यूनाइटेड फ्रन्ट : जासुसीको विवादमा फसेको चिनियाँ कम्युनिस्ट पार्टीको 'चामत्कारिक अस्त्र'

हँसिया हथौडा अङ्कित कम्युनिस्ट पार्टीको लोगो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनको यूनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्ट (यूएफडब्ल्यूडी) कम्युनिस्ट पार्टीको एउटा शाखा हो
    • Author, को इउ र लाउरा विकर
    • Role, बीबीसी न्यूज, सिङ्गापुर र बेइजिङ्ग

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओ त्से तुङ र हालका राष्ट्रपति सी जिन्पिङका अनुसार जनवादी गणतन्त्र चीनसँग एउटा 'चामत्कारिक अस्त्र' छ।

त्यो 'यूनाइटेड फ्रन्ट वर्क डिपार्टमन्ट' (यूएफडब्ल्यूडी) हो। बेइजिङले आफ्नो सैन्य अस्त्र सामर्थ्य बढाइरहँदा त्योसँगै उक्त सङ्गठनका कारण पनि पश्चिमा विश्वमा उत्तिकै चिन्ता निम्तिएको छ।

हालै ब्रिटिश राजकुमार एन्ड्रूसँग नाम जोडिएर चर्चामा आएका एक प्रमुख व्यापारी याङ टेङ्वो, पछिल्लो पटक उक्त निकाय, यूएफडब्ल्यूडीसँग सम्बन्ध भएको आशङ्कामा निगरानीमा परेका र प्रतिबन्ध खेप्ने विदेशस्थित चिनियाँ नागरिक हुन्।

उक्त विभाग अस्तित्वमा छ भन्ने कुरा गोप्य छैन। दशकौँ पुरानो र सार्वजनिक अभिलेखमा राम्ररी रहेको चिनियाँ कम्युनिस्ट पार्टीको सो विभाग विगतमा पनि विभिन्न विवादहरूमा तानिएको छ।

अमेरिकादेखी अस्ट्रेलियासम्मका अनुसन्धानकर्ताहरूले यूएफडब्ल्यूडी एकभन्दा धेरै जासुसीका घटनामा संलग्न भएको दाबी गरेका छन्। उनीहरूले उक्त विभागलाई वैदेशिक हस्तक्षेपका लागि बेइजिङले प्रयोग गरेको आरोप लगाएका छन्।

बेइजिङले जासुसीको सबै आरोप खण्डन गर्दै तिनलाई "हास्यास्पद" भनेको छ।

यूएफडब्ल्यूडी के हो र यसले के गर्छ त?

'चीनको सन्देशलाई नियन्त्रण'

'यूनाइटेड फ्रन्ट' लाई सुरुमा बृहत् कम्युनिस्ट गठबन्धन भनिन्थ्यो। माओले दशकौँ लामो चिनियाँ गृहयुद्धमा कम्युनिस्ट पार्टीको विजयको महत्त्वपूर्ण कडीका रूपमा यसको प्रशंसा गरेका थिए।

सन् १९४९ मा युद्ध अन्त्य भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले देशमा शासन गर्न थाल्यो। त्यसपछि 'यूनाइटेड फ्रन्ट' पछाडि बस्यो र अरू नै कुरामा ध्यान दियो। तर राष्ट्रपति सीको नेतृत्वमा पछिल्लो दशकमा यूनाइटेड फ्रन्टको एक किसिमको पुनर्जागरण नै भएको छ। यूनाइटेड फ्रन्टका बारे सी को धारणा लगभग विगतको उसको स्वरूपसँग मेल खाने 'जर्मन मार्शल फन्ड'की सिनयर फेलो माराइके ओल्बर्ग बताउँछिन्। उनका अनुसार उसले "सन्दर्भ मिल्ने सबै सामाजिक शक्तिहरूसँग सम्भव भएसम्म बृहत् गठबन्धन निर्माण गर्ने" लक्ष्य राखेको छ।

बाहिरबाट हेर्दा यूएफडब्ल्यूडी शङ्कास्पद लाग्दैन। उसको आफ्नै वेबसाइट छ र उसले आफ्नै धेरै गतिविधिहरूबारे त्यहाँबाट जानकारी दिन्छ। तर उसको कामको दायरा र पहुँच स्पष्ट छैन।

ओल्बर्गले यो संस्थाका अधिकांश काम घरेलु रहे पनि यूनाइटेड फ्रन्ट ले गर्ने कामको एक महत्त्वपूर्ण लक्ष्यमा देशबाहिर बस्ने चिनियाँहरू पर्ने भनेर परिभाषित गरिएको छ।

आजको दिनमा यूएफडब्ल्यूडीले चीनले आफ्नो भूभाग भनेर दाबी गर्ने ताइवानसँग जोडिएको संवेदनशील विषयदेखि तिब्बत र सिन्जियाङमा अल्पसङ्ख्यकहरूमाथि भएका दमनजस्ता विषयमाथिका सार्वजनिक छलफललाई प्रभावित तुल्याउने प्रयास गर्छ।

उसले विदेशी सञ्चारमाध्यममा चीनबारेको भाष्य निर्माण गर्ने, देशबाहिर रहेका चिनियाँ आलोचकमाथि निशाना साध्ने र देशबाहिर रहेका प्रभावशाली चिनियाँ व्यक्तित्वसँग सम्बन्ध कायम गर्ने प्रयास पनि गर्छ।

"यूनाइटेड फ्रन्टको काम जासुसी पनि हुनसक्छ तर यो संस्थाको काम त्यो भन्दा बृहत् छ," युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाकी सहायक प्राध्यापक अड्री वोङ भन्छिन्।

उनका अनुसार विदेशी सरकारबाट गोप्य सूचना प्राप्त गर्ने गतिविधिभन्दा पनि पर गएर उक्त निकायले वृहत् ढङ्गले देशबाहिरका चिनियाँहरूको परिचालनमा आफूलाई केन्द्रित गरेको छ।

सी जिन्पिङले देशबाहिर सक्रिय चीनको अवधारणालाई बढवा दिएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सी जिन्पिङले देशबाहिर सक्रिय चीनको अवधारणालाई बढवा दिएका छन्

चीनले सधैँ यस्तो प्रभावको महत्त्वाकाङ्क्षा पालेको थियो तर हालैका वर्षमा उसले हासिल गरेको शक्तिले बेइजिङलाई त्यो अभ्यास गर्ने सामर्थ्य दिएको छ।

सन् २०१२ मा सी राष्ट्रपति बनेपछि विश्वलाई चीनबाट सन्देश दिन उनी विशेष रूपमा सक्रिय देखिएका छन्। उनले मूठभेठ निम्त्याउने 'वल्फ वारिअर' अर्थात आक्रामक किसिमको कूटनीतिक अवधारणा अपनाएका छन् र आफ्नो देशको डायस्पोरालाई 'चीनको कथा राम्रोसँग भन्न' आग्रह गरेका छन्।

यूएफडब्ल्यूडी देशबाहिरका विभिन्न चिनियाँ कम्युनिस्ट पार्टीका सङ्गठनहरूबाट सञ्चालित छ जसले देशबाहिर सक्रिय रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्छ। उनीहरूले सीसीपीको विरोध गर्ने कलाकृतिलाई सेन्सर गर्ने देखि लिएर तिब्बती धार्मिक नेता दलाई लामाका गतिविधिको विरोध गर्ने गर्दछन्। यूएफडब्ल्यूडी विदेशमा रहेका तिब्बती र उइगर समुदायमाथि धम्की दिइएका घटनामा पनि जोडिएको छ।

यूएफडब्ल्यूडीको अधिकांश काम पार्टीका अन्य निकायहरूसँग पनि खप्टिने गर्छ त्यही भएर पर्यवेक्षकहरूले उसले आफूसँग जोडिएका कामलाई कुनै कारण देखाएर अस्वीकार गर्न सकिने अवस्था रहेको बताउँछन्।

त्यही अस्पष्टताका कारण त्यसलाई लिएर धेरै शङ्का र सन्देह पाइन्छ।

जब जासुसीको अरोपका माझ प्रतिबन्ध लगाइएका व्यापारी याङले त्यसविरूद्ध पुनरावेदन गरे एउटा आप्रवासन सम्बन्धी अदालतले उनले यूएफडब्ल्यूडीसँगको आफ्नो सम्बन्धलाई कम महत्त्व दिएर प्रस्तुत गरेको उल्लेख गरेको थियो।

यूकेका अधिकारीहरूले ब्रिटेनका प्रभावशाली व्यक्तित्वसँगको आफ्नो सम्बन्धलाई उनले चिनियाँ सरकारी हस्तक्षेपका लागि प्रयोग गरेको आरोप लगाएका छन्।

याङले भने आफूले कुनै पनि गैरकानुनी गतिविधि नगरेको र जासुसीको आरोप 'पूर्णतया असत्य' रहेको टिप्पणी गरेका छन्।

राजकुमार एन्ड्रयूसँग याङ

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, ब्रिटेनका राजकुमार एन्ड्रयूसँग याङ

याङका जस्ता घटना सामान्य जस्तै बन्दै गइरहेका छन्। सन् २०२२ मा ब्रिटिश मूलकी चिनियाँ वकिल क्रिस्टिन लीलाई ब्रिटेनको गुप्तचर निकाय एमआइ फाइभले यूएफडब्लूडीको प्रयोग गरी ब्रिटेनका प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध कायम गरेको आरोप लगाएको थियो। त्यसको एक वर्ष पछि बोस्टनमा रेस्टुरा सञ्चालन गर्ने एक जना चिनियाँलाई उक्त क्षेत्रमा रहेका चीनका आलोचकहरूबारे यूएफडब्ल्यूडीलाई सूचना दिएको आरोप लागेको थियो।

र सेप्टेम्बर महिनामा न्यूयोर्क राज्यकी गर्भनर कार्यालयकी एक सहयोगी लिन्डा सुनमाथि आफ्नो पदको प्रयोग गरी चिनियाँ सरकारको स्वार्थलाई पूर्ति गरेको आरोप लागेको थियो। चिनियाँ सरकारी सञ्चारमाध्यमका विवरणमा उनले सन् २०१७ मा यूएफडब्ल्यूडीका अधिकारीसँग भेट गरेकी थिइन् जसले उनलाई 'चीन अमेरिका मित्रताको दूत' बन्न अनुरोध गरेका थिए।

महत्त्वपूर्ण र सफल चिनियाँ व्यक्तित्वहरू दलमा आबद्ध हुनु नौलो होइन। व्यापारको जगतमा उनीहरूलाई पार्टीको अनुमोदनको आवश्यकता परिरहन्छ।

तर त्यसो गर्दा प्रभाव लाद्ने र जासुसी गर्ने सीमा कहाँसम्म हुन्छ?

"प्रभाव र जासुसीबीचको सीमा एकदमै अस्पष्ट हुन्छ," जन्स हप्किन्स विश्वविद्यालयका राजनीति सम्बन्धी प्राध्यापक हो-फङ हुङ भन्छन्।

सन् २०१७ मा चीनले देशका नागरिक र कम्पनीहरूलाई जासुसी छानबिनमा सघाउनुपर्ने र चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउनुपर्ने बाध्यकारी कानुन अनुमोदन गरेपछि उक्त अस्पष्टता झनै बढेको छ। डाक्टर हुङ त्यो कदमले 'व्यवहारिक रूपमा सबैलाई सम्भावित जासुस बनाइदिएको' ठान्छन्।

चीनको राज्य सुरक्षा सम्बन्धी मन्त्रालयले नाटकीय प्रपोगान्डा भिडिओहरू सार्वजनिक गर्ने गरेको छ र त्यसमा विदेशी जासुसहरू सर्वत्र रहेका भन्दै उनीहरू 'चतुर र छल गर्ने खालका भएका' बताउने गरेको छ।

विशेष विदेश भ्रमणमा पठाइएका कतिपय विद्यार्थीहरूलाई तिनका विश्वविद्यालयले विदेशीहरूसँगका सम्पर्क सीमित राख्न र फर्किएपछि प्रतिवेदन बुझाउन भनेका थिए।

र सी विश्वमा चीनको प्रवर्द्धन गर्न प्रतिबद्ध छन्। त्यही भएर उनले पार्टीको एउटा विश्वसनीय निकायलाई देशबाहिर आफ्नो शक्ति प्रदर्शन गर्ने जिम्मेवारी दिएका छन्।

पश्चिमा शक्तिहरूका सामु यसले एउटा चुनौती थपिदिएको छ। त्यो भनेको उनीहरूले कसरी विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग आफ्ना गम्भीर सुरक्षा सरोकारहरूसँग जुझ्दै सन्तुलन कायम गर्ने भन्ने हो।

बेइजिङको बढ्दो पहुँचले निम्त्याएको भय

देशबाहिर चीनको प्रभावको वास्तविक भयका कारण पश्चिमा विश्वमा आक्रामक अभिव्यक्तिहरू आउने गरेका छन्। अधिकांश अवस्थामा के गर्ने भन्नेमा सरकारहरूमा अन्योल पनि देखा परेको पाइन्छ।

अस्ट्रेलिया जस्ता कतिपय देशले वैदेशिक हस्तक्षेप विरूद्ध ताजा कानुन जारी गरेका छन् जसले आन्तरिक मामिलामा हस्तक्षेप गर्नेलाई फौजदारी कसुर मानेको छ। सन् २०२० मा अमेरिकाले यूएफडब्ल्यूडीका गतिविधिमा संलग्नहरूलाई प्रवेशाज्ञा जारी नगर्ने नीति लिएको थियो।

त्यस्ता कदमबाट आक्रोशित भएको बेइजिङले ती कानुन र अभियोजनले द्विपक्षीय सम्बन्धमा गतिरोध निम्त्याउने चेतावनी दिएको छ।

मङ्गलवार याङबारेका प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, "चिनियाँ जासुसी गतिविधि भन्ने गरिएका आरोपहरू पूर्ण रूपमा हावादारी हुन्। चीन-यूके सम्बन्धको विकास दुवै देशको साझा स्वार्थमा आधारित छ।"

तर कतिपय विज्ञहरूले चीनको युनाइटेड फ्रन्टको टाढासम्म पुग्न सक्ने शक्ति चिन्ताजनक रहेको बताउँछन्।

डाक्टर हुङ भन्छन्, "पश्चिमा देशहरूले चीनको यूनाइटेड फ्रन्टको कामलाई अब हल्का रूपमा लिनु हुँदैन र त्यसलाई आगामी दिनमा राष्ट्रिय सुरक्षाको मात्र नभई विभिन्न प्रकारका जातिय चिनियाँ नागरिकको सुरक्षा र स्वतन्त्रतामाथिको गम्भीर खतराका रूपमा लिनुपर्छ।"

तर उनले चीन विरोधी जातिभेदविरुद्ध चनाखो हुनुपर्ने र चिनियाँ समुदायसँग विश्वास र सहकार्य अघि बढाउनुपर्ने बताए।

लन्डनमा "स्वतन्त्र तिब्बत" र "स्वतन्त्र हङकङ"को पक्षमा नाराबाजी गर्दै प्रदर्शनकारीको समूह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूएफडब्ल्यूडीमाथि कम्युनिस्ट पार्टीका आलोचकहरूलाई दबाब दिएको आरोप लाग्ने गरेको छ

अघिल्लो डिसेम्बरमा एक जना भियतनाममा जन्मिएका चिनियाँ जातीय समुदायका नेतामाथि अस्ट्रेलियामा विदेशी हस्तक्षेपको योजना बनाउनका लागि अस्ट्रेलियाका मन्त्रीसँग निकट बन्न खोजेको आरोप लगाइएको थियो।

सुनुवाइको समयमा ती व्यक्तिले एउटा परोपकारी कार्यक्रममा ती मन्त्रीको सहभागिता 'हामी चिनियाँहरू' को लागि फाइदाको विषय हुने बताएका थिए। त्यसपछि त्यो भनेको अस्ट्रेलियामा रहेको 'चिनियाँ समुदाय' हो की 'चिनियाँ मुलभूमि' मा रहेका चिनियाँहरू हो भन्ने प्रश्न उठेको थियो।

अन्त्यमा उनलाई दोषी ठहर गरी जेल सजाय सुनाइएपछि त्यसले प्रति-जासुसी कानुन र अभियोजन चिनियाँ जातीय समुदायविरुद्धको हतियार सहजै बन्न सक्ने चिन्ताहरू पनि प्रकट भएका थिए।

डाक्टर वङ भन्छन्, "सबै चिनियाँ जातिय समुदायका मानिसहरू चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुँदैनन् भनेर सम्झनु एकदमै महत्त्वपूर्ण छ। डायस्पोरा गतिविधिमा संलग्न सबै संस्थाहरू चीनप्रति पूर्ण बफादार हुँदैनन्।"

"जातका आधारमा लिइने ज्यादै आक्रामक नीतिले चिनियाँहरूलाई स्वागत गरिँदैन भन्ने चीन सरकारको प्रचारलाई वैधानिकता दिन्छ र डायस्पोरा समुदायलाई बेइजिङको अँगालोतर्फ थप धकेल्नसक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।