सामानसहित ११० टन तौल भएको 'ट्रेलर ट्रक'ले पुल 'भत्काएपछि' उठेका प्रश्नहरू

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

पूर्व-पश्चिम राजमार्गमा अवस्थित एउटा पक्की पुल भत्किनुमा ६० टनजति तौल भएको जेनरेटर बोकेको एउटा मालवाहक सवारीसाधन जिम्मेवार रहेको अधिकारीहरूले बताएका छन्। उक्त ट्रेलर ट्रकको कुल तौल ११० टनभन्दा बढी भएको उनीहरूको अनुमान छ।

नवलपरासी पूर्वमा रहेको बिनयी पुल भत्किनुको कारणबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न सडक विभागले एउटा समिति पनि गठन गरेको छ।

गत साता शुक्रवार भत्किएको उक्त पुल झन्डै ५० वर्षअघि बनेको बताइन्छ।

अधिकारीहरूका अनुसार पुलको पूर्वपट्टि रहेको फलामको भाग ट्रकको ठक्करबाट भाँच्चिएपछि पुल भत्किएको थियो।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारीले वैकल्पिक मार्ग हुँदै सवारीसाधनको आवागमन भइरहेको र उक्त पुलको मर्मतसहितका विषयमा सडक विभागको टोलीले स्थलगत अध्ययन गरेर फर्किएको बीबीसीलाई बताए।

पुल किन भत्कियो

पुल दुर्घटनाको कारणबारे जाँच गर्न बनेको समितिलाई प्रतिवेदन बुझाउन अझै दुई दिनको समय छ। तर दुर्घटनास्थलको स्थलगत अध्ययनमा गएका सडक विभागको पुल महाशाखाका प्रमुख तथा उपमहानिर्देशक ललिजन खनालले बढी वजन भएको ट्रकले पुलको एउटा अंशलाई ठक्कर दिएपछि पुल भत्किएको बताए।

"उक्त ट्रकले बोकेको जेनरेटर ट्रलीबाट चिप्लिएर हाम्रो पुलको 'मेम्बर'लाई लागेर यो दुर्घटना भएको हो। पानीले धेरै नछुने ठाउँमा पुल 'फेल' भएको छ, त्यही भएर मर्मतका लागि ठूलो लगानी गर्नुपर्दैन भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ," उनले भने।

"फोटोमा ट्रली अडेस लागेको जस्तो देखिन्छ, तर ट्रसमा (जेनरेटर) ठोक्किँदा त्यसको असर निक्कै ठूलो हुन्छ। यस्तो खालको पुलमा एउटा मात्रै अंशले काम गरेन भने सबै 'फेल' हुन्छ।"

उक्त पुलको भारवहन क्षमता झन्डै ११० टन छ। त्यसैले उनका अनुसार पाङ्ग्राको सङ्ख्या र अन्य प्राविधिक पक्षको पनि विश्लेषण गर्नुपर्ने देखिन्छ।

"जति धेरै पाङ्ग्रा हुन्छन्, त्यत्ति नै वजन बाँडिन्छ। अहिलेसम्म हेर्दा लोड पनि हो। तर मूल कारण त्यो पुलको संरचनामा ठोक्किनु हो।"

नारायणगढ-बुटवल सडक परियोजनाका सूचना अधिकारी शिव खनालले उक्त ट्रकले बोकेको जेनरेटरको तौल ६० टन र ट्रेलर ट्रकको मात्रै ५० टन थियो।

उनले नेपालको मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ ले यस्तो खालको ट्रकको परिकल्पना समेत नगरेको बताए।

"दुर्घटनाग्रस्त भएको ट्रकको अगाडिको भागमा पर्ने दुइटा एक्सलमा चार-चारवटा पाङ्ग्रा छन्। त्यसै गरी पछाडि ट्रेलरलाई बोक्ने आठवटा एक्सलमध्ये प्रत्येकमा आठ-आठवटा पाङ्ग्रा छन्। चौहत्तर पाङ्ग्रा रहेको यो ट्रकको वजन जेनरेटरसहित ११० टनभन्दा बढी रहेको हुनुपर्छ।"

भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ मा यस्तो खालको एक्सल रहेका ट्रकहरूबारे कुनै व्यवस्था नरहेको र यस्ता ट्रक जोख्ने उपकरण समेत देशमा उपलब्ध रहेको आफ्नो जानकारीमा नरहेको बताए।

नियममा के छ

उक्त निर्देशिकाले प्रत्येक मालवाहक सवारीसाधन सञ्चालकले उक्त सवारीसाधनले बोकेको कुल तौलको 'लोडशीट' खुल्ने गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तो प्रमाणका आधारमा यातायात व्यवस्था विभाग वा अन्य सरकारी निकायले सवारीसाधनको अनुगमन गर्न सक्छ।

त्यसबाहेक भारवहन अनुगमन तथा नियन्त्रणका लागि सम्बद्ध निकायहरूले व्यक्ति, फर्म वा कम्पनीहरूले स्थापना गरेका तौलपुलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

भारवहन नियमनसम्बन्धी निर्देशिका अनुसार मालवाहक सवारी साधनको अगाडिको एक्सलको अधिकतम एक्सल लोड छ मेट्रिक टनभन्दा बढी हुनु हुँदैन।

उक्त नियमले पछिल्लो प्रतिएक्सल (चार पाङ्ग्रा) १०.२ मेट्रिक टन वजन राखेर सवारीसाधन सडकमा सञ्चालन गर्न सकिने जनाएको छ।

सो निर्देशिकाको अनुसूचीमा पाँच एक्सल (१८ पाङ्ग्रा) भएका सवारीसाधनको भारवहन क्षमता ४०.२ मेट्रिक टन रहने उल्लेख गरिएको छ। सर्वाधिक वजन परिकल्पना गरिएको यस्तो सवारीसाधनमा अगाडिको एक्सलमा दुई पाङ्ग्रा, बीचको एक्सलमा चार पाङ्ग्रा र पछाडिको तीनवटा एक्सलमा १२ पाङ्ग्रा रहने उल्लेख छ।

तर उक्त अनुसूचीको सवारीले बोक्न पाउने अधिकतम वजन सवारीको अगाडीको वा अन्य दुईपाङ्ग्रा जोड्ने एक्सल, एकल एक्सल, ट्यान्डम एक्सल र ट्राइडम एक्सलको योगफल हुने भनिएको छ।

उक्त मापदण्ड अनुसार अधिकतम कुल वजन ५९.२ हुन आउँछ।

अत्यधिक तौल भएका सवारीसाधनका कारण सडकमा कस्तो समस्या

अधिकारीहरू नेपालका सडक तथा पुलमा मापदण्डभन्दा बढी तौल भएका सवारीसाधनले समस्या निम्त्याउने गरेको बताउँछन्। सडक विभागका उपमहानिर्देशक खनालले सवारीसाधनको वजनको जाँच र अनुगमन गर्नु आवश्यक रहेको औँल्याउँदै त्यसका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागले हेर्नुपर्ने बताए।

नेपालमा यातायतको नियमनमा गृह मन्त्रालय, सुरक्षा निकाय, भौतिक योजना तथा यातायात मन्त्रालयसहितका निकायहरू संलग्न छन्।

तर सडक र पुलजस्ता पूर्वाधारमा अत्यधिक वजन भएका सवारीसाधनले क्षति निम्त्याएका घटनाहरू बारम्बार प्रकाशमा आउने गरेका छन्। विशेष गरी भन्सार नाका, औद्योगिक क्षेत्रनजिक रहेका सडक तथा महेन्द्र राजमार्गसहित देशका विभिन्न स्थान जोड्ने प्रमुख राजमार्गहरूका कतिपय ठाउँमा कालोपत्रे नै भासिएको समेत देख्न सकिन्छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ट्राफिक प्रहरी र यातायातसम्बन्धी निकायले भारवहनबारे निगरानी गर्ने गरेको भएपनि जनचेतनाको कमी रहेको बताए।

"जसलाई थाहा छ, उहाँहरूले वैकल्पिक बाटो पनि प्रयोग गर्नुभएको छ। कहिलेकाहीँ बढी तौल भएका समानहरू पनि ल्याउनुपर्ने हुन्छ, त्यस्तो हुँदा अग्रिम जानकारी दिएर वैकल्पिक मार्ग पनि प्रयोग गर्न सकिन्छ," उनले भने।

निर्धारितभन्दा बढी वजन राखेर सवारीसाधन चलाउनेलाई जरिवाना गराउने र बढी भएको तौल झार्न लगाउनुपर्ने कानुनी व्यवस्था पनि छ।

पुल भत्काउने सवारीसाधनबारे हामीलाई के थाहा छ

प्रमुख जिल्ला अधिकारी पोखरेलले पुलमाथि शिवम् सिमेन्टको सामान बोकेको गाडी रहेको अवस्थामा पुल भाँच्चिएको देखिएको भए पनि दुर्घटनाको प्राविधिक विश्लेषण हुनुपर्ने बताए।

पुलको अन्तिम बिन्दुमा पुगेपछि उक्तट ट्रेलर ट्रकले पुलको ट्रसमा ठक्कर दिएको उनले बताए।

सो भारतीय ट्रक कपिलवस्तु भन्सारबाट समान लिएर हेटौँडातर्फ गइरहेको थियो।

उक्त दुर्घटनापछि पश्चिम नेपालका कतिपय ट्रक व्यवसायीहरूले बढी भार भएका भारतीय ट्रकहरू नेपाल प्रवेश गरेको भन्दै तिनलाई सीमामा नै नरोकिए आफूहरूले नेपालमा गुड्न नदिने चेतावनी दिएका छन्।

भन्सार बिन्दुमै भारतीय ट्रकको 'ओभरलोड' नियन्त्रण गरिनुपर्ने उनीहरूको माग छ।

वैकल्पिक बाटो कहाँ छ

नवलपरासी पूर्वका प्रहरी प्रमुख यादव ढकालले दायाँबायाँ 'डाइभर्शन' गरेर सवारीसाधनको आवागमन रोकिन नदिइएको बताए। उनका अनुसार दुर्घटनाग्रस्त स्थानभन्दा २०० मिटर परबाट वैकल्पिक बाटो खोलिएको छ र दुवैतर्फका सवारीसाधनहरू गुडिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी पोखरेलले विनय त्रिवेणीबाट होङ्सी सिमेन्ट हुँदै होङ्सी गेट निस्कने बाटो र पुलनजिकै अर्को अस्थायी डाइभर्शन बनाइएकोमा आइतवारबाट पुलनजिकैबाट अर्को पनि डाइभर्शन सञ्चालनमा ल्याइएको छ।

"एउटा रूट र दुईवटा डाइभर्शन गरेर तीन ठाउँबाट सवारी पास भइरहेको छ।"

सडक विभागका अधिकारीहरू आफूहरूले प्रतिवेदन बुझाएपछि उक्त पुल निर्माण थाल्न सकिने बताउँछन्। तर प्रमुख जिल्ला अधिकारी पोखरेल सो पुल पुनर्निर्माणका लागि केही समय लाग्ने ठान्छन्।

दुर्घटनाका कारण पुलको झन्डै ६० मिटर भाग पूरै भत्किएको प्रहरीको भनाइ छ। पुलको तलपट्टिको भागमा पनि क्षति पुगेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार बुटवल-नारायणघाट सडकखण्डको एउटा पुल नजिकै बनिरहेकाले त्यसलाई प्राथमिकता दिएर निर्माण गर्ने वा बेलिब्रिज बनाउने विकल्पमा पनि छलफल भइरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।