के नेपाल विद्युत् प्राधिकरणले जाडोयाममा लोडशेडिङ गर्न लागेको हो

तस्बिर स्रोत, Getty Images
चिसो बढेसँगै केही दिनयता ठाउँठाउँमा झ्यापझ्याप बत्ती जान थालेपछि कतिपयले फेरि लोडशेडिङ हुन थालेको हो कि भन्ने आशङ्का गर्न थालेका छन्।
विगत छ महिनासम्म भारतलाई बिजुली निर्यात बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले अहिले त्यताबाट आयात गरी आन्तरिक माग पूरा गरिरहेको छ।
यो क्रम जाडोयाम नसकिएसम्म जारी रहने प्राधिकरणका अधिकारीहरूको अनुमान छ।
यो वर्ष विद्युत् प्राधिकरणले जेठको अन्तिमदेखि मङ्सिर २५ गतेसम्म भारतलाई बिजुली निर्यात गरेको थियो।
नेपालले केही वर्षदेखि भारतलाई प्रायः बर्खायामभरि बिजुली बेच्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन्।
उनका अनुसार गत ६ महिनाको अवधिमा नेपालले भारतलाई ११ देखि १२ अर्ब रुपैयाँ बराबरको बिजुली बेचेको छ।
नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् कारोबार गर्ने गरेको छ।
माग र आपूर्ति कस्तो छ?
प्रवक्ता भट्टराईका अनुसार नेपालमा अहिले करिब ३२,००० देखि ३३,००० मेगावाट आवर माग रहेको छ।
“अहिले हामीले भारतबाट बढीमा ८,००० मेगावाट आवर आयात गरिरहेका छौँ। करिब ७५ प्रतिशत माग हाम्रो आफ्नै ऊर्जाबाट पूरा भएको छ,” बीबीसीसँग उनले भने।
नेपालले अहिले भारतका रामनगर, टनकपुर, मुजफ्फरपुर र रक्सौलबाट बिजुली आयात गरिरहेको छ।
नेपालले बजार भाउमा हुने उतारचढावअनुसार फरकफरक दरमा भारतबाट बिजुली किन्दै आएको छ।

तस्बिर स्रोत, Getty Images
“कहिले ५ रुपैयाँ ५२ पैसा प्रतियूनिट, कहिले ६ रुपैयाँ भने कहिले ४ रुपैयाँ ९१ पैसा पनि पर्ने गरेको छ,” प्रवक्ता भट्टराईले भने।
अहिले 'पीक आवर' अर्थात् बिजुली अत्यधिक खपत हुने समयमा १,७५० मेगावाट माग हुने गरेको छ।
पानी पर्यो भने अझ १५० मेगावाटले बढेर १,९०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको अनुमान छ।
“पानी परेपछि चिसो बढेर माग बढ्दा काठमाण्डू र तराईमा पनि चाप पर्छ,” प्राधिकरणका प्रवक्ताले बताए।
बत्ती किन जान्छ?
जाडो महिनामा उपभोक्ताले बिजुली उपभोग गर्ने प्रवृत्तिमा परिवर्तन हुने गरेको प्राधिकरणका उपनिर्देशक भोलानाथ शर्मा बताउँछन्।
यो बेला उपभोक्ताहरूले एकैचोटि हीटर बाल्ने वा एसी चलाउने जस्ता गतिविधि गर्छन्।
त्यो हुँदा कैयौँ ठाउँमा ट्रान्सफर्मरमा ठूलो भार पर्छ। त्यसो हुँदा कतैकतै तार जल्ने समस्या देखा पर्छ।
त्यसो हुँदा काठमाण्डू उपत्यकाका केही स्थानमा आगलागीका घटना पनि भएको प्राधिकरणका कर्मचारी बताउँछन्।
“कहिलेकाहीँ ह्वात्तै लोड बढ्दा फीडरमा समस्या आउँछ। त्यो कारणले पीक समयमा बत्ती जान्छ,” बीबीसीसँग शर्माले भने।
अरू बेला सडक मर्मत हुँदा अथवा ट्रान्सफर्मर नै बनाउँदा वा परिवर्तन गर्दा बत्ती काट्ने गरिएको अधिकारीहरू बताउँछन्।
प्राधिकरणका अनुसार हाल औसतमा नेपालको १,८०० मेगावाटसम्म विद्युत् उत्पादन क्षमता छ।
जलाशययुक्त कुलेखानी आयोजनाको विद्युत् समेत जोड्दा उत्पादन क्षमता १,९०० मेगावाटको हाराहारीमा पुग्छ।


के फेरि लोडशेडिङ हुन लागेको हो?
कतिपयले यसपालि हिउँदयाममा लोडशेडिङ हुन सक्ने आशङ्का गरिरहँदा विद्युत् प्राधिकरणका अधिकारीहरूले त्यस्तो सम्भावना नरहेको बताएका छन्।
अहिले लोडशेडिङ गर्ने अवस्था र आवश्यकता दुवै नरहेको प्रवक्ता सुरेशबहादुर भट्टराईको दाबी छ।
“लोडशेडिङको च्याप्टर नै बन्द भइसक्यो। त्यो अब कल्पना मात्र हो। केही मान्छेको हावादारी गफ मात्र हो,” उनले थपे।
प्रवक्ता भट्टराईका अनुसार औद्योगिक ग्रिडमा समेत प्राधिकरणले अहिले विद्युत् आपूर्ति कटौती गर्नुपरेको छैन।
“प्राविधिक समस्या पर्दा कहिलेकाहीँ हामी औद्योगिक क्षेत्रहरूमा खपत हुने बिजुलीको परिमाण घटाइदिन आग्रह गर्छौँ।"
"राति कतै तार चुँडियो भने हामी त्यसो गरिदिन भन्छौँ।”










