एसईई जापानमा पनि, पूरै परीक्षा प्रणालीको औचित्यमाथि उठेको छ प्रश्न

फाइल तस्बिर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

राष्ट्रिय परीक्षा बोर्डले आगामी बिहीवारबाट सुरु हुने विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट पाँच लाखभन्दा बढी विद्यार्थीहरू सहभागी हुने छन्। जापानमा पनि एसईईको परीक्षा लिइने छ।

विद्यालयस्तरीय शिक्षा कक्षा १२ सम्म बनाइएपछि कक्षा १० उत्तीर्ण गर्नका लागि लिइने यो परीक्षालाई "सामान्य रूपमा लिइनुपर्ने" शिक्षाविद्हरूको मत रहँदै आएको छ।

उनीहरू सरकार, शिक्षक, विद्यार्थी र अभिभावकले अझै पनि एसईईलाई एसएलसीको परीक्षालाई जसरी नै लिने गरेकाले त्यसको "हाउगुजी बाँकी रहेको देखिएको" बताउँछन्।

यो परीक्षालाई विद्यालय तहका अन्य कक्षाका परीक्षाजस्तै मानिए मात्र नेपालले लिएको नयाँ शिक्षानीति प्रभावकारी रूपमा कार्यान्वयन हुने शिक्षाविद्हरू बताउँछन्।

परीक्षाको तयारी

एसईई परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष कुल पाँच लाख ४,४१४ विद्यार्थी परीक्षामा सहभागी हुने छन्। सामुदायिक र सरकारी गरी देशभरिका कुल १०,८०६ विद्यालयका विद्यार्थीहरूले जाँच दिने छन्।

बोर्डले परीक्षाका लागि नेपालभरि कुल २,०६४ वटा केन्द्र तोकेको छ।

परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये केही प्राविधिक शिक्षातर्फका पनि छन्। शर्माले दिएको जानकारीअनुसार प्राविधिकतर्फ ५०६ विद्यालयका झन्डै १६,००० विद्यार्थी छन्।

"परीक्षाका लागि हामीले प्रश्नपत्र र उत्तरपुस्तिकाहरू सम्बन्धित क्षेत्रहरूमा पठाइसकेका छौँ र जनशक्ति पनि परिचालन भइसकेको छ," शर्माले भने।

बोर्डले केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी समेत उक्त परीक्षाका लागि झन्डै ७७,००० जना जति जनशक्ति परिचालन हुने जनाएको छ।

नेपाल बाहिर पनि परीक्षा

राष्ट्रिय परीक्षा बोर्ड

तस्बिर स्रोत, OFFICE OF THE CONTROLLER OF EXAMINATIONS

बोर्डका अनुसार नेपाल बाहिर पनि एसईई परीक्षा सञ्चालन हुने छ। केही वर्षदेखि जापानमा पनि एसईई परीक्षा हुने गरेको छ।

शर्माले दिएको जानकारीअनुसार यस पटक पनि जापानमा एउटा केन्द्रमा परीक्षा लिइने छ। जापानमा कुल २३ परीक्षार्थी छन्।

"त्यहाँ हाम्रो दूतावासले नै परीक्षाकेन्द्रसम्बन्धी अनुगमनको काम गर्छ भने जुन विद्यालयले परीक्षा चलाउने हो त्यसैबाट निरीक्षक तोकिन्छन्," उनले भने।

जापानको एउटा विद्यालयले नेपाली पाठ्यक्रमअनुसार अध्यापन गराइरहेको र त्यहीँ परीक्षा हुने उनले जानकारी दिए। "त्यहाँ हामीले हुलाकमार्फत् उत्तरपुस्तिका पठाइसकेका छौँ। प्रश्नपत्र परीक्षा हुने दिन नै अनलाइनबाट जाने छ।"

विगतमा भने नेपालबाट जाने निरीक्षकसँगै उत्तरपुस्तिका र प्रश्नपत्र पठाइने गरेको उनले बताए।

धेरै वर्षअघि हङ्‌कङमा पनि एसएलसी परीक्षा सञ्चालन गरिन्थ्यो।

परीक्षा बोर्ड

तस्बिर स्रोत, OFFICE OF THE CONTROLLER OF EXAMINATIONS

'एसईईको औचित्य छैन'

सरकारले कक्षा १२ लाई माध्यमिक तहको अन्तिम खुड्किलो मान्ने शिक्षानीति अङ्गीकार गर्नुअघिसम्म कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसएलसीलाई विद्यार्थीका लागि ‘फलामे ढोका’ भन्ने गरिन्थ्यो।

एसईईलाई त्यस्तो रूपमा लिनुनपर्ने शिक्षाविद्हरू बताउँछन्। तर अहिले पनि माध्यमिक तहको परीक्षाप्रति मानिसहरूको चासो, चिन्ता र भय सोचे जति हराउन नसकेको धेरैको अनुभव छ।

तर बोर्डले गर्ने "तडकभडक" र "हल्लाखल्ला"ले ठिक त्यसविपरीत काम गरेको शिक्षाविद् सुशन आचार्यको भनाइ छ।

उनी भन्छिन्, "कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भनिसकेपछि वास्तवमा एसईईबारे बोल्नैनपर्ने हो। यसबारे त संसद्‌मा पनि कतिपल्ट कुरा उठ्यो तर पनि हल्लाखल्ला उस्तै छ। देशबाहिर पनि परीक्षाकेन्द्र राखेर सञ्चालन भइरहेको छ।"

"मलाई यसमा अनियमितता भइरहेको छ जस्तो लाग्छ। आवश्यक नै नपर्ने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका छाप्नदेखि जनशक्ति खटाउन र जिल्लाजिल्ला भ्रमण गर्न अनि विदेशमा परीक्षा सञ्चालन गर्न समेत खर्च गर्नुको के अर्थ छ?"

"यो परीक्षाको औचित्य छैन विद्यार्थीलाई बारम्बार 'जाँच आयो, 'जाँच आयो' भनेर डर देखाउने यस्ता परीक्षा बन्द हुनुपर्छ।"

'परीक्षादेखि डराउने जस्तो बनाइ सकियो'

फाइल तस्बिर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कतिपय अभिभावकका निम्ति पनि एसईई विद्यार्थीका लागि 'हाउगुजी' बनेको छ।

त्यस्तै मध्येका एक भक्तपुरका महेश गेलालले एउटा कथासँग एसईईलाई तुलना गरे। उनका छोराले यसपालि एसईई दिँदै छन्।

उनले भने, "सानामा हामीले एउटा कथा सुनेका थियौँ - एक व्यक्तिले घरमा मुसा धेरै भएपछि बिरालाको सानो बच्चा ल्याएछन्। मुसा मार्न सिकोस् भनेर त्यो सानो बच्चालाई दिनैपिच्छे मुसा आउने ठाउँमा फ्याल्दा रहेछन्।"

"त्यो बिरालो हुर्किने बेलासम्म सानैदेखि मुसा आउने ठाउँमा फालिदिएकाले मुसासँगै डराउने भएछ। अहिले सानै उमेरका बालबालिकालाई बारम्बार जाँचको हाउगुजी देखाएर पढाइप्रति नै वितृष्णा जगाउने काम भइरहेको छ र यो एसईई पनि त्यस्तै भयो।"

उनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनिएपछि कक्षा १० को परीक्षालाई पनि अन्य तल्ला कक्षाको परीक्षाहरू जसरी नै व्यवहार गर्नुपर्ने बताए।

उनले भने, "नयाँ शिक्षानीति भनेर के गर्नु? यो त पुरानै बोतलमा नयाँ रक्सी भनेजस्तै त भयो नि! यसले विद्यार्थी र अभिभावक दुवैलाई अनावश्यक तनाव दियो। यसमा परिवर्तन हुनुपर्छ।"

यसपालि के परिवर्तन भयो?

शिक्षा मन्त्रालयले २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका’ जारी गरेको थियो।

सोही निर्देशिकाअनुसार यस वर्ष ‘लेटर ग्रेडिङ प्रणाली’मा परीक्षाफल प्रकाशित हुने शर्माले जानकारी दिए।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ।

सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ।

त्यस्तै परीक्षा सञ्चालनमा पनि यसपालि प्रदेशलाई मुख्य जिम्मेवारी दिइएको र गुणस्तर नियन्त्रणको काम मात्र बोर्डले गरेको उनले बताए।

तर एसईईलाई "हाउगुजी" बनाइएको भन्ने आरोपलाई उनले अस्वीकार गरे।

शर्माले भने, "यो एउटा स्ट्यान्डराइज्ड परीक्षा मात्र हो र कक्षा आठपछि एकैपल्ट कक्षा १२ मा मात्र परीक्षामा सामेल हुँदा विद्यार्थीलाई धेरै वर्ष ग्याप हुन्छ भनेर पनि हामीले यो परीक्षा गर्नुपरेको हो।"

"हाम्रा छिमेकी मुलुकहरू र विकसित देशका अनुभव तथा अध्ययनहरूका आधारमा हामीले कक्षा आठपछि १० मा र त्यसपछि १२ मा यस्तो परीक्षा हुनुपर्छ भनेर गरेका हौँ।"

,बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।