चीनले देखाएका अस्त्रशस्त्र र उपकरणले उसको सैन्य शक्तिबारे के सङ्केत गर्छन्

चीनमा आयोजित सैन्य परेडमा सहभागी महिला सैनिकहरू

तस्बिर स्रोत, Getty Images

    • Author, टेसा वङ
    • Role, बीबीसी न्यूज, एशिया डिजिटल संवाददाता

यो साता चीनले विशाल सैनिक परेड आयोजना गरेर कैयौँ नयाँ अस्त्रशस्त्र, ड्रोन र अरू सैन्य उपकरण प्रदर्शन गर्‍यो। धेरैले चीनको सैन्य सामर्थ्य झल्काउने उक्त कार्यक्रम संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलागि स्पष्ट सन्देश भएको ठानेका छन्।

उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी जिन्पिङको निम्तो स्वीकार गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ अनसहित नेपाली प्रधानमन्त्री केपी ओली र अन्य २० भन्दा बढी देशका सरकार प्रमुख सहभागी भएका थिए।

उत्तर कोरिया र रुस दुवै देश आर्थिक सहायतासहित विभिन्न क्षेत्रमा चीनमाथि निर्भर छन्।

उक्त परेड विश्वमञ्चमा सीको बढ्दो शक्ति र चिनियाँ सैनिकको सामर्थ्यको प्रदर्शनी थियो। चीनले परेडमा "गुआम किलर" नामक क्षेप्यास्त्र, "लोयल विङ्म्यान" नामक ड्रोन र रोबटिक 'ब्वाँसा' पनि सार्वजनिक गरेको थियो।

नयाँ अस्त्रशस्त्रको चर्चा र झिलिमिली बाहेक त्यहाँ देखिएका पाँच प्रमुख पक्ष यहाँ प्रस्तुत गरिएको छ।

१. चीनसँग धेरै अस्त्र छन्। त्यसलाई कति राम्ररी परिचालन गर्न सक्छ?

बुधवारको प्रदर्शनीबाट के प्रस्ट भएको छ भने चीनले छिट्टै विभिन्न किसिमका अस्त्रशस्त्रहरू उत्पादन गर्न सक्छ।

सिङ्गापुरको नान्याङ टेक्नोलजिकल यूनिभर्सिटीमा सैन्य रूपान्तरण कार्यक्रमका सहायक प्राध्यापक माइकल रास्काका अनुसार दश वर्ष अघिसम्म चीनले देखाउने सैन्य प्रविधि प्रायः अमेरिकी प्रविधिको "साधारण नक्कल" जस्तो देखिन्थ्यो।

तर यो वर्षको सैन्य परेडमा चीनले विशेष गरी ड्रोन र क्षेप्यास्त्रहरू जस्ता विविधतापूर्ण एवं नवीन अस्त्रहरू प्रदर्शन गर्‍यो, जसले उसको प्रतिरक्षा उद्योग अहिले कति विकसित भइसकेको छ भन्ने देखाउँछ।

प्यासिफिक फोरमका एलेक्जेन्डर नीलका अनुसार चीनको व्यापक स्रोतले उसलाई अरू विभिन्न देशभन्दा छिटो अस्त्र उत्पादन गर्न सक्षम बनाएको छ।

चीनले ती अस्त्रहरू ठूलो मात्रामा उत्पादन गर्न सक्छ, जसले युद्धमैदानमा शत्रुलाई पराजित गर्ने क्षमतामा सहयोग पुग्न सक्छ।

नील भन्छन्: "चीनले गोला-बारुद, जहाज, सबै किसिमका प्ल्याटफर्महरू उत्पादन गर्न सक्छ... राज्यले निर्देशन दिन्छ र काम अगाडि बढ्छ।"

तर चिनियाँ सेनाले कति प्रभावकारी रूपमा तिनको प्रयोग गर्न सक्छ त?

"उनीहरूले यी अत्याधुनिक प्रविधिहरू देखाउन सक्छन्, तर के तिनीहरूले त्यसलाई चाहे जस्तै प्रयोग गर्न सक्छन् त?" डा. रास्का प्रश्न गर्छन्।

त्यो सजिलो नहुने उनी तर्क गर्छन्। किनकि चीनको सेना विशाल छ र दशकौँदेखि कुनै ठूलो युद्धमा संलग्न भएको छैन।

२. अमेरिकालाई प्रतिकार गर्न चीन क्षेप्यास्त्रमा केन्द्रित

चीनले केही नयाँसहित विभिन्न किसिमका क्षेप्यास्त्रहरू प्रदर्शन गर्‍यो।

तीमध्ये दोङ्फेङ-६१ (DF-61) ले कैयौँ युद्धशीर्ष बोक्न सक्छ। दोङ्फेङ-५सी (DF-5C) अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र उत्तरी चीनबाट प्रहार गर्दा अमेरिकासम्म पुग्न सक्छ। "गुआम किलर" उपनाम दिइएको दोङ्फेङ-२६डी (DF-26D) मध्यम दूरीको क्षेप्यास्त्रले गुआमस्थित अमेरिकी सैनिक अखडासम्म मार हान्न सक्ने बताइन्छ।

चीनको सैन्य परेडमा प्रदर्शित डीएफ-६१ क्षेप्यास्त्र

चीनले पानीजहाजलाई लक्ष्य गर्ने विभिन्न 'हाइपरसोनिक' क्षेप्यास्त्रहरू पनि देखायो। तिनको गति निकै तीव्र हुन्छ र तिनले क्षेप्यास्त्र पत्ता लगाउने रेडार प्रणालीलाई पनि छल्न सक्छन्।

यस्ता क्षेप्यास्त्रमा ध्यान दिनुपर्ने एउटा कारण छ। नीलका अनुसार चीनले आफ्नो प्रतिरक्षात्मक रणनीतिअन्तर्गत क्षेप्यास्त्र र रकेटबाट सुसज्जित फौज बनाउँदै आएको छ। अमेरिकी जलसेनाको श्रेष्ठतालाई चुनौती दिनु पनि उसको उद्देश्य भएको उनी ठान्छन्।

अमेरिकी जलसेनासँग सर्वाधिक सङ्ख्यामा सैन्य विमान बोक्ने क्षमताका पानीजहाज र हवाई आक्रमण गर्न सक्षम फौज 'क्यारिअर स्ट्राइक ग्रूप' (सीएसजी) छन्। चीन त्यस्तो सङ्ख्यामा अलि पछाडि नै छ।

नीलका अनुसार पाश्चात्य प्रतिरक्षा समुदायमा सीएसजीहरू क्षेप्यास्त्र आक्रमणमा सजिलै पर्न सक्ने र तिनमा रहने सैनिकहरू बढ्दो जोखिममा भएको तर्क गर्न थालिएको छ।

बेइजिङले आफ्नो प्रतिरोधात्मक क्षमता मात्र बढाएको नभई आफूमाथि आक्रमण भए प्रतिकारमा परमाणुअस्त्र प्रहार गर्ने सामर्थ्य पनि वृद्धि गरेको उनी बताउँछन्।

चीनसँग भएको एलवाई-१ (LY-1 ) लेजर अस्त्रले विद्युतीय उपकरण निष्क्रिय पारिदिन वा जलाइदिन वा विमानचालकलाई दृष्टिहीन बनाइदिन सक्छ। चीनसँग रेडारले पत्ता लगाउन नसक्ने उन्नत लडाकु विमानहरू पनि छन्।

३. एआई र ड्रोनमा चीनको प्रगति

चीनले विभिन्न प्रकारका ड्रोनहरू देखायो। ती आर्टिफिशल इन्टेलिजन्स (एआई)बाट सञ्चालित हुन्छन्। एजेएक्स-००२ (AJX-002 ) नामक विशाल पन्डुब्बी ड्रोनतिर धेरैको ध्यानाकर्षित भएको छ।

त्यो मानवरहित वाहनलाई एक्सएलयूयूभी पनि भनिन्छ र त्यो २० मिटरसम्म लामो हुन्छ। शत्रुपक्षको चियो र निगरानी गर्न त्यसको प्रयोग हुन सक्छ।

चिनियाँ ड्रोन

चीनले रेडार प्रणाली छल्ने र हवाई आक्रमण गर्न प्रयोग गर्न सकिने जीजे-११ (GJ-11) ड्रोन पनि देखायो। विमानचालकले उडाएका फाइटर जेटहरू सँगसँगै उडेर यसले हवाई हमलामा सघाउन सक्छ।

विभिन्न प्रकारका उड्ने ड्रोनबाहेक चीनले कैयौँ "रोबटिक वुल्फ" पनि प्रदर्शन गर्‍यो। ब्वाँसाको आकृतिका भनिएका ती रोबटहरूले शत्रुपक्षको चियो गर्न, विस्फोटक पदार्थ राखेर थापिएका धराप हटाउन र शत्रुपक्षका सैनिकहरू भएको ठाउँ पत्ता लगाउन सक्छन्।

ड्रोनहरूले चीनको सैन्य रणनीति कुन दिशातिर उन्मुख छ भन्ने सङ्केत गरेका छन्। चीनले आधुनिक प्रविधिको प्रयोग बढाउन खोजेको मात्र नभई परम्परागत संरचनालाई प्रतिस्थापित गर्न खोजेको देखिन्छ।

रास्काका अनुसार चीनले युक्रेन युद्धबाट एउटा पाठ सिकेको छ - शत्रुमाथि ड्रोन प्रहार गर्ने र उसको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने।

"आक्रमणको शृङ्खलामा स्फुर्तीको ठूलो महत्त्व हुन्छ," नील भन्छन्। लडाइँमा शत्रुलाई पराजित गर्न र आफ्नो हात माथि पारिराख्न तत्काल निर्णय गर्नुपर्ने आवश्यकता भएको र एआईले त्यसो गर्न सघाउने उनी औँल्याउँछन्।

उनका अनुसार धेरै देशहरू अझै सैन्य प्रणालीमा एआईको प्रयोगबारे विश्वस्त हुन सकेका छैनन्।

रास्का चीन एआईको विषयमा स्पष्ट भएको ठान्छन्। "उनीहरू एआईलाई आफ्नो नियन्त्रणमा राख्न सकिने ठान्छन्। उनीहरू आफ्नो प्रणालीमा एआई समायोजन गर्न खोज्दै छन्," उनी भन्छन्।

सैन्य परेडमा देखाइएको एउटा रोबटिक ब्वाँसो

४. चीनसँग प्रविधि तर अमेरिका अझै अगाडि

सैन्य प्रविधिमा चीनले अमेरिकालाई भेट्ने प्रयास गरेको सङ्केत परेडमा देखिएको छ। उससँग आधुनिक अस्त्रहरूको ठूलो भण्डार बनाउने स्रोत र साधन पनि छ।

तर विज्ञहरू कारबाहीको क्षेत्रमा अमेरिका अझै अगाडि रहेको बताउँछन्।

अमेरिकी सेनामा मैदानमा खटेका सैन्य एकाइहरूसँग परिस्थिति हेरेर निर्णय गर्न र लडाइँको रणनीतिमा परिमार्जन गर्न पाउने परम्परा छ। त्यस्तो सुविधाले अमेरिकी सेना लडाइँमा बढी फुर्तिलो देखिन्छ।

चीनले प्रदर्शन गरेको मानवरहित ड्रोन जीजे-११

तर चिनियाँ सेनामा उच्चपदस्थ अधिकारी वा माथिल्लो निकायले गर्ने आदेश मान्य हुन्छ। "उनीहरूसँग आकर्षक मञ्च र प्रणालीहरू हुन सक्छन् तर माथिबाट आदेश नआएसम्म उनीहरू एउटा औँला पनि चलाउँदैनन्," उनी भन्छन्।

"चिनियाँहरू प्रविधिले प्रतिरोधात्मक क्षमता प्रदान गर्ने ठान्छन्। उनीहरू त्यसले अमेरिकालाई आफूमाथि आक्रमण गर्न रोक्ने ठान्छन ... तर कार्यगत तहमा हेर्दा केही घटनाले उनीहरू आफूले दाबी गरे जस्तो तगडा छैनन् भन्ने देखाउँछन्," रास्का भन्छन्।

उनका अनुसार केही साताअघि फिलिपिन्सको तटरक्षकहरूलाई लखेट्न खोज्दा चीनको सैन्य पानीजहाज आफ्नै साना जहाजहरूसँग ठोकिएको घटना त्यस्तो एउटा उदाहरण हो।

५. सम्भावित ग्राहकको खोजी, अमेरिकालाई आफू एक्लै नरहेको सन्देश

नीलका अनुसार दुई दर्जनभन्दा बढी देशका नेताहरू आमन्त्रित समारोह विभिन्न चिनियाँ अस्त्र र ट्याङ्क सम्भावित क्रेतालाई देखाउने ठूलो अवसर थियो।

उक्त परेडमा उपस्थित म्यान्मारजस्ता देशहरूले ठूलो परिमाणमा चिनियाँ अस्त्र किन्ने गरेका छन्। तर चीनले नयाँ ग्राहक खोजेर वा बिक्री हुँदै आएका अस्त्रशस्त्रको परिमाण बढाएर विश्वमा आफ्नो प्रभाव बढाउन सक्ने डा रास्काको धारणा छ।

विश्व नेताहरू

चिनियाँ अस्त्रका मुख्य ग्राहकमध्ये भ्लादिमिर पुटिन र किम जङ अन उक्त समारोहमा चीनका राष्ट्रपति सीसँगै उभिएका थिए।

परेडमा सँगसँगै हिँडेर र मञ्चमा पनि एकैठाउँ उभिएर ती तीन नेताले आफूहरू एउटै मोर्चामा रहेको सन्देश दिए।

त्यो अमेरिकालाई दिइएको सन्देश भएको नील मान्छन्। उनका अनुसार अमेरिकाले उनीहरूलाई साँच्चै चुनौती दिन खोज्यो भने उसले "उनीहरूसँग विभिन्न सम्भावित मञ्चमा एकैपटक लड्नुपर्ने छ - कोरियाली प्रायःद्वीप, ताइवाइन स्ट्रेस्ट र युक्रेनमा।"

"अनि तीनवटै क्षेत्रमा अमेरिकामाथि दबाव दिन खोजियो भने ऊ कम्तीमा एउटामा विफल हुन सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।