प्याजको भाउ फेरि बढ्यो, नेपालमा बारम्बार किन मूल्य बढिरहन्छ?

छिमेकी भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य फेरि बढेको छ।
प्रतिकिलो ६०/७० रुपैयाँमा प्याज किन्दै आएका उपभोक्ता अहिले १०० रुपैयाँ वा त्योभन्दा बढीमा किन्नु परिरहेको गुनासो गर्छन्।
काठमाण्डूको चाबहिलमा तरकारी बजारमा व्यापार गर्दै आएकी खुद्रा व्यापारी ऋतु सिलवाल तीन चार दिन यता प्याजको बिक्री गर्न निकै सजिलो भएको बताउँछिन्।
“बजारमा प्याज पाइन छोड्यो भन्ने बितिक्कै मानिसहरूले हानथाप गरेर किन्छन्। हामीले होलसेल व्यापारीबाट बोरामा उठाएर प्याज ल्याउँछौँ। अरू बेलाभन्दा अहिले तरकारी बेच्न सजिलो भएको छ,” उनले भनिन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिकरूपमा प्याज ल्याउने गरेका व्यापारीले नै प्याज ल्याउन छोडेको भन्दै दैनिक राख्ने मूल्यसूचीबाट प्याज शीर्षक हटाएको थियो।
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार कालीमाटीमा प्याज लिएर व्यापारीहरू आउन छोडेपछि मूल्यसूची नराखिएको हो।
“८०/८१ जना प्याज तथा आलु व्यापारीले बजारमा ल्याएपछि पाँचवटा मूल्यको नमुना लिएर हामीले मूल्यसूची राख्ने हो। प्याज नै नल्याएको अवस्थामा हामीले मूल्यसूची राख्न छोडेका हौँ,” उनले भने।
भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको उनी बताउँछन्।
“निर्यातमा कर लगाएपछि उता (भारतमा) किसानहरूले विरोध गरिरहेका छन् भन्ने सुनिएको छ। सायद भारतले किसानको माग अनुसार गर्यो भने यता फेरि बजार सहज हुन्छ। तर त्यसका लागि केही समय लाग्छ,” उनले भने।
व्यापारीले नै प्याज नल्याएको भन्दै मूल्यसूची नराखेको समितिले बिहीवार भने प्याजको मूल्य सूची न्यूनतम ७५ रुपैयाँ र अधिकतम ८० रूपैयाँ राखेको छ।
बजारको अनुगमन गर्दा के पाइयो?
प्याजको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको गुनासो आएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेको जनाएको छ।
विभागका निर्देशक घनश्याम सुवेदीले भदौ ४ गतेदेखि नै प्याज केन्द्रित भएर बजार अनुगमन गर्न थालिएको बताए।
"आयातकर्ता र ठूला व्यापारीलाई अनुगमन गर्दा बिल चाहिँ ६०/६५ रुपैयाँ प्रति किलो नै बनाएको पाइयो। तर खुद्रामा ८०/९० रुपैयाँ प्रति किलोमा बिक्री गरेको पनि देखियो," उनले भने।
मूल्य बढाएर बिक्री गरेको पाइएको एउटा फर्ममाथि अनुसन्धान भइरहेको बताउँदै उनले अहिलेसम्म कसैलाई कारबाही नगरेको जानकारी दिए।
भारतले निर्यातमा कर लगाउने निर्णय गर्नु अगावै बजारमा आइसकेका प्याजहरू बिस्तारै सकिन थालेको जानकारी आफूले पाएको उनले बताए।
आयात कति हुन्छ?
नेपालमा समय समयमा प्याजको अभाव भइरहन्छ। यसअगाडि गत जेठ महिनामा प्याजको अभाव भएको थियो र मूल्य पनि अकासिएको थियो।
सरकारले तरकारी आयातमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेसँगै प्याजको मूल्य भोलिपल्टैदेखि बढ्न सुरु भएको थियो।
सामान्य अवस्थामा पनि चाड नजिकिने बेला प्याजको मूल्य बढ्ने गरेको अधिकारीहरू बताउँछन्।
वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलका अनुसार नेपालमा जम्मा खपतको ९० देखि ९५ प्रतिशत प्याज आयातित हुन्छ।
"प्याजको आयात भारतबाट धेरै हुने भएकोले उसको नीतिमा परिवर्तन भएपछि त्यसको प्रत्यक्ष असर हाम्रो बजारमा देखिइहाल्छ," पौडेलले भने।

कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार वर्षैपिच्छे नेपालमा १० हजार हेक्टर जमिनमा लगाइने प्याजबाट १ लाख ६९ हजार मेट्रिक टन उत्पादन हुन्छ।
नेपालमा प्याजको उत्पादकत्व अर्थात् प्रति हेक्टर करिब १२ मेट्रिक टन उत्पादन हुन्छ। तर नेपाली बजारको माग भने ४ लाख १ हजार मेट्रिक टन रहेको जोशीले बताए।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको थियो।
त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको थियो।
किसानलाई प्याज खेतीमा किन आकर्षित गर्न सकिएको छैन?
आयातमा परनिर्भरता कम गर्दै लैजान नेपालमै उत्पादन बढाउनुपर्ने देखिन्छ।
तर त्यसका लागि सरकारले थालेको तरकारी बालीको अभियानबाट उत्पादन बढाउन नसकिएको कृषिअर्थविज्ञ पौडेल बताउँछन्।
"प्याज उत्पादनको अभियान नै चलाए पनि त्यो सफल हुनसकेको छैन," उनले भने।
उनका अनुसार प्याजको बिउ पाउनमै समस्या छ। "भारतले बिउको आपूर्ति पनि निरन्तर गर्ने गरेको छैन। त्यसले किसानलाई सहजै बेर्ना पाउन पनि समस्या छ," उनले भने।
बेर्नाको जोहो गरेर उत्पादन गरिहाले पनि आफूले फलाएका प्याज लामो समय राख्न वा बजारमा माग बढ्ने बेलासम्म जोगाउन गाह्रो छ।
भारतले तीन वर्षअघिदेखि प्याजको बिउको निर्यातमा पनि रोक लगाएको बाली विकास केन्द्रका सूचना अधिकारी जोशी बताउँछन्।
“बिउ उमार्नेदेखि उत्पादन गर्ने र त्यसलाई भण्डारण गर्ने यी सबैमा किसानलाई गाह्रो हुने हुँदा नेपालमा आयात धेरै मात्रामा घटाउन सक्ने गरी उत्पादन बढ्न सकेको छैन,” उनले भने।
प्याज लगाउने हिउँदको समयमा सिँचाइ राम्रो चाहिने र त्यो समयमा प्याज लगाउन भन्दा गहुँजस्ता अन्न लगाउन किसानलाई सहज हुने बताइन्छ।
"प्याज त नखाए पनि हुन्छ, रोटी त खानैपर्छ। अनि लागत मूल्य कम पर्ने गहुँकै खेती किसानको रोजाइमा पर्छ," जोशीले भने।
त्यसबाहेक किसानले दुख गरेर जोगाएको प्याज भारतबाट आयात हुने प्याजसँग बजारमूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा किसानहरू प्याज खेतीमा आकर्षित नहुने गरेको जोशी ठान्छन्।
"प्याज जोगाउनका लागि खुला र हावा छिर्ने ठाउँ चाहिन्छ। धेरै किसानलाई त्यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ," उनी भन्छन्।
"हामीले किसानलाई यस्तो कुराहरू सिकाउनै सकेका छैनौँ।"
उत्पादन बढाउन थालिएको अभियान किन प्रभावकारी भएन?
सरकारले विक्रम संवत् २०६६ सालबाट प्याजको उत्पादन बढाउन अभियान थालेको थियो।
नेपालमा पश्चिम रुकुमस्थित तरकारी बाली विकास केन्द्रले मात्रै प्याजको बिउ उत्पादन गर्ने बताइन्छ। उक्त केन्द्रले वार्षिक तीन सय किलो बिउ उत्पादन गर्छ जुन परिमाणले किसानको माग पूरा गर्न नसकेको जोशी बताउँछन्।
उत्पादन गरिएको बिउलाई प्रमाणित गरेर मुल बिउ बनाएपछि बल्ल किसानहरूलाई पठाउने गरिन्छ।
बिउको उत्पादन बढाउन नसक्नुमा सीमित जग्गा, जनशक्ति, बजेट बाधक बनेको उनी ठान्छन्।
त्यसबाहेक सङघीयतापछि कृषि क्षेत्रको संरचनामा आएको परिवर्तनका कारण पनि कतिपय अभियानलाई प्रभावकारी बनाउन नसकिएको वरिष्ठ कृषि अर्थविज्ञ पौडेल बताउँछन्।
विगतमा प्रत्येक जिल्लामा कम्तीमा चारवटा कृषि सेवा केन्द्र थिए। त्यहाँबाट किसानहरूले सेवा लिनसक्थे। तर सङ्घीयतापछि बनेका कृषि ज्ञान केन्द्र सबै जिल्लामा छैनन्।
वरिष्ठ कृषिअर्थविज्ञ महादेवप्रसाद पौडेलले भने, "किसानले तरकारी बाली लगाउन सरकारसँग प्रत्यक्ष सेवा लिन समस्या भइरहेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








