अमेरिकी राष्ट्रपतिद्वारा आफ्ना छोरालाई औपचारिक रूपमा क्षमादान

जो बाइडन र हन्टर बाइडन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जो बाइडन र हन्टर बाइडन
    • Author, सोफिया फरैरा सान्तोस
    • Role, बीबीसी न्यूज

अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान जारी गरेका छन्।

एक विज्ञप्तिमा राष्ट्रपतिले आफ्ना छोरालाई "एक्ल्याइएको" भन्दै बाइडनले उनका मुद्दालाई "न्यायको एक गर्भपात" भन्ने संज्ञा दिए।

"मैले कार्यालय सम्हालेको दिनदेखि मैले न्याय मन्त्रालयको निर्णय प्रक्रियामा दखल पुर्‍याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ," उनले भने।

आफैसमेत अपराधी प्रमाणित राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यस क्षमादानलाई न्यायको दुरूपयोग र गर्भपात बताए।

हन्टर बाइडन सेप्टेम्बरको सुरुमा कर मामिलामा दोषी ठहरिएका थिए। त्यसैगरी जून महिनामा उनी गैरकानुनी रूपमा बन्दुक किनेको र आफ्नो लागु औषध प्रयोगबारे झुटो बोलेकोमा दोषी ठहरिएका थिए।

त्यससँगै उनी अपराधमा दोषी ठहरिने पहिलो बहालवाला राष्ट्रपतिका सन्तान बनेका थिए।

राष्ट्रपति बाइडनले के भने?

राष्ट्रपतिले यसअघि आफ्नो छोरालाई क्षमादान नदिने बताए पनि अहिले पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन्।

गत सेप्टेम्बरमा मात्र ह्वाइटहाउसका प्रेस सेक्रेटरीले बाइडनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए।

तर आइतवार साँझ बाइडनले आफूले न्याय प्रणालीमा विश्वास गर्दा गर्दै पनि "राजनीतिले यस प्रक्रियालाई सङ्क्रमित पारिदिएको र त्यसले न्यायको गर्भपात गराएको" बताए।

"मैले यस सप्ताहन्तमा यसलाई थप ढिलो गर्नुको अर्थ नभएको नभएको भन्दै यस निर्णय गरेँ," बाइडनले थपे।

"एक बुवा र एक राष्ट्रपति किन यस निर्णयमा पुग्यो भन्ने कुरा अमेरिकीहरूले बुझ्नेछन् भन्ने मलाई विश्वास छ।"

हन्टर बाइडनको प्रतिक्रिया

त्यसको प्रतिक्रियामा जारी गरिएको विज्ञप्तिमा हन्टर बाइडनले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई "सार्वजनिक रूपमा शोषण र अपमानित" गर्न प्रयोग गरिएको जनाएका छन्।

"मलाई आजको दिन दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन र अझै बिरामी र पीडामा रहेकालाई सहयोग गर्नमा मैले पुनर्स्थापित गरेको जीवन समर्पित गर्नेछु," ५४ वर्षीय हन्टर बाइडनले थपे।

सेप्टेम्बरमा हन्टर सङ्घीय कर अपचलनमा दोषी ठहर भएका थिए, त्यसको सजाय तोक्न बाँकी छ त्यसमा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइन्छ।

जून महिनामा बन्दुक खरिदसम्बन्धी अर्को अभियोगमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो।

ती मुद्दामा सजाय तोक्ने दिन १२ र १६ डिसेम्बरमा तय गरिएको थियो।

उनको कानुनी तनाव उनका बुवाको राष्ट्रपतीय निर्वाचनको चुनावी अभियानमा कालो बादल जसरी देखा परेको थियो। यद्यपि राष्ट्रपति बाइडन चुनावी अभियानबाट पछि हटेर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेसँगै जुलाईमा त्यस बाटो अन्त्य भएको थियो।

कमला ह्यारिस रिपब्लिकन डोनल्ड ट्रम्पसँग पराजित भइन्। ट्रम्पले सन् २०२५ को २० ज्यानुअरीमा पद सम्हाल्दैछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।