मुकुल ढकालबारे रास्वपाको अनुशासन आयोगले कसरी छानबिन अघि बढाउँदै छ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा मुकुल ढकालसँग जोडिएका घटना विवरण र कागजातहरूको "विश्लेषण जारी रहेको" उक्त दलको केन्द्रीय अनुसन्धान आयोगका प्रमुखले बताएका छन्।
उनकाअनुसार आयोगले गत साता ढकाललाई सोधेको स्पष्टिकरणको जवाफ उनले हालसम्म दिइसकेका छैनन्।
ढकाललाई रास्वपा केन्द्रीय समितिले बुधवार राति सात दिनका लागि निलम्बन गर्ने "सर्वसम्मत निर्णय" गरिसकेको बताइएको छ।
उनलाई "पार्टी अनुशासनविपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले" निलम्बन गरिएको रास्वपाले जनाएको छ।
ढकालले निलम्बन अघि नै सभापति लामिछानेले आफूले गरेको गल्तीलाई "ढाकछोप गर्न महामन्त्रीलाई दोष लगाएको" आरोप लगाएका थिए। निलम्बनपछि उनको प्रतिक्रिया र धारणा प्राप्त गर्नका लागि उनीसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन।
अबको प्रक्रिया के?

रास्वपाको केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटाले ढकालमाथि अनुशासन आयोगको नीति, नियम र आचारसंहिता अनुसार छानबिन अघि बढाइने बताए।
उनले भने, "प्रक्रिया स्पष्ट नै छ। एउटा स्पष्टिकरण सोधेका छौँ। त्यसको उत्तर आएपछि पूरक प्रश्न सोध्छौँ। त्यसको उत्तर आएपछि कति मिल्दाजुल्दा छन् भन्ने आधारमा के गर्ने भन्ने तय हुन्छ।"
"उहाँले उत्तर दिनु भएन भने अर्को कारबाही हुन पनि सक्छ। उहाँमाथि लगाइएका आरोपहरू कति पुष्टि हुन्छन् वा हुँदैनन् हामी अनुसन्धान गर्छौँ।"
"कस्तो कारबाही गर्नुपर्ने वा निलम्बन फुकुवा गर्नुपर्ने त्यसपछि मात्र निर्णय हुन्छ।"
निर्णय आउन कति दिन लाग्ला?
देवकोटाले भने, "अब उहाँको पक्षबाट भन्नुपर्ने कुरा के हुन् भनेर हामी अन्तिम अवसर दिन्छौँ। त्यसका आधारमा उहाँको 'पोजिसन' हेर्छौँ। त्यसमा कति सत्यता छ त्यो पनि हेरेर त्यसका आधारमा निर्णय गर्छौँ।"
उनले आयोगले अनुसन्धानको काम गरिरहेकाले चाँडै नै त्यो सकेर केन्द्रीय समितिमा सिफारिस गर्ने बताए।
उक्त दलकी सहप्रवक्ता प्रतिभा रावलले अनुसन्धानको जिम्मा अनुशासन समितिलाई दिइसकिएकाले आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले निर्णय गर्ने बताइन्।
उनका अनुसार "आयोगको सिफारिसकै आधारमा अब थप प्रक्रिया अघि बढ्छ।"
ढकाल रास्वपामा रहलान् कि नरहलान्?

तस्बिर स्रोत, FACEBOOK/MUKUL DHAKAL
बीबीसीले निलम्बनपछि ढकाल उक्त दलमा रहन्छन् कि रहँदैनन् भनेर रास्वपाका केही नेताहरूसँग कुराकानी गरेको थियो।
त्यसबारे बुझ्न ढकालसँग गरिएको पटकपटकको सम्पर्कको प्रयास भने सफल हुन सकेन।
पार्टीले उनलाई सात दिनका लागि निलम्बन गर्ने निर्णय सर्वसम्मत भएको बताइएको छ।
बुधवारको बैठकमा बोल्ने केही सदस्यले उनी बैठकमा प्रस्तुत हुँदाको शैली 'अनुपयुक्त' भए पनि उनको प्रतिवेदनमा उठाइएका विषयहरू यथार्थ भएको बताएको बुझिएको छ।
यद्यपि त्यस्तो धारणा राख्नेहरूले पनि ढकाललाई निलम्बन गर्ने निर्णयमा समर्थन जनाउँदै हस्ताक्षर गरेका बताइएको छ।
बीबीसीसँग कुराकानी गरेका केही नेताहरूका अनुसार पार्टी नेतृत्व अझै पनि सात दिनपछि उनलाई नहटाउने र पार्टीमै राख्ने "मनस्थितिमा" रहेको छ।
'अब ढकाल पार्टीमै रहने अवस्था हुन्छ कि हुँदैन?' भन्ने प्रश्नमा उक्त दलको कोशी प्रदेशका सभापति तथा केन्द्रीय सदस्य राजेश तिम्सीना भन्छन्, "मुकुलजीले के गर्नुहुन्छ। यसबीचमा करेक्टिभ मेजर्स भएमा फर्कने सम्भावना रहन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








