तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर र दक्षिण कोरियाबीच जारी एउटा भूमिगत युद्ध जसलाई किमले जितिरहेका हुन सक्छन्
- Author, जीन मकेन्जी
- Role, सोल संवाददाता
उत्तर र दक्षिण कोरियाबीचका सीमानाका बाक्लो काँडेतार र सयौँ सुरक्षा चौकीहरूको उपस्थिति छ। तर तिनीहरूबीच केही असामान्य कुरा पनि छन् र ती हुन्- विशाल हरियो रङका स्पीकरहरू।
गत महिना दिउँसोको समयमा जब म उत्तर कोरियातर्फ हेरिरहेकी थिएँ तब एउटा लाउडस्पीकरमा दक्षिण कोरियाली पप गीतहरू बज्न थाले जसमा विद्रोहयुक्त सन्देशहरू समाविष्ट थिए।
"जब हामी विदेश यात्रा गर्छौँ तिनले हामीलाई ऊर्जा प्रदान गर्छन्," सीमा पारिसम्म सुनिनेगरी एकजना महिलाको आवाज गुन्जियो। त्यो स्पष्ट रूपमा एउटा अपमान थियो किनकि उत्तर कोरियालीहरूलाई आफ्नो देश छोड्ने अनुमति छैन।
उत्तर कोरिया तिरबाट सैनिक प्रोपोगान्डा सङ्गीत मैले मन्दमन्द सुन्न सक्थेँ। किनकि उसको सत्ताले भड्काउ प्रसारणलाई दबाउने प्रयास गरिरहेको थियो।
उत्तर र दक्षिण कोरिया प्राविधिक रूपमा अहिले पनि युद्धमा छन्। हुन त दुवै पक्षले एकअर्कामाथि गोलाबारी गरेको वर्षौँ भइसक्यो तर दुवै पक्ष अझ सूक्ष्म मोर्चामा लडिरहेका छन् र त्यो हो सूचनाको लडाइँ।
दक्षिण कोरियाले उत्तर कोरियासम्म सूचना पुर्याउने प्रयास गर्छ र उत्तर कोरियाली नेता किम जङ-अन त्यसलाई रोक्ने प्रयत्न गर्छन्। किनकि उनी आफ्ना नागरिकलाई बाहिरी सूचनाबाट जोगाउने प्रयास गर्छन्।
उत्तर कोरिया विश्वको एक मात्र यस्तो देश हो जहाँ जनताहरूलाई इन्टरनेट सेवा उपलब्ध छैन। त्यहाँका सबै टेलिभिजन च्यानलहरू, रेडिओ स्टेशनहरू र पत्रपत्रिका राज्यले सञ्चालन गर्छ।
"यो नियन्त्रणको कारण के हो भने किम परिवारबारे धेरै मिथकहरू बनाइएका छन्। जनताहरूलाई किम परिवारले भन्ने कुरामध्ये धेरै चाहिँ झूट हुन्छन्," उत्तर कोरियाली प्रविधि र सूचनासम्बन्धी विज्ञ तथा वाशिङ्गटनस्थित स्टिमसन सेन्टरका सिनिअर फेलो मार्टिन विलियम्सले भने।
झूटहरू धेरै मानिससामु उजागर भएमा उत्तर कोरियाली शासन ढल्न सक्छ भन्ने दक्षिण कोरियाको सोच रहेको छ।
एउटा भूमिगत आन्दोलन
लाउडस्पीकर त दक्षिण कोरियाली सरकारले प्रयोग गर्ने एउटा उपकरण मात्र हो। पर्दापछाडि अझ परिष्कृत भूमिगत आन्दोलन मौलाइरहेको छ।
केही सङ्ख्यामा प्रसारक तथा गैरनाफामूलक सङ्घसंस्थाहरूले रातिको समयमा शर्ट र मिडिअम वेभमार्फत् सूचना प्रसारण गर्छन् ताकि उत्तर कोरियालीहरूले गोप्य रूपमा तिनलाई सुन्न सकून्।
प्रत्येक महिना सीमापारि हजारौँ यूएसबी स्टिक, माइक्रो एसडीको तस्करी हुने गर्छ जसमा दक्षिण कोरियाली चलचित्र, टीभी नाटकहरू र पप गीतका साथै समाचार पनि हुन्छन्। यी सब उत्तर कोरियाली प्रोपोगान्डालाई चुनौती दिनका लागि तयार पारिएका विभिन्न योजनाका हिस्सा हुन् ।
तर अहिले उत्तर कोरियाको हात माथि पर्न थालेको यो क्षेत्रमा काम गर्नेहरू ठान्छन्।
किमले विदेशी सामग्रीसहित समातिने मानिसहरूलाई कारबाही मात्र गरिरहेका छैनन्, बरु यो कामको भविष्य नै खतरामा पर्न सक्ने देखिन्छ।
त्यसको अधिकांश हिस्सा अमेरिकाले गर्ने आर्थिक सहयोगमा निर्भर छ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै गरेको सहायता कटौतीको असर त्यसमाथि परेको छ।
उसो भए लामो समयदेखि हुँदै आएको सूचना युद्धमा अब यी दुई पक्ष कहाँ छन्?
पप गीत र टीभी नाटकहरूको तस्करी
प्रत्येक महिना दक्षिण कोरियाली गैरनाफामूलक सङ्गठन यूनिफिकेशन मिडिआ ग्रुप (यूएमजी) स्थित एउटा टोली ताजा समाचार र मनोरञ्जन सामग्री छुट्टयाउँछ जसलाई समेटेर यस्तो प्लेलिस्ट तयार पारिन्छ जुन उत्तर कोरियाली नागरिकहरूलाई मन परून्।
त्यसपछि तिनलाई डिभाइसहरूमा लोड गरिन्छ। हेर्न कत्तिको जोखिमपूर्ण छ भनेर तिनीहरूलाई वर्गीकृत गरिएको हुन्छ। कम जोखिमयुक्त यूएसबीमा दक्षिण कोरियाली टीभी नाटक तथा पप गीतहरू पर्छन्। हालै उनीहरूले नेटफ्लिक्सको रोमान्स सिरिज 'ह्वेन लाइफ गिभ यू ट्यान्जरिन्स' अनि दक्षिण कोरियाली गायक तथा र्यापर जेनीका हिट गीतहरू समावेश गरेका थिए।
उच्च जोखिमयुक्त सामग्रीमा उनीहरूले भन्ने गरेको "शिक्षा कार्यक्रम" पर्छन् जसमा उत्तर कोरियाली नागरिकहरूलाई लोकतन्त्र, मानव अधिकार र किमलाई निकै त्रसित बनाउन सक्ने सामग्रीहरू हुन्छन्।
त्यसपछि ती ड्राइभहरू चिनियाँ सीमासम्म पुर्याइन्छ जहाँ यूएमजीका विश्वासिला साझेदारहरूले जोखिम मोल्दै नदी पार गरेर उत्तर कोरियासम्म पुर्याउँछन्।
झटट् हेर्दा दक्षिण कोरियाली टीभी नाटकहरू हानि नपुर्याउने खालका लाग्न सक्छन् तर तिनले त्यहाँका सामान्य जीवनबारे धेरै कुरा बोलेका हुन्छन्। ती भनेका मानिसहरू अग्ला भवनमा बस्छन्, तीव्र गतिमा कार चलाउँछन् र महँगा रेस्टुराँमा खाना खान्छन् भन्ने जस्ता कुरा हुन्। त्यसले उनीहरूको स्वतन्त्रतासँगै उत्तर कोरियालीहरू अझै कति पछाडि छन् भन्ने पनि दर्शाउँछ।
दक्षिण कोरियालीहरू गरिब र एकदमै उत्पीडित छन् भनी किमले गर्ने सबैभन्दा ठूलो मनगढ्न्ते कुरामध्ये एउटालाई त्यसले चुनौती पनि दिन्छ।
"केही मानिसहरूले टीभी नाटकहरू हेर्दा रोएका कुरा पनि हामीले सुनेका छौँ र ती नाटकले उनीहरूलाई पहिलो पकट तिनका आफ्नै सपनाबारे सोच्न बाध्य पारे," यूएमजीका निर्देशक ली क्वाङ्ग बाकले भने।
कति उत्तर कोरियाली नागरिकसम्म यूएसबी पुगे भन्न त गाह्रो छ तर भागेका मानिसहरूले दिएको जानकारीअनुसार सूचना फैलिरहेको छ र त्यसले प्रभाव पनि पारिरहेको छ।
"हालसालै उत्तर कोरियाली भगौडा तथा शरणार्थीहरूले विदेशी सामग्रीहरूले नै ज्यान जोखिममा पारेर भाग्न आफूहरूलाई अभिप्रेरित गरेको बताएका थिए," त्यस्ता सामग्री उत्तर कोरियामा वितरणको काम गर्ने लिबर्टी इन नर्थ कोरिया नामक संस्थाका सोकील पार्कले भने।
उत्तर कोरियामा राजनीतिक विपक्षी अथवा चिनिएका कोही प्रतिपक्षी छैनन् जहाँ प्रदर्शनका लागि भेला हुनु पनि अति खतरनाक मानिन्छ। तर पार्कको विश्वासमा केही मानिसहरू कुनै दिन प्रतिरोधका लागि अवश्य अभिप्रेरित हुने छन्।
उत्तर कोरियाबाट पलायन
चौबीस वर्षीया काङ्ग ग्युरी उत्तर कोरियामा हुर्किन् जहाँ उनले माछा समात्ने व्यवसाय सञ्चालन गर्थिन्। सन् २०२३ को अन्त्यतिर चाहिँ भागेर डुङ्गामार्फत् उनी दक्षिण कोरिया पुगिन्।
विदेशी टीभी च्यानलका कार्यक्रमहरू हेरेर उनी भाग्न प्रेरित भइन्। "मलाई निस्सासिए जस्तो भएको थियो र अचानक म बाँच्नुपर्छ भन्ने भावना ममा जागृत भयो," उनले भनिन्।
सोलमा गत महिना पारिलो अपराह्नका बेला एउटा पार्कमा हामी भेट्दा उनले बाल्यकालमा आमासँग रेडिओ सुन्ने गरेको स्मरण गरिन्।
दश वर्षकी हुँदा पहिलो पटक कोरियन नाटक हेरेको उनले सुनाइन्। त्यसको धेरै वर्षपछि उनले फलफूलका बक्सामार्फत् यूएसबी स्टिक र एसडी कार्डहरू उत्तर कोरियामा पुर्याइने गरिएका थाहा पाइन्।
जति धेरै उनले ती सामग्री हेरिन् त्यति धेरै सरकारले झूट बोल्दै आएको उनले बुझिन्।
"राज्यले हामीमाथि लगाएका त्यति धेरै प्रतिबन्धहरू सामान्य हो जस्तो मैले ठान्थेँ। मलाई लाग्थ्यो अरू देशहरूमा पनि त्यस्तै नियन्त्रण होला। तर पछि मलाई महसुस भयो यो त उत्तर कोरियामा मात्र हुने रहेछ।"
उत्तर कोरियामा उनले चिनेजानेका सबैले दक्षिण कोरियाली टीभी कार्यक्रम तथा चलचित्र हेर्थे। उनी र उनका सङ्गिनीहरूले यूएसबी साटासाट गर्थे।
"हामीले लोकप्रिय नाटक तथा कलाकारहरूबारे कुरा गर्थ्यौँ, के पपका सदस्यहरू बीटीएसका केही सदस्यहरू जस्तै सुन्दर देखिन्छन् भन्ने कुरा गर्थ्यौँ," उनले भनिन्।
"हामीले दक्षिण कोरियाको अर्थतन्त्र कसरी राम्रो भयो भन्नेबारे पनि कुरा गर्थ्यौँ। हामीले उत्तर कोरियाली सत्ताको खुलेर आलोचना चाहिँ गर्न सक्दैनथ्यौँ।"
टीभी कार्यक्रमले आफूहरूको बोल्ने र लुगा लगाउने शैलीमा पनि प्रभाव पारेको सुनाउँदै उनले भनिन्, "उत्तर कोरियाका युवाहरूमा तीव्र परिवर्तन आएको छ।"
युवामाथि कारबाही गर्ने दस्ता र दण्ड
किम जङ्ग अन यी सबैबाट आफ्नो सत्तालाई रहेको जोखिमबारे अवगत छन् र त्यसविरुद्ध लडिरहेका पनि छन्।
कोभिड महामारीका बेला उनले चीनसँग जोडिएको सीमानाकामा नयाँ विद्युतीय तारबार खडा गरे र त्यसबाट सूचना तस्करीमा झन् कठिनाइ निम्तिन पुग्यो।
सन् २०२० मा ल्याइएको कानुनले विदेशी सञ्चारमाध्यमका सामग्री प्रयोग गर्ने र साझा गर्नेमाथि गरिने दण्डसजायलाई अझ बढाइदिएको छ।
उक्त कानुनको एउटा व्यवस्थाअनुसार त्यस्ता सामग्री विवरण गर्नेलाई कारावास अथवा मृत्युदण्ड दिइने भनी उल्लेख छ।
यसको ठूलो प्रभाव परेको छ। "पहिला ती सामग्री बजारमा किन्न पाइन्थ्यो र मानिसहरूले खुला रूपमा त्यो बेच्थे। तर अहिले विश्वासिला मान्छेबाट मात्र तपाईँ त्यी सामग्री पाउन सक्नुहुन्छ," लीले भने।
कारबाही हुन थालेपछि काङ्ग र उनका सङ्गिनीहरू झन् सचेत हुन थाले। "एकदमै नजिकका मान्छे नभएसम्म हामी त्यसबारे एकअर्कासँग कुरै गर्दैन थियौँ," उनले भनिन्।
दक्षिण कोरियाली सूचना सामग्रीसहित पक्राउ पर्ने थप युवाहरूलाई मृत्युदण्ड दिन थालिएकोबारे आफूहरू अवगत रहेको उनले सुनाइन्।
हालै किमले कोरियाली नाटक हेर्नेसँग सम्बन्धित क्रियाकलापमाथि कडिकडाउ गरेका छन्।
उनले दक्षिण कोरियाली शब्दावलीको प्रयोग वा दक्षिण कोरियाली लवजमा बोल्ने कार्यलाई सन् २०२३ मा अपराध घोषित गरेका छन्।
युवाहरूका गतिविधिमा निगरानी गर्ने 'युवा कारबाही दस्ता'ले सडकहरूमा गस्ती गर्ने गरेको छ।
उत्तर कोरियाबाट भाग्नुअघि कैयौँ पटक आफू रोकिएको उनी स्मरण गर्छिन्। दक्षिण कोरियालीहरूको जस्तो लुगा लगाउँदा र उनीहरूले जस्तो कपाल पाल्दा हप्कीदप्की खानुपर्छ।
उक्त दस्ताले उनको मोबाइल खोसेर एसएमएस पढ्थ्यो ताकि उनले दक्षिण कोरियाली शब्दावलीहरू प्रयोग गरेकी छैनन् भनी सुनिश्चित गर्न सकियोस्।
सन् २०२४ को अन्त्यतिर सोलस्थित यूएमजीको समाचार सेवा डेली एनकेले एउटा उत्तर कोरियाली मोबाइल देशबाहिर तस्करी गरी ल्यायो।
त्यसमा दक्षिण कोरियाली शब्दावली आउनासाथ गायब हुने गरी त्यसको सट्टा उत्तर कोरिया शब्दावली आउने किसिमले प्रोग्रामिङ गरिएको थियो।
"स्मार्टफोन अहिले उत्तर कोरियाली नागरिकहरूलाई अभिप्रेरित गर्ने तरिकाको अभिन्न अङ्ग बन्न पुगेको छ," विलियम्स भन्छन्।
यी सबै दमनकारी कदमहरूबीच यो सूचना युद्धमा उत्तर कोरियाको "पल्ला भारी हुन थालेको" उनी बताउँछन्।
सहायतामा कटौती र ट्रम्प प्रभाव
यो वर्षको सुरुतिर डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा फेरि प्रवेश गरेपछि सहायता निकायहरूलाई गरिने अमेरिकी सहयोगमा व्यापक कटौती भएको छ। त्यसमा उत्तर कोरियालीहरूलाई सूचित पार्ने कामलाई दिने सहायता पनि परेको छ।
उनले सङ्घीय सरकारमार्फत् समाचार संस्था रेडिओ फ्री एशिया र भोइस अफ अमेरिकाले पाउने सहायता पनि निलम्बन गरिदिएका छन्। ती संस्थाले उत्तर कोरियालीका लागि रात्रिकालीन प्रसारण गर्छन्।
ट्रम्पले भोइस अफ अमेरिकालाई "कट्टरपन्थी र ट्रम्पविरोधी" भनेका छन्। अर्कोतर्फ ह्वाइट हाउसले "कट्टरपन्थी प्रचारका लागि करदाताहरू अब जिम्मेवार रहने छैनन् भन्ने कुरा उक्त कदमले सुनिश्चित गरेको" बताएको छ।
सोलस्थित भोइस अफ अमेरिकाका पूर्वब्यूरो प्रमुख स्टिभ हर्मन भन्छन्, "उत्तर कोरियालीहरूले संसारलाई हेर्ने त्यो थोरैमध्येका एउटा झ्याल थियो जुन कुरा त्यसै बन्द गरियो।"
अमेरिकी सहायता स्थायी रूपमै रोकिने हो वा होइन भन्नेबारे यूएमजीले अहिले मूल्याङ्कन गरिरहेको छ।
ट्रम्पले "संयोगवश" किमलाई सघाएको र त्यो कदम "दूरदर्शी नभएको" लिबर्टी इन नर्थ कोरियाका पार्क तर्क गर्छन्।
परमाणु अस्त्रको सङ्ग्रह बढाइरहेको उत्तर कोरिया एउटा ठूलो सुरक्षा खतरा भएको भन्दै उनी प्रतिबन्ध, कूटनीति र सैन्य दबाव विफल भइरहेको अवस्थामा बाँकी रहेको सूचना युद्ध सर्वोत्कृष्ट अस्त्र भएको तर्क गर्छन्।
उनी भन्छन्, "हामीले उत्तर कोरियाली खतरालाई रोक्ने प्रयास मात्र गरिरहेका छैनौँ, हामी त्यसलाई समाधान गर्ने प्रयत्न पनि गरिरहेका छौँ। त्यसका लागि देशको प्रकृति बदल्न जरुरी छ।"
बिल कसले तिर्नुपर्छ त?
यो कामका लागि कसले रकम तिर्नुपर्छ भनी प्रश्न तड्कारो छ। पूरै खर्च अमेरिकामाथि नै किन भनी कतिपय मान्छेको प्रश्न रहेको छ।
एउटा समाधान भनेको दक्षिण कोरियाले खर्च बेहोर्नुपर्छ भन्ने हो। तर उत्तर कोरियाली मुद्दा यहाँ निकै राजनीतिकरण भएको छ।
उदारवादी विपक्षीहरू प्योङयाङसँग सम्बन्ध सुधार्न चाहन्छन्। त्यसको अर्थ सूचना युद्धका लागि रकम उपलब्ध गराउन सकिँदैन भन्ने हो।
दक्षिण कोरियामा आगामी साता हुने राष्ट्रपतीय चुनावमा सो पार्टीका अग्रणी उम्मेदवारले आफू निर्वाचित भएमा लाउडस्पीकरहरू बन्द गराउने बताएका छन्।
तथापि पार्क चाहिँ आशावादी हुँदै भन्छन्, "सकारात्मक पक्ष के हो वर्षौँदेखि मानिसहरूको दिमागमा भरिँदै आएका सूचनालाई उत्तर कोरियाली सरकारले निकाल्न सक्दैन।"
प्रविधिको विकाससँगै सूचना प्रसार सहज हुँदै जाने उनको विश्वास छ।
"कालान्तरमा गएर त्यसैले उत्तर कोरयालाई परिवर्तन गर्छ भन्नेमा म विश्वस्त छु," पार्कले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।