तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाले हमला गरे क्षेत्रीय द्वन्द्व फैलने इरानका सर्वोच्च नेताको चेतावनी
- Author, बारबरा प्लेट अशर दोहामा र ज्याक बर्जेज
- पढ्ने समय: ३ मिनेट
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनेईले इरानमाथि अमेरिकाले जस्तोसुकै हमला गरेमा क्षेत्रीय द्वन्द्व फैलने चेतावनी दिएका छन्।
इरान आसपास क्षेत्रमा अमेरिकाले सैन्य शक्ति बढाइरहेका बेला खामेनेईको चेतावनी आएको हो।
"अमेरिकीहरूले यो कुरा थाहा पाउनुपर्छ कि यदि उनीहरूले युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ," खामेनेईलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचारसंस्था तस्निमले जनाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबारे "गम्भीर छलफलहरू"मा रहेको भन्दै केही स्वीकार्य सहमतिमा पुग्न सकिने आशा व्यक्त गरेका थिए।
अर्कोतर्फ इरानका विदेशमन्त्री अब्बास अरागचीले तेहरानका पारमाणविक कार्यक्रमबारे "एउटा सहमति हुनेमा आफू विश्वस्त रहेको" सीएनएनलाई बताए।
हस्तक्षेप गर्ने चेतावनी
पारमाणविक कार्यक्रम तथा सरकारविरोधी प्रदर्शनकारीमाथि गरिएका दमनलाई लिएर इरानमाथि हस्तक्षेप गर्न सक्ने ट्रम्पले चेतावनी दिँदै आएका छन्।
इरानी विदेशमन्त्री अरागचीले भनेः "दुर्भाग्यवश वार्ता गर्ने साझेदारका रूपमा अमेरिकामाथि हामीले विश्वास गुमाइसकेका छौँ। तर मित्रवत् राष्ट्रहरूमार्फत् भइरहेका सन्देश आदानप्रदानले वाशिङ्गटनसँग "नतिजामुखी" वार्ताहरूका लागि समन्वय गरिरहेका छन्।"
यसअघि इरानका उच्च सुरक्षा अधिकारी अली लारिजानीले वार्ताका एउटा ढाँचामा प्रगति भइरहेको बताएका थिए।
सैन्य शक्ति बढाउने प्रयासअन्तर्गत अमेरिकाले आफ्नो विमानवाहक पानीजहाज 'यूएसएस अब्राहम लिङ्कन'लाई उक्त क्षेत्रमा पठाएको छ र गत सप्ताहान्ततिर अमेरिकी सेन्ट्रल कमान्डले अरेबिअन सागरमा परिचालन भइरहेको बताएको थियो।
"[ट्रम्पले] नियमितजसो भन्छन् कि उनले जहाजहरू पुर्याइसके… त्यस्ता कुराले इरान राष्ट्र तर्सिनेवाला छैन," खामेनेईले अगाडि भनेका छन्।
इरानमा तनाव
यसअघि स्ट्रेट अफ होर्मूजमा इरानले आइतवारबाट दुई दिने प्रत्यक्ष नौसैनिक युद्ध अभ्यास गर्ने बताइएको थियो।
तर एक इरानी अधिकारीलाई आइतवार उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले इरानी रेभोल्यूश्नरी गार्ड्स कोर (आईआरजीसी) को कुनै त्यस्तो योजना नरहेको जनायो।
स्ट्रेट अफ होर्मूज संसारको सबैभन्दा व्यस्त पानीजहाज मार्गमध्ये एक र एउटा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग हो।
आफूमाथि आक्रमण गरिएमा स्ट्रेट अफ होर्मूजमा हमला गर्ने इरानले विगतमा चेतावनी दिएका दृष्टान्त छन्।
सो क्षेत्रमा आफ्ना फौजहरूनजिक "असुरक्षित र गैरव्यावसायिक व्यवहार" नदेखाउन अमेरिकाले इरानलाई चेतावनी दिएको छ।
त्यसको जबाफमा अरागचीले भनेः "अमेरिकी सेनाले अब यो कुरा निर्धारण गर्ने प्रयास गर्न थालेको छ कि इरानका शक्तिशाली फौजहरूले आफ्नै क्षेत्रमा कसरी अभ्यास गर्नुपर्छ।"
शनिवार इरानमा भएका दुईवटा विस्फोटले तनाव बढाएको थियो। स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह शहर बान्दर अब्बासस्थित एउटा भवनमा ग्यास चुहावट भएर विस्फोट हुँदा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएका थिए।
उक्त विस्फोटमा आईआरजीसीका एक कमान्डरलाई निशाना बनाइएको भनी सामाजिक सञ्जालहरूमा गरिएको दाबीको तस्निमले खण्डन गरेको थियो।
दक्षिण-पश्चिमी अहवाज शहरमा भएको अर्को विस्फोटको घटनामा चार जनाको ज्यान गएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।