वृद्धावस्थामा स्वस्थ रहन बेलैमा गर्न सकिने उपाय के के छन्

तस्बिर स्रोत, Sandy Huffaker for The Washington Post via Getty Images
- Author, मार्गरिटा रोड्रिगेज
- Role, बीबीसी मुन्डो
अन्ठानब्बे वर्षीया एलआरलाई मेडिकल जाँचका निम्ति पहिलोपल्ट भेट्दा मुटुरोग विशेषज्ञ डा एरिक टोपोलको ध्यान एउटा विषयले खिच्यो।
उनीसँग कोही आफन्त नभएको देखेपछि टोपोलले उनलाई कसरी स्वास्थ्य केन्द्रसम्म आइपुगेको भनेर सोधे।
"उनी आफैँ गाडी हाँकेर आएकी रहिछन्," उनले बीबीसीलाई भने। "ती असाधारण रूपमा जीवन्त, स्वस्थ महिलाबारे मैले धेरै कुरा जान्न पाएँ। उनको सामाजिक सम्पर्क सञ्जाल विस्तृत रहेछ तर एक्लै रमाएर बस्दिरहिछन्।"
अमेरिकाको विख्यात मेडिकल अनुसन्धान केन्द्र स्क्रिप्स रिसर्च ट्रान्सलेशनल इन्स्टिट्युटका संस्थापक तथा निर्देशक डा टोपोल एक परिचित वैज्ञानिक एवं लेखक हुन्।
उनले पछिल्लो समय हामीमध्ये कोही किन धेरै लामो र स्वस्थ जीवन बाँच्छौँ भनेर त्यसको पछाडिको विज्ञानको अध्ययन गरिरहेका छन्।
डा टोपोलले मानिसहरूलाई उनीहरूले पहिलेदेखि सुन्दै आएका कुरा वा झुटा विज्ञानमा विश्वास नगर्न चेतावनी दिँदै त्यसको उदाहरण पनि दिए। "एन्टि एजिङ् सप्लिमेन्ट (वृद्धावस्था आउन नदिने भनेर प्रचारित तत्त्व) जसको कुनै डेटा छैन, अनि कुनै वैज्ञानिक आधारविना बेचिने थेरापी वा उपचारविधि।"
"सायद कुनै दिन हाम्रासामु जादुमयी चक्की [जसले हामीलाई स्वस्थ ढङ्गले वृद्धावस्थामा पुग्न सघाउँछ], हुने छन्। तर आजको दिनसम्म त्यस्तो केही छैन," उनले भने।
उसो भए स्वस्थ वृद्धावस्था हासिल गर्न वैज्ञानिक आधारप्राप्त त्यस्तो रहस्य के होलान्?
अनुवंशको भूमिका

तस्बिर स्रोत, Getty Images
सन् २००७ मा डा टोपोल र उनको टोलीले ६ वर्ष लगाएर अमेरिकाका ८० वर्ष वा सोभन्दा माथिका खासै कुनै स्वास्थ्य समस्या नभएका करिब १४ सय मानिसहरूको 'जीनोम सिक्वेन्सीङ्' गरे।
"यस्ता मानिस भेट्टाउन मुस्किल पर्छ: कहिल्यै बिरामी नभएका [उल्लेखनीय वा दीर्घ रोग नलागेका], कुनै [लामो समय] औषधि खानु नपरेका अनि ८५ वर्षभन्दा माथिका," डा टोपोलले भने।
'सुपर-एजर्स' भनिने त्यस्ता मानिसहरूको समूहको अध्ययन गर्दा टोलीले उनीहरू किन त्यति स्वस्थ भए भन्नेबारे तिनको अनुवंशमा खासै जबाफ भेटेनन्।
उक्त अध्ययन प्रकाशित भइसकेपछि डा टोपोलले ९८ वर्षीया एलआरलाई भेटेका थिए। त्यसैले अध्ययनको 'डेटा प्वाइन्ट' मा उनी सामेल छैनन् तर आफ्नो पछिल्लो काममा डा टोपोलले उनको कथा सामेल गरेका छन्।
परिवारको इतिहासमा चाँडै मृत्यु भएका घटना भएतापनि स्वस्थ ढङ्गले वृद्धावस्थामा पुगेको उदाहरणका रूपमा डा टोपोलले एलआरलाई औँल्याउँछन्।
"यी मानिसहरू जो गजबसँग स्वस्थ ढङ्गले वृद्धावस्थामा पुग्छन्, शताब्दी उमेरसम्म पुग्छन्, समग्रमा उनीहरूको परिवारमा त्यही प्रवृत्ति देखिँदैन," डा टोपोलले भने।
"सायद यसमा केही आनुवंशिक तत्त्व होला तर यो नै मुख्य भने होइन।"
आफ्ना परिवारमा चाँडै मृत्यु भएका वा दीर्घ रोगहरू देखा परेका मानिसहरूका निम्ति स्वस्थ वृद्धावस्थाका लागि अनुवंश निर्णायक नहुने भन्ने विषय सायद रुचिकर होला भन्ने डा टोपोल ठान्छन्।
'इन्फ्लामेजिङ्'

तस्बिर स्रोत, Getty Images
अध्ययनका निचोडहरूका आधारमा डा टोपोलले एउटा अवधारणा विकास गरे जसअनुसार 'सुपर-एजर्स'हरूलाई उमेरसँग जोडिएका रोगहरूसँग सम्बन्धित दीर्घ सुजन कमै हुने गर्छ।
वास्तवमा सुजन हुनु भनेको सङ्क्रमण, चोटपटक वा विषाक्त पदार्थसँग जुझ्ने शरीरको स्वाभाविक तथा स्वस्थ प्रतिक्रिया हो।
तर जब सुजनले शरीरलाई लामो समयसम्म प्रभाव पार्छ त्यसले मुटु सम्बन्धित तथा न्युरोडिजनरेटिभ जस्ता गम्भीर रोगहरू निम्त्याउने युनिभर्सिटी कलेज लण्डनको इन्स्टिट्युट अफ हेल्दी एजिङ् (आईएचए)का अनुसन्धान निर्देशक प्राध्यापक डेभिड जेम्सले बताए।
यो प्रक्रियालाई 'इन्फ्लामेजिङ्' भनिने उनले बताए।
"दीर्घ सुजनको समस्या भनेको कुनै काम गर्न आएका निर्माण श्रमिक कहिल्यै फर्केर नगएजस्तो हो। ती हरहमेसा रहन्छन् र ठूलै समस्या बन्दिन्छन्," उनले भने।
एक अवधारणाअनुसार आधुनिक जीवनशैलीले सुजनलाई बढावा दिइरहेको छ, हाम्रो शरीरको प्राकृतिक विकासक्रम र अहिलेको जीवनशैलीबीच रहेको भिन्नताका कारण।
"प्राकृतिक रूपमा हेर्दा हामी खाद्य अभाव भइरहने संसारका निम्ति बनेका हौँ," जेम्सले भने।
"जतिखेर पनि टन्न खानेकुरा उपलब्ध भइरहने समयका लागि हाम्रो शरीर पटक्कै बनेको होइन। खासगरी प्युरिफाइड फुड कन्स्टिच्युएन्ट्सयुक्त उच्च मात्रामा चिल्लो पदार्थ भएका खानेकुरा।"
मोटोपनाले सुजनमार्फत् मधुमेह, डिमेन्सिया तथा मुटुरोग निम्त्याउने प्राध्यापक जेम्सले बताए।
तपाईँ सुजन कसरी घटाउन सक्नु हुन्छ?

तस्बिर स्रोत, Getty Images
डा टोपोलका अधिकांश सुझावहरू हामीहरूले यसअघि देखि नै पाउने गरेका सरसल्लाह जस्तै छन्।
वनस्पतिजन्य वा मेडिटरेनिअन खानपान उनी सुझाउँछन् जसमा अधिक फलफूल र सागसब्जीहरू पर्छन्।
पर्याप्त अनि गुणस्तरीय निद्रा अपरिहार्य छ।
"हरेक रात हाम्रा मस्तिष्कमा मेटाबोलाइट्स भनिने फोहर पदार्थ पैदा हुन्छन् जुन साँच्चिकै विषाक्त अनि सुजन गराउने खालका हुन्छन्। तिनलाई हालसालै पत्ता लागेको ग्लिम्फाटिक च्यानल भनिने माध्यमबाट शरीरले बाहिर निकाल्नु जरुरी हुन्छ," डा टोपोलले भने।
ग्लिम्फाटिक च्यानल सन् २०१२ मा पत्ता लागेको हो। यसले मस्तिष्कबाट फोहर पदार्थ फाल्ने कार्य गर्छ। ती पदार्थलाई यसले सुरुङ् जस्ता मार्गबाट बाहिर निकाल्छ। पछिल्ला अध्ययनहरूका अनुसार यो प्रणाली खासगरी निदाएको समयमा सक्रिय हुन्छ।
"हामीलाई पर्याप्त गहिरो निद्रा परेन भने ती फोहोर पदार्थ निष्काशित हुँदैनन्, र तिनले मस्तिष्कमा सुजन पैदा गर्ने अवसर पाउँछन्। त्यसैले न्युरोडिजनरेटिभ रोगहरूको रोकथाम गर्न हामीलाई गहिरो निद्रा निकै आवश्यक पर्छ," उनले भने।

तस्बिर स्रोत, Getty Images
पर्याप्त शारीरिक व्यायाम गर्न पनि उनले सुझाव दिएका छन्।
"यदि त्यो औषधि हुन्थ्यो भने, मेडिकल दुनियाँकै सबभन्दा ठूलो चामत्कारिक औषधि मानिन्थ्यो," उनले बीबीसीलाई भने।
छिटोछिटो हिँड्ने वा साइकल चलाउने कार्यलाई उनले एरोबिक व्यायामका उत्कृष्ट उदाहरण बताए। त्यसका साथै 'बल तथा सन्तुलन' प्रशिक्षणजस्ता अन्य किसिमका व्यायामका बारे पनि सोच्न उनले सुझाव दिए।
"धेरै गर्नु पर्छ भन्ने छैन। जुनसुकै गतिविधि अलि दिगो ढङ्गले गर्दा मद्दत मिल्छ।"

तस्बिर स्रोत, Getty Images
सामाजिक अन्तर्क्रिया गरिरहने अनि एक्लै नबस्ने बानीले डिमेन्सियाको जोखिम कम गराउने पाइएको छ तर यसको असर कति हुन्छ भन्ने बारे चाहिँ वैज्ञानिकहरूबीच मतैक्य छैन।
सन् २०२० को ल्यान्सेट कमिशनको अनुमानमा 'सामाजिक एक्लोपना' निर्मूल गर्ने हो भने विश्वभरि डिमेन्सिया ४ प्रतिशतले घट्छ।
युनिभर्सिटी अफ सिड्नीले अस्ट्रेलिया, उत्तर अमेरिका, युरोपका कैयन् देश, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका विभिन्न १३ वटा अन्तर्राष्ट्रिय अध्ययनहरूको विश्लेषण गरेको छ। उसले खासमा कस्ता सामाजिक अन्तर्क्रियाको असर सबभन्दा धेरै हुन्छ भनेर हेरेको छ।
"हामीले पायौँ कि बारम्बार – मासिक वा साप्ताहिक – परिवार तथा मित्रजनसँग हुने अन्तर्क्रिया वा कसैसँग कुराकानी गर्न पाइरहँदा डिमेन्सियाको जोखिम घट्छ। साथै अरूसँग बस्दा वा सामुदायिक गतिविधिमा संलग्न हुँदा मृत्युको जोखिम कम पार्छ," युनिभर्सिटी अफ सिड्नीले गरेको अध्ययनका एक लेखक डा सुरज साम्तानीले भने।
अल्जाइमर्स रोगले मस्तिष्कमा पार्ने प्रभावसँग जुझ्न सामाजिक सम्पर्कले मद्दत गर्ने ठानिन्छ। यसले व्यायाम जस्ता स्वास्थ्यवर्धक बानीलाई प्रबर्धन गर्नुका साथै तनाव तथा सुजन घटाउने अल्जाइमर्स सोसाइटी यूकेले जनाएको छ।
डा टोपोलले एलआरलाई एक उत्तम उदाहरण भने।
"उनी प्रफुल्ल मुद्रामा हुन्छिन् जसले धेरै सामाजिक अन्तर्क्रियामा सघाउँछ। उनको धेरै थरी बानी पनि रहेछ - तेल चित्र बनाउने अनि उनले पुरस्कारहरू पनि जितेकी रहिछन्।"
"हामीले पनि त्यस्तै कामना गर्नु पर्छ: स्वस्थ वृद्धावस्थाका निम्ति।"
'गेम चेन्जर'

तस्बिर स्रोत, Sandy Huffaker for The Washington Post via Getty Images
भविष्यमा आर्टिफिसल इन्टेलिजन्सको सहायतामा डाक्टरहरूले ठूलो मात्राका डेटाहरू अध्ययन गरेर उमेरजन्य रोगको सही अनुमान र रोकथाम गर्न सक्ने उनको अपेक्षा छ। एउटा व्यक्तिलाई कुन उमेरमा पुगेर त्यस्ता रोग लाग्न सक्ने भनेर अनुमान गर्न सकिने अनि त्यसअघि नै जीवनशैलीमा परिवर्तन गरेर रोकथाम गर्न सकिने स्थितिको अपेक्षा उनको छ।
"हामी रोग लाग्नु भन्दा लाग्नै नदिने अवस्थाबारे कुरा गरिरहेका छौँ। वा एकपटक हृदयाघात भइहाले दोस्रोपटक हुन नदिने," उनले भने।
यस किसिमको जोखिम विश्लेषणलाई डा टोपोलले आमूल परिवर्तनकारी वा "गेम चेन्जर" को संज्ञा दिए। प्राध्यापक जेम्स चाहिँ यस्ता सूचना उपलब्ध भए तापनि मानिसहरूलाई तिनका जीवनशैलीलाई व्यापक परिवर्तन गर्न भन्नु कत्तिको यथार्थपरक होला भनेर सोच्छन्।
"तपाईँ भन्न सक्नुहुन्छ, किन सबैले उचित खानपान गर्दैनन्? राम्रो पोषण लिनुहोस्, स्वस्थ खानेकुरा खानुहोस्, जिम जानुहोस्, हिँडडुल गर्नुहोस् आदि भन्न सक्नु हुन्छ। तर अधिकांश मानिसका निम्ति यो सब गर्ने फुर्सद नै हुँदैन," उनले भने।
"मलाई लाग्दैन हामी कुनै अचूक उपायको संघारमा छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








