दुःखद घटनापछिको बेचैनी, शान्ति सुरक्षाको आश र राजनीति सुध्रने पर्खाइ : मानिसका मनमा खेलेका कुरा

    • Author, प्रदीप बस्याल र पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

सोमवारयताका 'जेन जी' प्रदर्शनमा भएका जनधनको क्षतिले पूर्वी नेपालको सुनसरीस्थित इनरुवामा बस्ने राकेश निरौला बेचैन बनेका छन्।

उनको जिल्लामा पर्ने इटहरीमा दुईजना प्रदर्शनकारीले ज्यान गुमाए, तनावपूर्ण स्थिति बन्यो र त्यहाँ कर्फ्यू लाग्यो।

"मङ्गलवारका घटनामा हाम्रै सम्पत्तिहरू क्षति भएको छ जुन हुनु हुँदैनथ्यो। तर विनाशबाट एउटा आशा पनि पलाउँछ," एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा काम गर्ने ३६ वर्षीय निरौलाले बीबीसीसँग भने।

अहिले साथीभाइसँगका चियागफमा आफूहरू यस आन्दोलनले के दियो भन्ने गहिरो समीक्षा गर्न थालेको उनी सुनाउँछन्।

"यो आन्दोलन नेता र कर्मचारीहरूलाई एउटा पाठ सिक्ने अवसर पनि भएको छ जस्तो लाग्छ। जसले गर्दा आउँदा दिनमा केही सच्चिएर र सुधार भएर सुनौलो भविष्य देखिएला कि!"

नेपालमा एकाएक विकसित नाटकीय घटनाक्रमपछि मानिसहरूको मनमा अन्यौल र अनिश्चितता व्याप्त देखिन्छ। तर निरौलाजस्ता कैयौँ मानिसहरू सकस र त्रासकै बीचमा आशावादी हुन समेत खोजिरहेका छन्।

'शान्ति भइदिए हुन्थ्यो'

सञ्जना पाण्डे, ३५, राजधानी काठमाण्डूमा एउटा कफीशप र एउटा रेस्टुराँ सञ्चालन गर्छिन्। तीन दिनदेखि कहिले आन्दोलन त कहिले कर्फ्यूले गर्दा उनको व्यवसाय ठप्प छ।

त्यो कहिलेदेखि खोल्न पाइएला भन्ने समेत उनलाई थाहा छैन।

"व्यवसाय बन्द गरेर बस्दा गाह्रै हुन्छ। केही सोच्न सकेकी छैन। तनावको स्थिति छ," उनले बीबीसीसँग फोनमा भनिन्। "छिटोभन्दा छिटो पसल खोल्न पाए हुन्थ्यो भन्ने लाग्छ तर स्थिति के हुन्छ हेरौँ।"

पछिल्ला दुई दिनमा कैयौँ मानिसहरू मारिएको र ठूल्ठूला सार्वजनिक सम्पत्ति नष्ट भएका पीडादायी दृश्य देखेकी उनको मनमा अहिले "शान्ति भइदिए हुन्थ्यो" भन्नेबाहेक केही खेलेको छैन।

उनले थप भनिन्: "सबैतिर शान्ति भइदियो भने मात्र सजिलो हुन्छ। आखिर सबै जनताले त्यही खोजेका होइनन्?"

'सेनालाई विश्वास गर्नुपर्छ'

ललितपुरमा व्यवसाय गरेर बस्ने प्रभात पौडेल "साह्रै दुखद घटनाहरू" भएका पछिल्ला दिनका दृश्यहरू बिर्सन खोजेर पनि नसकिरहेको बताउँछन्।

कलिला बालबालिकाहरूको मृत्यु र त्यसपछिको आक्रोशका क्रममा प्रधानमन्त्रीले राजीनामा दिइसक्दा आन्दोलन रोकिनु पर्नेमा सिंहदरबार, सर्वोच्च अदालतसहितका देशका महत्त्वपूर्ण पूर्वाधार जल्ने अवस्था आउनुलाई उनले दुर्भाग्यपूर्ण बताए।

तर पनि अबको परिवेशमा देशको "सेनालाई विश्वास गर्नु"को विकल्प नरहेको उनी बताउँछन्।

"हामीलाई राजनीति पनि चाहिन्छ, सेना पनि चाहिन्छ, प्रहरी पनि चाहिन्छ। अब उहाँहरूले कसरी यसलाई लयमा ल्याउनुहुन्छ भनेर हेर्न बाँकी छ," ४८ वर्षीय पौडेलले भने।

"अहिले मुख्य कुरा देशमा शान्ति सुरक्षा कायम हुनु ठूलो कुरा हो। शान्ति सुरक्षा कायम भयो भने गरिखाने वर्ग पुरानै ट्र्याकमा आउलान्।"

'राजनीतिभन्दा माथि उठौँ'

काठमाण्डूमा सामाजिक कार्यकर्ताका रूपमा काम गर्ने तरु कार्कीले परिवर्तनको आशा र भ्रष्टाचारले सिर्जना गरेको निराशाबीच 'अब अति भयो' भन्दै युवाहरू सडकमा आएको रूपमा आफूले बुझेको बताउँछिन्।

"हिजोसम्म जे हुनु भइसक्यो। आन्दोलनले सोचेभन्दा निकै खराब स्वरूप समेत लिइसक्यो। तर अब मुख्य रूपमा शान्ति आउनुपर्‍यो र भ्रष्टाचार रोकिनुपर्‍यो," ४० वर्षीय कार्की भन्छिन्।

"नेपालको जल्दै नजल्नुपर्ने सम्पत्ति जल्दा, अबोध बालबालिकाहरूले ज्यान गुमाउँदा मन भक्कानिएको छ। त्यसरी हेर्दा त अहिले देशको अवस्था कहालीलाग्दो छ।"

तर पनि अगाडिको बाटो सोच्दा सबै तप्काहरूले "राजनीतिभन्दा माथि उठेर" ती युवाका सोचलाई मूर्तरूप दिन आवश्यक पर्ने उनी ठान्छिन्।

"अहिले देखा परेको निराशालाई बुझेर नयाँ नेपाल र सुन्दर भविष्य निर्माणका लागि सघाउन आवश्यक छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।