रुसी पानीजहाजलाई समुद्रमा डुबाइदिएको युक्रेनी दाबी

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी पानीजहाजमा के भयो? हेर्नुहोस् यो भिडिओ
    • Author, पोल किर्बी
    • Role, बीबीसी न्यूज

युक्रेनी सेनाले 'सीजर कुनिकोफ' नामक ठूलो रुसी पानीजहाजलाई रुस अधीनस्थ क्राइमियानजिकै समुद्रमा डुबाइदिएको दाबी गरेको छ।

स्थानीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुधवार सबेरै शक्तिशाली विस्फोटन भएको सुनिएको जनाएका छन्। त्यसबाट यल्टा सहरको दक्षिणतिर उक्त मालवाहक पानीजहाजमा आक्रमण भएको बुझिन्छ।

युक्रेनी गुप्तचर निकायले एउटा भिडिओ सार्वजनिक गर्दै 'म्यागुरा भी५' समुद्री ड्रोनहरूले उक्त रुसी पानीजहाजमा हवाई आक्रमण गरेको जनाएको छ।

क्राइमियामा युक्रेनले बारम्बार रुसी सेनाको 'ब्ल्याक सी फ्लीट'का पानीजहाजमाथि आक्रमण गर्दै आएको छ।

गत वर्ष सार्वजनिक भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा धेरैजसो पानीजहाज क्राइमिया प्रायःद्वीपबाट ब्ल्याक सीस्थित रुसी बन्दरगाह नोभोरोसिस्कतिर गएको देखिन्छ।

ब्रशल्समा नेटोको मन्त्रीस्तरीय बैठक हुनुअघि उक्त पश्चिमा सैन्य गठबन्धनका महासचिव येन्स स्टोल्टेन्ब्यार्गले युक्रेनी सेनाले केही महिनायता "ठूलो जित" हासिल गरेको जनाएका छन्।

उनका अनुसार युक्रेनले ब्ल्याक सी फ्लीटमा "ठूलो क्षति" पुर्‍याउँदै आफ्नो अन्न निर्यात गर्न जलमार्ग खोलेको छ।

सीजर कुनिकोफ

तस्बिर स्रोत, ALEXEY PAVLISHAK/TASS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

युद्ध सुरु भएको दुई वर्ष पूरा हुँदै

युक्रेनमा रुसले पूर्ण आकारको युद्ध सुरु गरेको अर्को साता तेस्रो वर्ष पुग्दै छ।

युक्रेनी सेनाका प्रमुखले त्यहाँको अवस्थालाई "निकै जटिल र तनावपूर्ण" भनेका छन्।

गत साता सेनाप्रमुख नियुक्त भएका ओलेक्सान्डर सिर्स्की बुधवार युद्धको अग्रमोर्चामा पुगेका थिए।

त्यहाँ उनले अभ्दियिभ्का सहर कब्जा गर्ने रुसी प्रयास रोक्ने र आफ्ना सैन्य टुकडीलाई अझ बलियो बनाउने वाचा गरे।

मङ्गलवार राति आक्रमण भएपछि सेलिदोभस्थित अस्पतालको प्रसूति विभाग प्रभावित भएको थियो

तस्बिर स्रोत, DSNS UKRAINE

तस्बिरको क्याप्शन, मङ्गलवार राति आक्रमण भएपछि सेलिदोभस्थित अस्पतालको प्रसूति विभाग प्रभावित भएको थियो

अभ्दियिभ्का सहर लगभग खाली छ। रुसी सेनाले त्यहाँ घेराबन्दी गरेको छ।

त्यहाँ खटिएका एक सैनिकले यसअघि उक्त ठाउँको अवस्थालाई चिन्ताजनक बताएका थिए।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, "हामीले शत्रुलाई हाम्रो भूभागभित्र अघि बढ्न रोक्नका लागि सक्दो गरिरहेका छौँ।"

अभ्दियिभ्काको ४० किलोमिटर पश्चिममा पर्ने सेलिदोभ सहरमा बुधवार राति रुसी क्षेप्यास्त्र आक्रमणमा परेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार चारवटा क्षेप्यास्त्र एउटा स्थानीय अस्पताल र प्रसूति वार्डका साथै आवासीय क्षेत्रमा खसेका थिए। त्यसमा परी एक शिशुसहित कैयौँ मानिस घाइते भएका छन्।

पानीजहाजबारे युक्रेन र रुस के भन्छन्

सीजर कुनिकोफको फाइल तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सीजर कुनिकोफको फाइल तस्बिर

ब्ल्याक सीमा सीजर कुनिकोफ डुबेको विषयमा रुसी जलसेनाले केही टिप्पणी गरेको छैन। उसले छवटा युक्रेनी ड्रोन नष्ट पारिएको मात्र जनाएको छ।

क्रेम्लिनले समेत यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

युक्रेनी आक्रमणपछिको अवस्था देखिने भिडिओ भर्खरै अप्लोड भएको बीबीसी भेरिफाईले पुष्टि गरेको छ।

टेलिग्राममा युक्रेनी गुप्तचर निकायले लेखेको छ: "सीजर कुनिकोफमा ठूलाठूला प्वाल परेका छन् र जहाज डुब्न थालेको छ।"

उक्त निकायले क्राइमियाको तटीय सहर अलुप्कानजिकै युक्रेनी जलक्षेत्रमा उक्त पानीजहाजलाई ग्रूप१३ भनिने आफ्नो सैन्य एकाइले ध्वस्त पारेको जनाएको छ।

युक्रेनी गुप्तचर निकायले उक्त पानीजहाजमा रहेका ८७ जनालाई उद्धार गर्ने प्रयास "विफल" भएको र "उपलब्ध जानकारीका अनुसार धेरैजसोको ज्यान गएको" जनाएको छ।

कस्तो हमला

युक्रेनी सेनाले समुद्रीड्रोनले रुसी पानीजहाजमा आक्रमण गरिरहेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ

तस्बिर स्रोत, Ukrainian military

तस्बिरको क्याप्शन, युक्रेनी सेनाले समुद्रीड्रोनले रुसी पानीजहाजमा आक्रमण गरिरहेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ

हमलामा युक्रेनमा निर्मित मानवरहित 'म्यागुरा भी५' ड्रोनको प्रयोग भएको थियो।

उक्त ड्रोनका निर्माणकर्ताका अनुसार ती ड्रोन समुद्री सतहभन्दा केही माथि प्रतिघण्टा झन्डै ७८ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छन्।

सीजर कुनिकोफजस्ता पानी र जमिनमा हिँड्न सक्ने 'उभयचर' जहाज आक्रमणमा खटाइने सैनिक छिट्टै शत्रुपक्षको जमिनमा पठाउन प्रयोग गरिन्छ।

तर युक्रेनमा यस उद्देश्यका लागि त्यस्तो जहाजको प्रयोग हुने सम्भावना शून्यप्राय: छ।

बरु ती जहाज सैन्य बन्दोबस्तीका सामान र उपकरण ओसार्ने मालवाहक पानीजहाजका रूपमा प्रयोग भइरहेका छन्।

रेडारमा नदेखिने ड्रोन

केही ताजा घटनामा रुसी पानीजहाजहरू कम उचाइमा उड्ने क्षेप्यास्त्रको आक्रमणमा पर्ने जोखिम देखिएको छ। त्यस्ता क्षेप्यास्त्रहरू रेडारमा पनि नदेखिन सक्छन्।

यस्ता ड्रोनलाई निस्तेज पार्न सक्ने अस्त्र र विद्युतीय युद्ध प्रणालीको अभाव रुसमा देखिएको छ।

रुसी सैन्य ब्लगरहरूले सीजर कुनिकोफमाथि आक्रमण भएको कुरालाई अस्वीकार गरेका छैनन्।तर उनीहरूले चालकदलका सदस्य जोगिन सफल भएको दाबी गरेका छन्।

रुसी सेना आफूले खेपेका ठूला क्षतिबारे बिरलै बोल्छ। रुसीहरू त्यस्तो जानकारीका केही चर्चित ब्लगरहरूमा भर पर्छन्।

सीजर कुनिकोफमा काम गरेका एक पूर्वजलसैनिकले बीबीसी रसियनसँग कुरा गर्दै उक्त पानीजहाजमा ८९ जना रहेको र पानीजहाज डुब्दै गर्दा उनीहरू त्यहाँबाट उम्किन सफल भएको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।