बाङ्ग्लादेशमा अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा, मङ्गलवार नयाँ सरकार बन्दै

पढ्ने समय: २ मिनेट

गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिएका छन्।

मङ्गलवार ढाकामा १३औँ राष्ट्रिय संसद्का निर्वाचित सदस्यहरू र नयाँ सरकारको शपथ ग्रहण समारोहको अन्तिम तयारी भइरहँदा उनको राजीनामा आएको हो

आफ्नो बिदाइ कार्यक्रममा उनले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारलाई निरन्तरता दिन आग्रह गरे।

८५ वर्षीय युनुसले सन् २०२४ मा भागेर भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अधिनायकवादी सरकारलाई अपदस्थ गरेको विरोध प्रदर्शनपछि पदभार ग्रहण गरेका थिए।

हसिनाको अवामी लीगलाई गत हप्ताको चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।

उक्त चुनावमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी ) र त्यसका नेता तारिक रहमानले भारी मतले विजयी भएका थिए।

बीएनपीले पार्टी अध्यक्ष तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिने बताएको छ।

मङ्गलवार के-के हुँदै छ

गृह मन्त्रालयले नयाँ नियुक्त हुने प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न प्रहरीलाई निर्देशन दिएको छ।

संसद् भवनमा मङ्गलवार बिहान १० बजे संसद् सदस्यहरूको शपथ ग्रहण समारोह र अपराह्न ४ बजे प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह तय गरिएको छ।

चुनावमा दुई स्थानबाट जित हासिल गरेका बीएनपी अध्यक्ष तारिक रहमानले एउटा स्थान त्यागेर ढाका-१७ सिटको सांसद् हुनेगरी शपथ लिनेछन्।

बीएनपीले सांसदहरूको शपथ ग्रहण समारोहपछि संसदीय दलको बैठक बोलाएको छ। उक्त संसदीय दलको बैठकले सदनमा आफ्नो नेता चयन गर्ने नेताहरूले बताएका छन्।

सोमवार बाङ्ग्लादेश जमात-ए-इस्लामी सहितको ११ दलीय गठबन्धनले ढाकामा विरोध मार्च र र्‍याली निकालेको थियो।

उनीहरूले चुनावपछि देशभर हिंसा, यातना, उत्पीडन, हत्या र बलात्कार भएको आरोप लगाएका छन्।

युनुसले थप के भने?

अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आफ्नो बिदाइ सम्बोधनका क्रममा बाङ्ग्लादेशमा १७ वर्षपछि उत्सवपूर्ण, शान्तिपूर्ण राष्ट्रिय निर्वाचन सम्पन्न भएको उल्लेख गरे।

"यो निर्वाचन भविष्यमा बाङ्ग्लादेशको चुनाव कस्तो हुनुपर्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हुने छ," युनुसले भने।

सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रमुख सल्लाहकारले मङ्गलवार अन्तरिम सरकार छाड्ने जनाएका थिए

"यो चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया मात्र होइन, यो बाङ्ग्लादेशको लोकतान्त्रिक प्रणालीमा नयाँ यात्राको सुरुवात हो। नयाँ बाङ्ग्लादेशको जन्म हो," युनुसले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।