बाइडनलाई प्रोस्टेट क्यान्सर : उपचारका निम्ति उपलब्ध विकल्प र रोगको अवस्थाका बारे थाहा पाउनु पर्ने कुरा

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति जो बाइडनलाई प्रोस्टेट ग्रन्थिको क्यान्सर भएको र त्यो उग्र गतिमा फैलिने खालको भएको पत्ता लागेको छ। क्यान्सर उनको हड्डीसम्म पुगिसकेको छ।
मूत्रप्रणालीमा समस्या देखा परेपछि परीक्षण गराउन जाँदा गत शुक्रवार उनलाई क्यान्सर भएको थाहा भएको थियो।
हामीले यहाँ प्रोस्टेट ग्रन्थिको क्यान्सर र उपचारविधिबारे थाहा पाउनुपर्ने कुरा प्रस्तुत गरेका छौँ।
प्रोस्टेट क्यान्सर के हो
यो क्यान्सर पुरुषहरूको प्रजनन प्रणालीमा मात्र हुने 'प्रोस्टेट' ग्रन्थिमा हुन्छ। वीर्य बनाउन सघाउने यो ग्रन्थि लिङ्ग र मूत्रथैलीको बीचमा हुन्छ।
एनएचएसका अनुसार यो क्यान्सर निकै सुस्त गतिमा फैलिने हुँदा प्रायः वर्षौँ पनि क्यान्सर भएको थाहा नहुन सक्छ। अर्थात् केही मानिसलाई दशकौँ उपचारको आवश्यकता नपर्न सक्छ। तर क्यान्सर निकै फैलिसकेपछि मात्र लक्षणहरू देखा पर्न थाल्छन्।
मूत्रप्रणालीमा समस्या देखा परेपछि मात्र बाइडनमा क्यान्सर भएको पत्ता लाग्यो। प्रायः धेरै मानिसमा यस्तै हुन्छ। प्रोस्टेट ग्रन्थिको आकार बढेर मूत्रनली थुनिन थालेपछि मात्र मानिसहरूमा त्यस्तो लक्षण देखिन्छ।
प्रोस्टेट क्यान्सर भएका मानिसलाई बारम्बार पिसाब फेर्नुपर्ने हुन्छ र उनीहरूको मूत्रप्रणाली सुस्त वा कमजोर हुन्छ।
बराक ओबामा राष्ट्रपति हुँदा ह्वाइट ह्वाउसमा चिकित्सक रहेका जेफ्री कुल्मनका अनुसार पदासीन राष्ट्रपतिलाई प्रोस्टेट क्यान्सर भएको छ कि छैन भनेर नियमित जाँच गरिन्छ।
अमेरिकामा क्यान्सरका कारण हुने मृत्युमध्ये फोक्सोको क्यान्सरपछि प्रोस्ट्रेट क्यान्सर ठूलो कारक भएको अमेरिकन क्यान्सर सोसाइटीले जनाएको छ।
अमेरिकन क्यान्सर सोसाइटीले यो वर्ष अमेरिकामा प्रोस्टेट क्यान्सर भएका तीन लाख नयाँ बिरामी थपिने अनुमान गरिएको छ। प्रत्येक आठमध्ये एक पुरुषमा आफ्नो जीवनकालमा प्रोस्टेट क्यान्सर निदान हुने सम्भावना हुन्छ।
असी वर्ष वा त्योभन्दा बढी उमेरका पुरुषमा प्रोस्टेट क्यान्सर देखा पर्नु "असामान्य नभए पनि" बाइडनको शरीरमा भएको क्यान्सरको श्रेणी र चरण चाहिँ निदान हुँदा देखिनेभन्दा "निकै उन्नत" भएको मेडस्टार हेल्थसँग आबद्ध यूरोलजिस्ट डा र्यान क्लिएरीले बीबीसीलाई बताए।

'ग्लीसन स्कोर' के हो
जो बाइडनमा देखिएको प्रोस्टेट क्यान्सर "ग्लीसन स्कोरमा ९ अङ्कको भएको" जानकारी उनको कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत् दिएको छ।
ग्लीसन स्कोर भनेको क्यान्सर बढ्ने र फैलिने सम्भावना कति रहन्छ भनेर ठहर गर्ने सबैभन्दा प्रचलित उपाय हो।
विशेष गरी यसले माइक्रोस्कोपबाट हेर्दा क्यान्सरका कोषहरू कति हदसम्म असामान्य देखिन्छन् भन्ने जनाउँछ।
यो स्केलको मापन ६ देखि १० सम्म हुन्छ र धेरै अङ्कले त्यसै अनुरूप चर्को अवस्थामा रहेको क्यान्सर भन्ने बुझाउँछ।
अङ्क ६ बाट सुरु हुनु भनेको बिरामीमा पाइने क्यान्सर कोषहरूको दुई सबैभन्दा धेरै देखिने लक्षणहरूको संयुक्त अवस्थालाई लिएर गरिने गणनाका कारण हो। क्यान्सरग्रस्त कोषहरूलाई दिइने सबैभन्दा कम अङ्क ३ हो। त्यसैले ग्लीसन स्कोरको सुरुको बिन्दु ६ हुन्छ।
बाइडनको जस्तो ग्लीसन स्कोर ९ हुनु भनेको क्यान्सर "माथिल्लो स्तरको क्यान्सर" देखिएको अवस्था हो। अङ्क ९ भएका क्यान्सरका कोषहरू एकदमै असामान्य देखिन्छन् र तिनीहरू छिटो बढ्ने सम्भावना हुन्छ।
बाइडनसँग उपचारका कस्तो विकल्प उपलब्ध छ
बाइडनको हकमा क्यान्सर उग्र प्रकृतिको भएको र त्यो उनको हड्डीसम्म फैलिसकेको भनिएको छ।
डा जमिन विनोद ब्रह्मभट ओर्लान्डो हेल्थ मेडिकल ग्रूपमा यूरोलजिस्टका रूपमा कार्यरत छन्। उनी भन्छन् बाइडनमा जुन स्तरमा क्यान्सर फैलिएको भनिएको छ त्यसमा उपचारका विकल्पहरू सीमित हुन्छन्।
उनका अनुसार कीमोथेरपी, स्टेरोइड र होर्मोन थेरपीजस्ता औषधिमा आधारित उपचारका उपायहरू छन् तर ती कुनै पनि "क्यूरेटिभ" अर्थात् रोग निमट्यान्नै पार्ने प्रकृतिका उपचार होइनन्।
" विरामीको अवस्था स्थिर तुल्याउने र क्यान्सरलाई नियन्त्रण गर्ने अन्य औषधीय विकल्पहरू पनि छन् तर तिनले क्यान्सरबाट पूर्ण रूपमा छुट्कारा भने दिलाउँदैनन्।"
बाइडनमा देखिएको क्यान्सर होर्मोनप्रति संवदेनशील रहेको पनि बताइएको छ। त्यसको अर्थ क्यान्सरले बढ्न र अझ फैलन होर्मोनको प्रयोग गर्ने गर्छ।
यस्तो प्रकारको क्यान्सरको व्यवस्थापन शरीरमा होर्मोनको मात्रा घटाउने वा होर्मोनलाई रोक्ने औषधिहरूको प्रयोगबाट गर्न सकिन्छ।
डा ब्रह्मभटका अनुसार यो जानकारीबाट बाइडनको उपचारका लागि उपलब्ध उपायहरूको एक प्रकारको "उपचार बाकस" नै खोलिदिन्छ तर उपचारप्रति उनले कस्तो प्रतिक्रिया जनाउँछन् भनेर थाहा पाउन "हप्तौँ वा महिनौँ" पनि लाग्न सक्छ।
डा कुल्मन भन्छन् बाइडनका सामु "चर्को रोगहरूका लागि उपलब्ध चिकित्सकीय परीक्षण" को चरणमा प्रवेश गर्ने विकल्प पनि हुन सक्छ।
बाइडन र उनको परिवाजनले आफ्ना सामु उपलब्ध उपचारका विकल्पहरूका बारेमा विचार विमर्श गरिरहेको बुझिएको छ।
बाइडन निको हुने सम्भावना के छ
बाइडनलाई देखिएको क्यान्सर होर्मोनप्रति संवेदनशील हुने प्रकारको रहेकोले यसमा "उपचारको प्रभावकारी व्यवस्थापन" को अवसर पनि रहेको आइतवार जारी गरिएको विज्ञप्तिमा बाइडनको कार्यालायले जनाएको छ।
बाइडनको रोगका विषयमा विस्तृत कुरा थाहा भएको छैन। डा क्लिएरली भन्छन्: सामान्यतया यस्तो चरणको 'मेटास्टाटिक क्यान्सर'का विरामीहरूमध्ये एकतिहाइजति पाँच वर्षपछि पनि जीवितै रहिरहन सक्छन्।"
प्रोस्टेट क्यान्सर निकै फैलिसकेको चरणमा पुगेको अवस्थामा त्यसले बिरामीको आयुलाई सीमित त पारिदिन्छ नै, त्यसका लक्षणहरूका कारण दैनिक जीवन पनि कष्टकर हुन जान्छ।
डा कुल्मनका अनुसार उग्र प्रकृतिको क्यान्सरको उपचार "१० देखि १५ वर्षसम्म" चल्न सक्छ। त्यस्तो उपचार बाइडनको हकमा आगामी केही वर्षसम्म उनको जीवन सहज बनाउन सक्ने उपचारविधि चयन गर्नु महत्त्वपूर्ण हुने उनको भनाइ छ।
"यो घटनाबाट केही शिक्षा लिने हो भने लक्षणहरू देखिएको भए पनि नभए पनि शङ्का लाग्नेले आफ्नो स्वास्थ्य परीक्षण गराइहाल्नु उपयुक्त हुन्छ," ," डा ब्रह्मभट भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








