तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलद्वारा लेबननमा हमला, हिज्बुल्लाहद्वारा सयौँ रकेट प्रहार
इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ।
इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ।
उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ।
हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ। लेबननको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जनाएको छ।
संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।
बदलामा गरिएको आक्रमण
आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, “आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।”
इजरेलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ।
त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरेलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो।
आइतवार बिहानै उत्तरी इजरेलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए।
इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।
तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ।
संयुक्त राज्य अमेरिकाले इजरेललाई आफ्नो समर्थन रहने दोहोर्याएको छ।
हिज्बुल्लाहले इजरेलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ।
उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ।
हिज्बुल्लाहले दक्षिण लेबननको खियाममा आफ्ना एकजना लडाकुको मृत्यु भएको पुष्टि गरेको छ।
उक्त समूहले ती व्यक्तिको कुन अवस्थामा मृत्यु भएको खुलाइएको छैन। तर लेबननको स्वास्थ्य मन्त्रालयले उक्त सहरमा इजरेलले गरेको आक्रमणमा एउटा कार परेको र त्यसमा एक जना व्यक्तिको मृत्यु भएको जनाएको थियो।
हिज्बुल्लाहले लेबनन र दक्षिणको प्रतिरक्षामा आफ्नो राष्ट्रिय र जिहादी दायित्व पुरा गर्ने क्रममा ती व्यक्ति मारिएको जनाएको थियो।
लेबननको मन्त्रालयले तीनजनाले इजरेली आक्रमणमा ज्यान गुमाएको बताएको छ।
हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरेलमाथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ।
आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ।
उसले तीनलाई विफल बनाउन 'आइरन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा क्याबिनेटको आपत्कालीन बैठक डाकिरहेको जनाएका छन्।
नेतन्याहूको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्री योआभ गालान्टले तेलअबिबमा रहेको आईडीएफको सैन्य शिविर परिस्थितिलाई ‘व्यवस्थापन’ गरिरहेको जनाएका छन्।
इजरेलका विदेशमन्त्री इजरेल कात्सले आफ्नो मुलुकले उक्त क्षेत्रमा ‘पूर्ण स्तरको युद्ध’ नचाहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा इजरेली विदेश मन्त्रालयले इरानको नेतृत्वमा रहेको ‘सैतानहरूको समूह’ बाट आफ्नो ‘नागरिक र भूगोलको रक्षा गर्नका लागि’ कदम चालिरहेको जनाएको छ।
त्यसमा विकसित भइरहेका घटनाक्रमलाई ध्यान दिएर इजरेल अघि बढ्ने भनिएको छ।
तेल अबिबमा मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षा सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहूले आफूहरूलाई चोट दिने जोसुकैलाई आफूहरूले पनि चोट दिने नीति अङ्गीकार गरेको बताए।
उनले हिज्बुल्लाहले इजरेलमाथि आक्रमण गर्ने तयारी गरिरहेको थाहा पाउने बित्तिकै सेनाले सक्रिय रूपमा जोखिम हटाउन काम गरेको बताए।
आईडिएफले जोखिमहरू विफल तुल्याउन व्यापक रूपमा काम गरेको भन्दै उनले देशको उत्तरलाई निशाना बनाएका हजारौँ रकेटहरूलाई ध्वस्त पारिएको र प्रतिरक्षा र आक्रमण दुवैमा उच्च शक्तिका साथ सेना क्रियाशील रहेको बताए।
यसैबीच हिज्बुल्लाहले एउटा विज्ञप्तिमा इजरेलमाथिको ड्रोन हमला फुआद शुकरको ‘शाहदत’को बदला भएको बताएको छ।
उक्त सिया समूहका वरिष्ठ सैन्य कमान्डर जुलाईमा इजरेलले गरेको हवाई हमलामा लेबननको राजधानी बेइरुतमा मारिएका थिए।
इजरेल र लेबननमा रहेको लडाकु समूहबीच गएको वर्ष गाजा स्ट्रिपमा हमाससँगको युद्ध सुरु भए यता नै तनावहरू भइरहेको छ। हमासजस्तै हिज्बुल्लाहलाई पनि इरानको समर्थन छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।