुमानमा अहिले फ्लू मात्र नभई वायु प्रदूषण र अरू पनि कारण हुन सक्छन्," बीबीसी न्यूज नेपालीसँग पुनले भने।
उष्ण क्षेत्रमा पर्ने देशहरूमा भने त्यस्तो समस्या बाह्रै महिना पनि हुने गरेको अनुसन्धानले देखाएको उनी बताउँछन्।
"तर हामीकहाँ यति बेला बढी देखिनुको कारण भाइरस सक्रिय हुनका लागि 'फेभरेबल' समय हुनुपर्छ र अर्को कुरा जाडोमा भन्दा तुलनात्मक रूपमा 'आउटडोर' गतिविधि बढी हुने भएर पनि फैलिन्छ जस्तो मलाई लाग्छ," डा. पुनले थपे।
जनस्वास्थ्यविद् डा. शरद्राज वन्त नेपालमा बोलीचालीको भाषामा 'सिजनल फ्लू' भन्ने गरिए पनि प्राविधिक रूपमा त्यो 'भाइरल इन्फेक्शन' भएको बताउँछन्।
उनका अनुसार वातावरणमा जतिखेर भाइरसहरूको घनत्व बढी हुन्छ, त्यतिखेर त्यसले बढी आक्रमण गर्छ।
"मौसम बदलिँदा वातावरण अलि फरक हुन्छ र हाम्रो व्यवहार पनि फरक हुन्छ। गर्मीमा तुलनात्मक रूपमा हामी बढी 'एक्स्पोज' हुन्छौँ। त्यो हिसाबले सम्पर्कमा बढी आउँछौँ। त्यो बेला भाइरसहरूको 'ग्रोथ' बढी भएको हुन सक्छ," डा. वन्तले भने।
तर केवल मौसम परिवर्तनले नै त्यो समस्या निम्तिने गरेको भन्न नसकिने उनको तर्क छ।
"केही भूमिका मौसमको पनि हुन सक्छ। तर यो 'इन्डेमिक' हो, वातावरणमा रहिरहन्छ र जतिखेर हाम्रै गतिविधिका कारण हामी बढी 'एक्स्पोज' हुन्छौँ, अनि सङ्क्रमण बढ्छ," वन्तले थपे।
लक्षण के हुन्?
डा. पुनका अनुसार 'मौसमी' फ्लू हुँदा सामान्यतया ज्वरो आउने, जीउ दुख्ने र खोकी लाग्ने हुन्छ।
बालबालिकामा बान्ता हुने र कसैकसैलाई पखाला पनि लाग्ने हुन्छ। त्यस्तै घाँटी दुख्ने र चिलाउने समस्या पनि हुन्छ।
तर सङ्क्रमण कुन तहको छ त्यसमा त्यसमा पनि लक्षणहरू भर पर्ने जनस्वास्थ्यविद् डा. वन्त बताउँछन्।
"सबैलाई एउटै खालको लक्षण नहुन सक्छ। कतिपयलाई ज्वरोसँग जोडिएका अरू लक्षणहरू जस्तै जीउ दुख्ने र कमजोरी महसुस हुने हुन्छ," उनले भने।
रोगप्रतिरोधी क्षमता कम हुने उमेर समूहका मानिसमा कडा असर हुन सक्ने चिकित्सकहरू बताउँछन्।
कसरी जोगिने?
कुनै पनि श्वासप्रश्वाससम्बन्धी समस्या भएका तथा रुघाखोकी लागेका मानिसलाई अरूदेखि टाढै राख्नुपर्छ। त्यसैले सङ्क्रमण देखिने बेला सकेसम्म भिडभाडमा नजान चिकित्सकहरू सुझाउँछन्।
"जानै परेमा मास्क लगाएर जानुपर्छ। भौतिक दूरी राख्नुपर्छ र सङ्क्रमित व्यक्तिले आफूलाई आइसोलेशनमा [एक्लै] राख्दा जाती हुन्छ," डा. पुन सुझाउँछन्।
स्यानिटाइजरको प्रयोग गर्ने र बाहिर गएर घर आएपछि साबुनपानीले मिचिमिची हात धुन पनि उनी सल्लाह दिन्छन्।
"समस्या देखिएका बालबालिकालाई सकेसम्म विद्यालय नपठाउनु राम्रो हुन्छ," कान्ति बाल अस्पतालका प्रवक्ता डा. सुमित अग्रवाल सुझाउँछन्।
निको हुन कति लाग्छ?
चिकित्सकहरूका अनुसार सामान्तया हप्तादिनमा अहिले देखिएजस्तो सङक्रमण ठिक हुने गरेको पाइन्छ।
"जटिलता नभए सामान्यतया एक हप्तामा निको हुन्छ। तर लम्बिने प्रवृत्ति पनि देखिँदै छ। भाइरसको प्रतिरोधी क्षमता बढेको पनि हुन सक्छ," डा. वन्तले भने।
कहिलेकाहीँ लम्बियो भने दुई हप्तासम्म पनि जान सक्ने डा. पुन बताउँछन्।
उनका अनुसार दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकमा लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।
डा. वन्तका अनुसार 'मौसमी' फ्लूको विशेष औषधि चाहिँ हुँदैन। यद्यपि सङ्क्रमित मान्छेमा लक्षण हेरेर थप जटिलता हुन सक्ने देखिएमा औषधोपचार गरिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।