यार्सा सङ्कलनमा आम्दानी पनि जोखिम पनि, पाटनमा अस्ताएकाहरूको कथा

    • Author, प्रकाश पन्त
    • Role, डोल्पा, बीबीसी न्यूज नेपाली

तीन बर्षअघि प्लस टू पास गरे पनि आर्थिक अभावले रुकुमपश्चिम आठविसकोट नगरपालिका–४, गोतामकोटकी २२ बर्षीय जमुना विष्टले पढाइलाई निरन्तरता दिन सकिनन्।

समयमै पढाइ अघि बढाउन नसकेकी उनी यसपालि भने यार्सागुम्बाबाट गतिलो आम्दानी गरेर काठमाण्डू गएर पढ्ने योजनामा थिइन्।

त्यही योजनासहितको ठूलो सपना बोकेर बहिनी सरस्वतीसँगै जेठ १२ गते डोल्पाको नाउरेपाटन पुगेकी जमुनाले लेक लागेर अकालमै ज्यान गुमाइन्।

"आफू पढेर जागिर खाने, मलाई पढाइमा सघाउने र बुबाआमाको बुढेसकालको सहारा बन्ने दिदीको धोको थियो", सरस्वतीले भनिन्, "दिदीको त्यो धोको अधुरै रह्यो।"

जेठको पहिलो साता घरबाट हिँड्दैदेखि अस्वस्थ महसुस गरेकी जमुनालाई यार्सा पाइने नाउरेपाटन चढ्दै गर्दा झनै गाह्रो भएको सरस्वतीले बताइन्।

जेठ १२ गते साँझ यार्सा टिपेर पालमा फर्किँदा एकदमै गाह्रो भएपछि एक्लै दिदीलाई बोकेर पाटनबाट तलतिर झारेकी उनले त्यो क्षण सम्झिँदै भनिन्, "कसैको साथ पाएको भए दिदीलाई बचाउन सकिन्थ्यो। मैले एक्लै बीच बाटोसम्म त ल्याएँ तर बचाउन सकिनँ।"

सबै यार्सा टिप्नै व्यस्त हुने भएकोले दु:ख परेका बेला साथ दिन कोही अघि नसरेकाले दिदीलाई गुमाउनु परेको उनको भनाइ छ।

कमाउने मान्छे गुमाउँदा घरपरिवार र केटाकेटीको बिजोग

जमुनाका दाइ एक्कबहादुर वैदेशिक रोजगारीमा थिए।

बुवा पनि कमाउन कालापार (भारत) गएपछि घरमा आमासँग सरस्वती र जमुना मात्रै थिए।

बहिनीको निधनको खबर थाहा पाएर चार बर्षपछि घर फर्केका एक्कबहादुरले भने, "पाटन जाने अघिल्लो दिन बहिनीहरूलाई पाटन नजानू बरु पैसा चाहिए पठादिउँला भनेको थिएँ। आखिरमा गएछन्। नसोचेको घटना भयो।"

पाटनमै अस्ताएका जाजरकोटका बमबहादुर

वृद्ध आमाबाबु, एक बर्षको छोरा, तीन बर्षकी छोरी र १९ बर्षकी श्रीमतीलाई छाडेर यार्सा टिप्न डोल्पा गएका जाजरकोट बारेकोट गाउँपालिका –७, लुहागका २२ बर्षीय बमबहादुर बस्नेत पनि यार्सा टिप्ने क्रममा यस वर्ष पाटनमै अस्ताए।

दाम कमाउने सपना बोकेर पहिलो पटक यार्सा टिप्न गएका उनको जेठ १४ गते नाउरेपाटनमा लेक लागेर मृत्यु भएको आफन्तले बताए।

पाटन पुगेको दुई दिनमै लेक लागेर अस्वस्थ भएका उनको उपचारका लागि दुनै ल्याइँदै गर्दा बाटोमै ज्यान गएको थियो।

तीन दाजुभाइमध्ये कान्छा बमबहादुरको काँधमा बृद्ध आमाबाबु, बालबच्चा र श्रीमतीको रेखदेख गर्ने जिम्मेवारी थियो।

त्यही जिम्मेवारीले गर्दा ७ कक्षामै पढाइ छाडेरर उनी कमाइको लागि कहिले कालापार त कहिले पाटन पुग्नुपर्ने बाध्यतामा थिए।

जागिर र अरु आम्दानीको गतिलो स्रोत नभएका उनको परिवारलाई खेतीकिसानीबाट बर्षभरि खानलाउनै पुग्दैनथ्यो।

केही कमाइ गरौँला भन्ने आशामा यार्सा टिप्न गएका भाइलाई 'दैवले चुडेर लगेको'मा दाइ अमरबहादुर दु:खी छन्।

चार वर्षअघि यार्सा टिप्न जाँदा त्यही ठाउँमा आफ्ना भिनाजु पनि लेक लागेर मुस्किलले बाँचेको स्मरण गर्दै उनी भन्छन्, "बरु कालापार जाऊ, पाटन नजाऊ भनेर धेरै सम्झाएँ । तर उसले मानेन। मानेको भए अकालमै ज्यान जादैँनथ्यो भन्ने लाग्छ। बाँचुन्जेल रोइरहने बनाएर गयो।"

लेक लागेर बिरामी भएका भिनाजुलाई चार दिनसम्म बोकेर दुनै पुर्‍याएर बचाएको बताउने उनले त्यो बेला आफ्ना कोही आफन्त यार्सा टिप्न पाटन नजाऊन् भनेर देउता मन्साएको सम्झिए।

बर्सेनि अकालमै ज्यान गुमाउँछन् कति मानिसहरू

घर व्यवहार चलाउन बाबुआमालाई सघाउने उद्देश्यले यार्सा टिप्न पाटन गएकी डोल्पोबुद्ध गाउँपालिकाकी १५ बर्षीया उषा बुढाको पनि लेक लागेर ज्यान गयो।

यार्सा टिप्ने क्रममा टाक्सिपाटनमा लेक लागेर बिरामी भएकी उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

रुकुमपश्चिमकी जमुना, जाजरकोटका बमबहादुर र डोल्पाकी उषा जस्ता कैयौँले बर्सेनि यार्सा टिप्न जाँदा अकालमै ज्यान गुमाउने गर्छन्।

यार्सा सङ्ककलनका लागि जानेमध्ये अधिकांशको लेक लागेर, हिउँपहिरोमा परेर र कतिको भीरबाट लडेर ज्यान जाने गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यार्सा सङ्कलन गर्ने सिजन सुरु भएसँगै यो वर्ष लेक लागेर १२ जनाले ज्यान गुमाएका छन्। अस्वस्थ भएका कतिपय उपचारपछि निको भएका छन्।

यसपालि यार्सा टिप्ने क्रममा लेक लागेर डोल्पामा ६ जना र मुगुमा ६ जनाको मृत्यु भएको हो।

प्रदेश कार्यालयका प्रहरी प्रवक्ता एसएसपी वीरबहादुर ओलीले यार्सा टिप्ने क्रममा लेक लागेर वर्षैपिच्छे केहीको ज्यान जाने गरेको बताए।

झण्डै ४,८०० सयदेखि ५,५०० सय मिटरको उचाइमा पाइने यार्सा टिप्न जाँदा धेरैजसोलाई लेक लाग्छ।

त्यसरी जानेहरूले लेक लाग्नबाट जोगिन खासै सावधानी अपनाएको पाइँदैन।

लेक लागेर बिरामी हुँदा पनि सुरक्षित स्थानतर्फ नफर्किने, ढिलो गर्ने र के नै पो होला र भनेर हेलचक्र्याइँ गरेको देखिन्छ।

"ज्यान जोखिममा पारेर कमाएको पैसाको के काम?"

पाटनमा दम बढ्ने भएकाले दौडन मिल्दैन। हलुका दौडिइहाले पनि सास बढेर हैरान हुन्छ।

त्यस्तो अवस्थामा पनि पाटन पुगेकाहरूबीच यार्सा टिप्न हानथाप र दौडादौड चल्छ।

धेरैजसोले जोखिमको खासै ख्याल नगर्ने गरेको देखिए पनि कतिपय भने यसबारे सावधान छन्। सावधानी अपनाउनेहरू सबैभन्दा कम जोखिम भएका पाटन पत्ता लगाएर जाने र स्वास्थ्य समस्या आउने बित्तिकै पाटनबाट झरिहाल्ने गर्छन्।

यार्सा टिप्न डोल्पाको रूपपाटन पुगेका रुकुमपश्चिम आठविसकोट नगरपालिका डाँफेका मोतिराम बुढा माथिल्लो डोल्पाका पाटनहरू जोखिमपूर्ण भएकोले रूपपाटनमा आएको बताउँछन्।

"यो पाटन अरुभन्दा सजिलो छ। लडने ठाउँ छैन। हामी पनि सक्ने ठाउँमा मात्रै जान्छौँ, नसक्ने ठाउँमा ज्यानै जोखिममा हालेर जादैँनौँ।"

"टन्नै खाने कुरा र बाक्लो कपडाहरू ल्याएका छौँ।"

"केही समस्या पर्नेबित्तिकै तल झरिहाल्छौँ। ज्यान जोखिममा हालेर पैसा कमाएर के काम?" उनी भन्छन्।

पाटन जानेहरूलाई चिकित्सकको सल्लाह

चिकित्सकका अनुसार एकैदिनमा पाटन पुग्नुहुँदैन। पाटनको फेदीबाट कम्तिमा पनि दुईतीन दिन लगाएर टुप्पोमा पुग्नुपर्छ।

लेक लागेर टाउको दुख्नेबित्तिकै फर्किहाल्नुपर्छ, लापर्बाही गर्नु हुँदैन।

तत्काल फेदीमै फर्किन सम्भव भएन भने पनि कम्तीमा सय मिटरजति तल झरेर आराम गर्नुपर्छ। प्रशस्त पानी पिउनुपर्छ र औषधी खानुपर्छ।

बरिष्ठ फिजिसियन डा. उज्वल अर्याल यार्सा खोज्न पाटन जानेहरूले सबैभन्दा पहिले आफ्नो ज्यानको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन्।

उनी भन्छन्, "साथमा औषधी लैजानुपर्छ। पानी पिइराख्नुपर्छ र टाउको दुख्नासाथ तलतिर झरेर नजिकको स्वास्थ्य संस्था वा अस्पताल गइहाल्नुपर्छ।"

उनका अनुसार उचाइमा सानोतिनो लापरबाहीले पनि ज्यानै जोखिममा पार्ने भएकाले यार्सा सङ्कलकहरू यसतर्फ सतर्क हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।