जापानबाटै नेपालको एसईई परीक्षामा सहभागी हुने यी विद्यार्थी, उत्तरपुस्तिका जाँच्ने प्रक्रिया यस्तो छ

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा 'एसईई'मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए।
टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७ सालबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ।
"हाम्रोमा गत वर्ष जाम्बियाका एक जना छात्रले पनि एसईई दिएका थिए। बाँकी एसईई दिने विद्यार्थीहरू नेपाली नै हुन्छन्," विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले बीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार उक्त विद्यालयबाट हालसम्म एसईई दिएका ८५ सबै जना विद्यार्थीले पहिलो प्रयासमै उत्तीर्ण गरेका छन्।
राजदूत आफैँ जान्छन् परीक्षा निरीक्षणमा

तस्बिर स्रोत, Bishnu Prasad Bhatt
नेपालमा बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षा जापानमा भने स्थानीय समयअनुसार ११ बजेबाट सञ्चालन हुन्छ।
"हामीले अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेका छौँ। जापानमा रहेको नेपाली राजदूतावासका राजदूत र कर्मचारीहरूलाई अनुगमन र निरीक्षणको जिम्मा दिएका छौँ," बोर्डका अध्यक्ष शर्माले भने।
"परीक्षा सम्पन्न भएपछि त्यहाँका उत्तरपुस्तिकाहरू लाहाछाप भएर नेपाल नै आउँछन् र हामीले यहाँ सम्परीक्षण गरेर नतिजा प्रकाशित गर्छौँ।"
टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख हरिहर कान्त पौडेलले हरेक दिनको परीक्षा सकिएपछि सिलबन्दी गरेर उत्तरपुस्तिका दूतावासमा जम्मा गरिने बताए।
"परीक्षा सकिएलगत्तै हामीले उत्तर पुस्तिका र हाजिरी सिलबन्दी गरेर दूतावासमा ल्याउँछौँ र परीक्षा सकिएपछि एकमुष्ट रूपमा नेपाल पठाउँछौँ," पौडेल भन्छन्।
"परीक्षाको निरीक्षणका लागि हाम्रो टोली रहने नै भयो, कुनैकुनै दिन महामहिम राजदूत आफैँ पनि जानुहुन्छ।"
सन् २०१३ मा स्थापना भएको उक्त विद्यालयमा जापानमा रोजगारीका लागि पुगेका र व्यवसाय गरिरहेका नेपाली परिवारले आफ्ना सन्तान पढाउने गरेको विज्ञान शिक्षक अविनाश श्रेष्ठले बताए।
प्रधानाध्यापक भट्टका अनुसार कक्षा ८ सम्म अन्य देशका विद्यार्थीहरूले पनि नेपाली पाठ्यक्रम अध्ययन गरे पनि कक्षा १० को परीक्षाका लागि केम्ब्रिज बोर्डको परीक्षा दिने गरेका छन्।
यो विद्यालयमा नेपालबाहेक जापान, अमेरिका, पाकिस्तान, बाङ्ग्लादेश तथा न्यूजील्यान्डका विद्यार्थीहरूले अध्ययन गरिरहेको बताइएको छ।
नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा हालसम्म चारवटा शाखा सुरु गरिरहेको भट्टले जानकारी दिए।
७५ हजारले दिँदै छन् पुन: एसईई

तस्बिर स्रोत, NEB
गत वर्षबाट राष्ट्रिय परीक्षा बोर्डले न्यूनतम ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागु गरेको थियो।
लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागु भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो।
विसं २०७८ मै बनेको नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्दा करिब ९० हजार विद्यार्थीहरू गत वर्ष अनुत्तीर्ण भएका थिए।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले त्यसमध्ये करिब ७५ हजारले यो पटक पुनः एसईई दिन आवेदन दिएको जानकारी दिए।
यसअघिको परीक्षामा उत्तीर्ण हुन आवश्यक ग्रेड नल्याएका विद्यार्थी पनि थपिएका कारण यो पटक एसईई दिने विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षभन्दा बढी देखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
"गत वर्ष ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थी पनि पूरक परीक्षामा सामेल भएका कारण केही थपिएका हुन्। गत वर्षभन्दा अगाडि ग्रेड वृद्धि गर्नुपर्ने थिएन, त्यस कारण सबै माथिल्लो कक्षमा जान्थे," शर्मा भन्छन्।
"अहिले ३५ प्रतिशत पुर्याउन पनि विद्यार्थीहरूले थप मेहनत गर्न थालेका छन्।"
४८ जनाको जेलबाट परीक्षा

तस्बिर स्रोत, RSS
परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका छन्।
परीक्षा नियन्त्रक पौडेलका अनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट छ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।
परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन्। ती सबै विद्यार्थीका लागि सदरमुकाममा परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा बढी परीक्षार्थीहरू काठमाण्डूमा छन्। काठमाण्डूबाट झन्डै ३९,००० परीक्षार्थी एसईईमा सहभागी हुँदै छन्।
एसईई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको परीक्षा बोर्डले जनाएको छ।
परीक्षा बोर्डका अनुसार यो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ३० जना विद्यार्थीहरू एसईईमा सहभागी हुँदै छन्।
परीक्षा नियन्त्रक पौडेलका अनुसार कीर्तिपुर स्थित सफलता शिक्षा सदनमा अध्ययनरत एचआईभी सङ्क्रमित परिवारका चार जना बालबालिका पनि यो पटकको एसईईमा सहभागी हुँदै छन्।
परीक्षा नियन्त्रक पौडेलका अनुसार अनिवार्य विषयका लागि सातवटै प्रदेशका लागि फरकफरक प्रश्न पत्र तयार गरिएको छ। उनले कतिपय ऐच्छिक विषयमा लागि पनि दुई थरी प्रश्नपत्र तयार गरिएको जानकारी दिए।
परीक्षा बोर्डले आगामी असारसम्म एसईई परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने कार्यतालिका तयार गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








