पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिमबारे विज्ञ यसो भन्छन्

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

पश्चिम नेपालमा पर्ने जाजरकोट जिल्लाको बारेकोटलाई केन्द्र बनाएर डेढ वर्षअघि गएको ६.४ म्याग्निट्यूडको भूकम्पयता मात्रै त्यहाँ ८५३ वटा परकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विसं २०८० साल कार्तिक १७ गतेदेखि २०८२ वैशाख ३ गतेसम्म जाजरकोट र त्यस आसपास केन्द्र बनाएर यी परकम्प गएका हुन्।

पाँचदेखि ६ म्याग्निट्यूडका ३ वटा, ४ देखि ५ सम्मका १२ वटा, ३ देखि ४ सम्मका ५७ वटा, २ देखि ३ म्याग्निट्यूडसम्मका ४३८ वटा र २ भन्दा साना ३४२ वटा परकम्प गएका छन् ।

यी परकम्पबाट जनधनको ठूलो क्षति नभए पनि त्यस क्षेत्रका मानिसहरू भने आफूहरू निरन्तरको डर र त्रासमा बाँचिरहेको बताउँछन्।

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको ज्यान गएको थियो भने करिब ४ सयजना घाइते भएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३४ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो।

भावी खतराहरू

विक्रम संवत् १५०५ सालमा मुस्ताङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ८ दशमलव ५ म्याग्निट्यूडको भूकम्प नै नेपालमा अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा ठूलो भूकम्प भएको बताइन्छ।

त्यसपछि साढे पाँच सय वर्षदेखि नेपालको गोरखादेखि पश्चिमतर्फ र भारतको देहरादुनदेखि पूर्वतिरको भागमा महाभूकम्प नगएको विज्ञहरू बताउँछन्।

यो क्षेत्रभित्र यतिका वर्षसम्म ठृूलो भूकम्प नजानुको अर्थ यहाँ ८ म्याग्निट्यूडभन्दा माथिका भूकम्प जान सक्ने शक्ति जम्मा भइरकेको छ भन्ने बुझिने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए।

उनका अनुसार बढी शक्ति सञ्चित भएको कारण गोरखादेखि देहरादुन बीचको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जान सक्छ।

"तर कहिले जान्छ भन्न सकिँदैन, जति बेला पनि जान सक्ने सम्भावना भने छ," अधिकारीले भने।

"पूर्वी नेपालमा विक्रम संवत् १२५५ पछि १९९० सालमा भूकम्प आउँदा ७ सय वर्ष लागेको थियो । त्यसै अवस्था अहिले पश्चिम नेपालमा छ।"

महाभूकम्प कति शक्तिशाली

साधारणता एक म्याग्निट्यूड फरकमा भूकम्प जाँदा प्रतिम्याग्निट्यूडमा ३४ गुण बढी शक्ति र १० गुणा बढी कम्पन हुन्छ।

जस्तो कि भूकम्पको शक्ति ६ को भन्दा ७ मा ३४ गुण बढी र ७ भन्दा ८ मा पनि ३४ गुण नै बढी हुन्छ।

भूकम्पविद् अधिकारीका अनुसार जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पलाई नै आधार मान्ने हो भने यदि ८ दशमलव ४ म्याग्निट्यूडको भूकम्प गयो भने त्यसमा एक हजार २४ गुणा बढी शक्ति हुने र त्यसले एक सय गुण बढी हल्लाउने छ।

दुई म्याग्निट्यूड मात्र फरक हुँदा भूकम्पको शक्ति हजार गुणाले र कम्पन सय गुणाले फरक पर्ने गर्छ ।

क्षति कम गर्न के गर्ने ?

कस्तो भूकम्प जाँदा कति क्षति हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ। अनि कहाँ कति जोखिम छ भन्ने कुरा पनि पत्ता लगाउनुपर्छ।

त्यसैले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर घर तथा अन्य संरचना बनाउने हो भने क्षति कम गर्न सकिन्छ।

त्यसका लागि अब बनाउने नयाँ संरचनामा भूकम्पीय जोखिम थप्न नहुने र पहिला बनेका संरचनालाई पनि भूकम्पप्रतिरोधी बनाउनुपर्ने सुझाव भूकम्पविद्हरूको छ।

भूकम्पको जोखिमबारे एक दिन सिकाएर नहुने भन्दै उनीहरू स्थानीय तहले पाठ्यपुस्तकमा भूकम्पसम्बन्धी शिक्षा राख्नुपर्ने, भाडामा दिने घरहरू कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, भवन निर्माण आचारसंहिताको कडाइको साथ पालना गर्ने र गराउने, भूकम्पीय जोखिमको अध्ययन गर्ने, आमनागरिकले पनि आफ्नो जिम्मेवारी बोध गर्नेलगायत विषयमा ध्यान दिन सुझाउँछन्।

नागरिकसँगै राज्यले पनि भूकम्पबाट ठूलो क्षति बेहोर्नुपर्ने भएकोले सरकारले भइरहेको जोखिमलाई घटाउने र थप जोखिम हुन नदिनेतिर ध्यान दिनुपर्नेमा भूकम्पविद्हरूको जोड छ।

घर तथा अन्य संरचना निर्माणमा हेलचेक्र्याइँ गर्नु हुँदैन। अहिले सानातिना भूकम्पले पनि क्षति गरेको देखिन्छ। ठूलो भूकम्प जाँदा हुने क्षतिको अनुमान गर्न कठिन छ।

त्यसैले भूकम्पबाट हुने क्षति कम गर्न अहिलेदेखि नै नागरिक पनि सचेत र जागरूक हुनुपर्छ।

जोखिमबाट जोगिनका लागि भूकम्प प्रभावित क्षेत्रका बासिन्दा अहिले सचेत र सजग भएको पाइन्छ।

भूकम्पबाट प्रभावित नलगाड -२, जाजरकोटकी धनसरा जैसी पहिला जस्तो हेलचेक्रयाइँ नगरी ठूलै भूकम्प आए पनि नढल्ने गरी घर बनाउने बताउँछिन्।

"पहिला भूकम्पबारे खासै ज्ञान थिएन, अहिले सचेत छौँ। त्यसैले सरकारले दिने रकममा आफैँले पनि थपेर बलियो घर बनाउने सोच छ," उनले भनिन् ।

रु. १२ लाख खर्च गरेर बनाएको नयाँ घर भूकम्पले ध्वस्त बनाएपछि उनको परिवार डेढ वर्षदेखि अस्थायी टहरामा बस्दै आएको छ।

जोखिम कम गर्न सरकारको पूर्वतयारी

भूकम्पबाट हुने क्षति कमभन्दा कम गर्न सरकारले पूर्वतयारीका कामहरू गरिरहेको जनाएको छ।

विपद्सँग जुध्नका लागि स्थानीय सरकारलाई बलियो बनाउने, विपद्पछि खोज तथा उद्धारमा सघाउन स्थानीय स्तरमै तालिम प्राप्त सामुदायिक स्वयंसेवकहरू तयार पार्ने, भवन निर्माणसंहितालाई कडाइका साथ लागु गर्ने, सरकारलाई मात्र व्ययभार नपरोस् भनेर घरहरूको बीमा गर्नेजस्ता योजना सरकारले अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहसचिव भीष्म भुसालले भूकम्प प्रतिरोधी घर निर्माणमा सघाउन प्राधिकरण र सहरी विकास मन्त्रालयले दक्ष जनशक्तिलाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको बताए।

उनले भने, "२०७२ सालको भूकम्पपछि एक किसिमको जागरण ल्याउने काम त भएको छ। तर यो जागरणले मात्र हुँदैन, तीनै तहका सरकारले जगैदेखि पूर्वतयारीका काममा ध्यान दिने हो भने मात्र जोखिमको सजिलै सामना गर्न सकिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।