राजमार्ग पटकपटक अवरुद्ध, यात्रुको राहतका लागि तात्कालिक र दीर्घकालीन उपाय यस्ता

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

दशैँको मुखमा पहिरो गएका कारण यात्रुहरू अलपत्र परेको नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखाेलानजिकै मङ्गलवार साँझ अर्को पहिरो खसेपछि अधिकारीहरूले वैकल्पिक बाटोको प्रयोग गर्न चालकहरूलाई सुझाएका छन्।

एक पटक पहिरो खसेर उक्त पहिरो हटाएपछि पुनः पहिरो जाँदा अवरुद्ध बनेको बाटोको अवरोध हटाउने काम भइरहेको यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बीबीसीलाई बताए।

गत शुक्रवार पहिरो खसेर अवरुद्ध बनेपछि बल्लबल्ल पहिरो हटाएर ४५ घण्टापछि गाडी चलाउन थाले पनि मङ्गलवार साँझ पुनः उक्त ठाउँमा पहिरो गएको थियो।

अहिले उक्त क्षेत्रमा सामान बोकेर आएका मालवाहक ट्रकहरू करिब पाँच/छ किलोमिटरको दूरीसम्म रोकिएको उक्त क्षेत्रमा पुगेका हाम्रा चितवन संवाददाता ईश्वर जोशीले बताएका छन्।

नारायणगढ-मुग्लिन सडकको पछिल्लो अवस्था

सडक डिभिजन कार्यालय भरतपुरले उक्त पहिरो हटाउने काम बुधवार पनि नसकिने र बिहीवारसम्म लाग्न सक्ने जनाएको छ।

"माथिबाट पूरै पहाडै खसेर बाटो अवरुद्ध भएका कारण वैकल्पिक राजमार्गको प्रयोग गर्न भनेका छौँ," चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने।

उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको अनुगमनपछि बस र यात्रुहरूलाई मङ्गलवार रातिबाट नै फर्काउने काम गरेको थियो।

यात्रुहरू भाकैप्यासै सडकमा बस्नु नपरोस् भनेर यात्रुहरूलाई फर्काइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

त्यसैले अहिले उक्त क्षेत्रमा यात्रुहरू नरहेको तर मालवाहक गाडी र तिनका चालकहरू रहेको बताइएको छ।

"सडक खुलेको सूचना प्राप्त नभएसम्म यो सडक भएर यात्रा नगर्न भनेका छौँ," अर्यालले भने।

"सडक अवरुद्ध हुँदा दशैँकाे लागि काठमाण्डू, पोखरा लगायत विभिन्न स्थानका लागि समान बोकेर आएका ट्रकहरू पनि सडकमै अलपत्र रहेका छन्।"

पहिरो गएको क्षेत्रमा सडकमा १६० मिटर क्षेत्रसम्म ठूलाठूला ढुङ्गा र माटो थुप्रिएका छन्।

उक्त सडकमा मङ्गलवार साँझ पुनः एकदमै ठूलो आकारको पहिरो खसेपछि बुधवार बिहानबाट मात्रै पहिरो हटाउने काम सुरु भएको सडक डिभिजन चितवनले जनाएको छ।

"पहिरोका तस्बिरहरू हेर्दा माथिबाट अब थप ठूलाे पहिरोको सम्भावना कम रहेको भए पनि झर्न बाँकी रहेका ढुङ्गाहरू पूर्ण रूपमा तल झरिसकेको छैन। अझै साना तथा मझौला स्तरका ढुङ्गाहरू झर्न सक्ने सम्भावना देखिन्छ," सडक डिभिजन कार्यालय भरतपुरले एउटा सूचना जारी गर्दै भनेको छ।

"सडकमा थुप्रिएको पहिरोको परिमाण १२,००० देखि १४,००० घनमिटरको आकलन रहेकाले उक्त पहिरो पन्छ्याउन समय लाग्ने हुँदा भोलि (बिहीवार) दिउँसो मात्रै सवारीसाधन सञ्चालन गर्न सकिने अनुमान गरिएको छ|"

नारायणगढको आँपटारीबाट मङ्गलवार रातिदेखि नै काठमाण्डू, पोखरा र गोरखा जाने गाडीहरूलाई रोक लगाइएको हाम्रा संवाददाता ईश्वर जोशीले बताएका छन्।

जोखिम मोलेर यात्रा नगर्न अनुरोध

यातायातसचिव केशवकुमार शर्माका अनुसार नारायणगढ-मुग्लिन सडकखण्डको यो क्षेत्रबाहेक ठूला राजमार्गमा भने त्यति समस्या छैन।

"मलेखुबाट छिरेर धादिङबेसी, गोरखा भएर मुग्लिन, पोखरा निस्किने एउटा बाटो पनि वैकल्पिक बाटोको रूपमा सुझाएका छौँ," उनले भने।

"साना गाडीहरूचाहिँ मलेखुबाट भण्डारातिरबाट निस्किएर जाने पनि गरेको छ। त्रिभुवन राजपथ र कान्ति राजपथ प्रयोग गरिदिनलाई पनि हामीले अनुरोध गरेका छौँ। छैमले-कुलेखानीको बाटो प्रयोग गर्न पनि सुझाएका छौँ।"

तर यी कतिपय बाटोमा ठूला गाडी नचलाउन भने पनि जबरजस्ती चलाएका कारण ती बाटोमा पनि समस्या भएको बताइएको छ।

बाटोका कारण आवतजावतमा अवरोध देखिएकाले यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनले जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जारी गरेको सूचनामा भनिएको छ, "जोखिम मोलेर यात्रा नगरौँ। ज्यान बचाऔँ, यात्रा पछि गरौँला, घुमेरै यात्रा गरौँ, बाटो खुल्ने आशामा आफैँ दुःखहैरानीमा नपरौँ।"

यातायात मन्त्रालयले पनि अनौपचारिक रूपमा अनिश्चितता धेरै भएका ठाउँमा नजान यातायात व्यवसायी र प्रहरीमार्फत् अनुरोध गरिएको सचिव शर्माले बताए।

यो सडकमा पहिरो किन गइरहन्छ?

नारायणगढ-मुग्लिन सडकखण्डमा तुइनखोलाजस्तै पहिरो गइरहने ठाउँ १७/१८ वटा पहिचान गरिएको भूगर्भशास्त्रका एक विज्ञ बताउँछन्।

एकदम सुक्खा भएको भिरालो जमिनमा पानीको थोरै मात्रा पर्दा पनि चाप थेग्न नसकेर लामो समयपछि पहिरो जाने गरेको विज्ञ रञ्जनकुमार दाहालले बताए।

विगतमा भौगर्भिक अध्ययन गर्दा भीमकाय पहिरोको फेदमा चट्टानहरू भेटिएको जानकारी दिँदै उनी फेद काट्दा अहिले जोखिम निम्तिएको बताउँछन्।

"अलिअलि क्षति पुगेको ठाउँमा अर्को वर्ष बनाऔँला, अहिले के हुन्छ हेरौँ, धेरै खर्च नगरौँ भित्तापट्टि भन्ने हाम्रो परिपाटी छ। दाताहरूले पनि त्यसैलाई साथ दिन्छन्। अनि भइदियो के भने त्यहाँ मिटिगेशनको योजना नभएपछि भत्किरहने भयो," दाहालले भने।

अहिले देखिएको समस्यालाई सम्बोधन गरेर दशैँतिहारपछि भने योजनाबद्ध रूपमा अर्को वर्षदेखि पहिरो नदोहोरिने गरी काम गर्न आवश्यक रहेको उनले बताए।

"हाम्रा अनुसन्धानहरूबाट पहिचान भएका ठाउँहरूमा अब रोकथामका उपाय गर्न विभिन्न प्रकारका नमुनाहरू बनाउनुपर्छ," त्रिभुवन विश्वविद्यालयमा भूगर्भशास्त्रका सहप्राध्यापक रहेका दाहालले भने।

"दशैँतिहारपछि नयाँ नमुनाका लागि कसरी काम गर्ने भनेर विज्ञहरूको समूहलाई जिम्मा लगाएर ठेक्कापट्टामा गएर तत्काल कामअगाडि बढाउनुपर्छ।"

अन्य स्थानमा बाटोको अवस्था कहाँ कस्तो छ?

नेपाल प्रहरीले निकालेको पछिल्लो सूचनाअनुसार धादिङस्थित पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छ।

यसअघि उक्त राजमार्गमा सडकमाथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो।

त्यस्तै बीपी राजमार्ग गत असोज १ गतेबाट रातिको समयमा अर्को सूचना जारी नहुँदासम्मका लागि भाडाका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

सङ्खुवासभामा भोटखोला-वरुणखोलामा बाढी आएर ह्युमपाइप बगाएका कारण कोशी राजमार्गमा पर्ने उक्त सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ।

त्यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरोध भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।