भारतबाट कुखुरा तस्करी किन रोकिएन, मासु खाँदा कस्तो जोखिम

मोटरसाइकलमा तस्करी हुँदै कुखुरा

तस्बिर स्रोत, DLS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

तपाईँको भान्सामा पाक्ने कुखुराको मासु कति स्वास्थ्यकर छ? कतै तपाईँले भारतबाट गैरकानुनी रूपमा भित्रिएर मरिसकेपछि काटिएका र रोग भित्र्याउन सक्ने कुखुराको मासु त किन्नुभएन?

पशु सेवा विभागले भर्खरै सार्वजनिक गरेको एउटा विवरणअनुसार उपभोक्ताले कुखुराको मासु किन्नु वा पकाउनुअघि त्यो कति स्वच्छ र स्वस्थ छ त्यो जान्न आवश्यक छ।

भारतबाट तस्करी भएर आएका कुखुराको अस्वास्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्ने गरेको पाइएको विभागले जनाएको हो।

विभागका अनुसार तस्करी गरेर भित्रिएको अधिकांश मासु खान उपयुक्त हुँदैन र त्यसले 'जूअनोटिक' रोग समेत निम्त्याउन सक्छ। पशुपक्षीबाट मानिसलाई सर्ने रोगलाइ जूअनोटिक रोग भनिन्छ।

पशु सेवा विभागले यसै साता गृह मन्त्रालयमा भएको एउटा कार्यक्रममा भारतबाट तस्करी भएर आउने कुखुरा “खोरमा आइपुग्दासम्म मरिसक्ने र त्यही कुखुरा व्यक्तिको भान्सा हुँदै मानिसको पेटमा पुग्ने” गरेको जनाएको थियो।

विभागको पशु क्वारन्टीन महाशाखाकी उपमहानिर्देशक प्रेरणा सेढाईँ भट्टराईले मरिसकेका कुखुरा काटेर प्याकिङ गर्ने अनि काठमाण्डू र अरू ठूला सहरको बजारमा पुग्ने गरेको बताएकी हुन्।

कुखुराको मासुमा आत्मनिर्भर भइसकेको भनिएको नेपालले भारतीय बजारमा कुखुरा सस्तो भएपछि मासु आयातमा रोक लगाएको थियो।

तर मासुको मूल्य नेपालमा भन्दा भारतमा सस्तो हुनेबित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।

अहिले बजार मूल्य अनुसार भारतमा भन्दा नेपालमा प्रतिकिलो कुखुरामा ५० देखि ११० रुपैयाँसम्म भाउमा फरक रहेको पर्साका व्यवसायीहरू बताउँछन्।

भारतीय कुखुरा प्रतिकिलो १५० देखि १८० भारतीय रुपैयाँसम्ममा खरिदबिक्री हुने र नेपालमा ३४० देखि ४०० नेपाली रुपैयाँ पर्ने व्यवसायीहरूले बताएका हुन्।

सीमावर्ती नाकामा निगरानी नपुग्दा अवैध रूपमा नेपाली बजारमा भारतीय कुखुराको मासु बिक्रीवितरण बढेको भन्दै व्यवसायीहरूले यसै साता गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यसरी हुने तस्करीले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको भन्दै तस्करी रोक्न नेपाल ह्याचरी उद्योग सङ्घ र नेपाल दाना सङ्घले ध्यानाकर्षण गराएको हो।

कसरी हुन्छ तस्करी?

भारतको भङ्गहा ईनर्वाबाट कुखुरा तस्करी गरेर ल्याउने एक व्यक्तिलाई पर्साको पटेर्वामा रोकिँदै

तस्बिर स्रोत, CHIRANJIVI YADAV

तस्बिरको क्याप्शन, भारतको भङ्गहा इनर्वाबाट कुखुरा तस्करी गरेर ल्याउने एक व्यक्तिलाई पर्साको पटेर्वामा रोकिँदै

खुला सीमाका कारण पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म नै कुखुरा अवैध रूपमा भित्रिने गरेको विभाग र व्यवसायीहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

“सबैभन्दा धेरै ओसारपसार हुने नवलपुर, कपिलवस्तु, रूपन्देहीसहित मधेश प्रदेश पर्ने सीमाबाट पनि त्यति नै धेरै भित्रिन्छ। सामान्यतया पूर्वदेखि सुदूरपश्चिमसम्म नै सबैजसो सीमा नाकाबाट भित्रिने गरेको पाइन्छ,” विभागकी उपमहानिर्देशक सेढाईँले बताइन्।

खासगरी भारतबाट मध्यरातमा मोटरसाइकल वा साइकलको सीटमा रड राखेर जिउँदा कुखुरा बाँध्ने अनि जाँच केन्द्रहरू छलेर कुखुराहरू भित्र्याउने गरेको पाइएको विभागले जनाएको छ।

त्यसरी भित्र्याइएका करिब ९० प्रतिशत कुखुरा मोटरसाइकलमै मरिसक्ने र बाँकी खोरमा पुर्‍याउँदा मरेको पाइएको सेढाईँ बताउँछिन्।

“त्यसरी तस्करी गरेर ल्याइएका कुखुरा राखिएका खोरमा गएर हेर्दा सबै कुखुरा मरिसकेका थिए। त्यही मरिसकेको कुखुरालाई काटेर वा सिङ्गै प्याक गरेर काठमाण्डूलगायत ठूला सहरमा पठाइने गरेको पाइएको छ,” उनले भनिन्।

के गर्दै छ सरकार?

गृह मन्त्रालय

तस्बिर स्रोत, MoHA

गृहमन्त्री, गृह मन्त्रालयका अधिकारी र सुरक्षा निकायका पदाधिकारी तथा पशु सेवा विभागका अधिकारीको ध्यानाकर्षण गराएपछि गृह मन्त्रालयले भारतबाट हुने कुखुराको अवैध आयात रोक्न मङ्गलवार निर्देशन दिएको छ।

मन्त्रालयले सीमास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखुराको आयात नियन्त्रण गर्न र गस्ती बढाउन निर्देशन दिएको हो।

सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, वधशाला, ह्याचरी र कोल्डस्टोरहरू हटाउन र भन्सार तथा क्वारन्टीनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कति भित्रिन्छ, कति नष्ट गरिन्छ?

विभिन्न सहरमा आपूर्तिका लागि तयार पारिदै कुखुराको मासु

तस्बिर स्रोत, DLS

विभागअन्तर्गत रहेका क्वारन्टीन चेकपोस्ट र प्रहरी प्रशासनले भारतबाट गैरकानुनी रूपमा भित्रिने कुखुरा नियन्त्रणका लागि लामो समयदेखि प्रयास गर्दै आएका छन्।

चेकपोस्ट छलेर गैरकानुनी रूपमा भित्रिने कुखुरा हुन्छ भन्ने निर्क्योल गर्न नसकिए पनि ठूला बजारमा समेत आपूर्ति हुने हुँदा ठूलो मात्रामा भित्रिने विभाग र व्यवसायीले जनाएका छन्।

अवैध रूपमा भित्र्याइएका कुखुरा भेटिए प्रहरीको सहायतामा क्वारन्टीन कार्यालयहरूले नष्ट गर्ने गरेका छन्।

पशु सेवा विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९।८० मा क्वारन्टीन कार्यालयहरूबाट प्रहरीको सहयोगमा गैरकानुनी रूपमा ओसारपसार भएका ३५,५०० ब्रोइलर कुखुरा, ७१,५०० चल्ला, झन्डै ४,००० केजी कुखुराको मासु र खन्डै एक लाख १५,००० वटा अण्डा नष्ट गरिएको थियो।

तस्करी भएका मासुले निम्त्याउने जोखिम कस्तो?

तस्करी गरेर भित्रिने मासुमा ताजाको जस्तो गुण नहुने र त्यसले स्वास्थ्यलाई हानि पनि गर्न सक्ने विज्ञहरूको भनाइ छ। त्यस्तो मासुले खास गरी दुईवटा जोखिम निम्त्याउने विभागकी उपमहानिर्देशक प्रेरणा सेढाईँ भट्टराई बताउँछिन्।

“रोग ल्याउने सम्भावना हुन्छ। नेपालमा बर्डफ्लू भित्रिएको आयातित कुखुराबाट नै हो,” उनले भनिन्।

त्यसबाहेक मरिसकेको कुखुरा र जिउँदो कुखुरा वा जनावरलाई मारेर मासु निकाल्दा त्यसको गुण निकै फरक हुन्छ। “मासु काट्दा त्यसबाट रगत निस्किनुपर्छ। मरिसकेको कुखुरा काट्दा त्यति रगत निस्किँदैन र त्यसको प्रयोग गर्न मिल्ने समयावधि पनि कम हुन्छ,” उनले भनिन्।

उनका अनुसार जिउँदो कुखुरा काटेर आउने मासु जति स्वास्थ्यकर हुन्छ मरिसकेको कुखुरा काटेर बेच्दा त्यति नहुने वैज्ञानिक कारण छ।

कसरी चिन्ने ताजा मासु?

मरिसकेको कुखुराको मासु खाँदा जूअनोटिक रोग भित्रिन र फैलिन सक्छ। त्यसैले आफूले किन्न लागेको मासु ताजा हो कि होइन त्यो उपभोक्ताले कसरी छुट्ट्याउन सक्छन् त?

“मरिसकेको कुखुराको मासु हेर्दा चिन्न सकिन्छ। छाती नीलो वा कालो देखिन्छ। मासु र छाला पनि रातो हुन्छ,” विभागकी उपमहानिर्देशक प्रेरणा सेढाईँ भट्टराई भन्छिन्।

“जिउँदो कुखुरा काटेर बेच्न राखेको मासु चाहिँ छाला सेतो हुन्छ।”

मासु उपयोग गर्न योग्य छ छैन भनेर जाँच्न नेपालभरि आठवटा क्वारन्टीन कार्यालय र २८ वटा क्वारन्टीन चेकपोस्ट स्थापना छन्। तर जनशक्तिको अभावका ती सबै सञ्चालनमा नरहेको बताइन्छ।

सफा गरिँदै कुखुराको मासु

तस्बिर स्रोत, DLS

के भन्छन् स्थानीय कुखुरापालक?

मधेश प्रदेशका जिल्लासँग जोडिएका भारतीय सीमाबाट धेरै तस्करी हुने गरेको छ।

पर्साका विभिन्न नाका हुँदै ल्याउन लागिएका जिउँदा कुखुरा र चल्ला र मरेको कुखुराको मासु बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताएका छन्।

बुढाथोकी भन्छन्, “पर्साको खास गरी ग्रामीण भेगका नाकाबाट यो गतिविधि धेरै मात्रामा हुने गरेको छ। खुल्ला सिमानाका कारण रोकथाममा प्रयास हुँदै आए पनि चुनौती छ।”

पर्साको निचुटा, मजहरिया, रङ्गपुर, मानवा, डकैला लगायतका विभिन्न स्थानमा भारतीय कुखुरा बिक्री भइरहेको बताइन्छ।

बाह्र वर्षदेखि पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ निचुटा मजहरियामा कुखुरा फार्म सञ्चालन गरेका रामजी यादवले तस्करीका कारण कुखुरा फर्म नै बन्द हुने अवस्थामा पुगेको बताएका छन्।

“गाउँमा हामीले उत्पादन गरेको कुखुरा नभई भारतबाट आएको कुखुरा बिक्रीमा राखेको देखिन्छ। मजस्ता धेरै कुखुरापालक मर्कामा परेका छौँ। प्रत्येक वर्ष लाखौँ खर्च गरेर उत्पादन गर्‍यो, बिक्री हुने बेला घाटा बेहोर्नुपर्छ। कति कुखुरापालकले त फार्म बन्द पनि गरिसके,” उनले भने।

तस्करी किन नियन्त्रण हुन सकेन?

सीमानाकामा चहलपहल कम भएका बेला बिहान सबेरै वा दिउँसै पनि आफूले भारतबाट नेपालतर्फ कुखुरा ल्याउँदै गरेको दृश्य सजिलै देख्ने गरेको कुखुरापालक यादव बताउँछन्। 

तीन वर्षअघि कुखुरा तस्करीकै कारण ठूलो घाटा बेहोर्नुपरेको भन्दै पोल्ट्री फार्मका सञ्चालकहरूले सीमानाकाहरूमा आफैँ निगरानीमा बसेर रोकथामको प्रयास गरेका थिए।

धेरै तस्करी हुने भनिएका क्षेत्रहरूमा गएर प्रहरी तथा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए पनि चुस्त अनुगमन र निगरानी हुन नसक्दा तस्करी नियन्त्रण हुन नसकेको व्यवसायीहरू बताउँछन्।

नेपालकै मानिसहरू सक्रिय नभई तस्करी सम्भव नहुने भन्दै त्यसलाई अनुगमन गर्न सके मात्रै नियन्त्रण सम्भव हुने नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी बताउँछन्।

नियन्त्रणमा लिइएको तस्करी गरिएका कुखुरा

तस्बिर स्रोत, DLS

नाकाहरूमा हुने निगरानीमा खटिएका केसीले कुखुराको मासु र अण्डाको तस्करी नियन्त्रण हुन नसकेको कारणबारे बताउँदै भने, “पशु सेवाको क्वारन्टीन सक्रिय भएर प्रहरीलाई पनि निषेधित वस्तु भनेर रोक्ने किसिमको पहल हुनुपर्ने हो। तर त्यस्तो कमै देखिन्छ। त्यो प्राथमिकतामा पनि नपरे जस्तो छ।”

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चाहिँ पुरानो कानुनका कारण पनि नियन्त्रण हुन नसकेको बताउँछन्।

उनले भने, “तस्करी रोक्न पशु सेवा अन्तर्गतको क्वारन्टीनमा बस्ने कर्मचारी र सुरक्षा निकायको बलियो पहल हुनुपर्‍यो। त्यसका लागि सरकारले कडा कानुन बनाएर अधिकार प्रत्यायोजन गर्नुपर्‍यो।”

सजायको व्यवस्था कस्तो छ?

अहिले कार्यान्वयनमा आइरहेको कानुन निकै पुरानो भएको र त्यसले तोक्ने सजाय र जरिवाना निकै कम भएको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको व्यवसायीहरू बताउँछन्।

पशु सेवा विभागको तथ्याङ्कअनुसार अवैध रूपमा ओसारपसार भएका पशुपक्षी, पशुपक्षीजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरू नष्ट गरी दण्ड जरिवानाबापत गत आर्थिक वर्षमा करिब ५९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

क्वारन्टीन सञ्चालन गर्ने पशु सेवा ऐनअनुसार चेकपोस्टको बाटो छलेर पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको पैठारी गर्नेलाई २५,००० रुपैयाँसम्म र त्यस्ता पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीमा सङ्क्रामक रोग पाइएमा त्यसको दोबर जरिवाना हुने व्यवस्था छ।

त्यस्तै सरकारले प्रतिबन्ध लगाएका पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको पैठारी गर्नेलाई १०,००० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तर गैरकानुनी ओसारपसार र आयातकार्ता वा निर्यातकर्तालाई गरिने दण्ड सजाय र जरिवाना रकम निकै कम हुँदा र कर्मचारी सङ्ख्या कम हुँदा नियन्त्रणका लागि चुनौती भएको विभागले जनाएको छ।

जनशक्ति कम हुँदा सुरक्षा निकायको अनुरोधमा आफूहरू गस्तीमा सहभागी हुन पनि कठिन हुने विभागका अधिकारीहरू बताउँछन्।

त्यसबाहेक गैरकानुनी कारोबारमा तत्काल कारबाही गर्ने र ढुवानी साधनको लिलामी गर्ने अधिकार विभागलाई नहुँदा पनि नियन्त्रणमा कठिनाइ भएको विभागले जनाएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।