नेदरल्यान्ड्ससँगको पहिलो भेटमा नेपाली महिला क्रिकेट टोली २० रनले पराजित

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

घरेलु टोली नेपाललाई २० रनले पराजित गर्दै नेदरल्यान्ड्सले महिला टी२० आई अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ।

महिला क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच भएको यो पहिलो खेल हो।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला फील्डिङ रोज्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले चार विकेटको क्षतिमा १५७ रन बनाई नेपालसमक्ष कडा चुनौती पेस गरेको थियो। जबाफमा नेपाली टोली सात विकेटको क्षतिमा १३७ रनमा सीमित हुन पुग्यो।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले महिला क्रिकेट टोलीको लागि आयोजना गरेको यो पहिलो त्रिदेशीय शृङ्खला हो, जसबाट महिला टोलीको प्रदर्शन सुधारिने आयोजकले अपेक्षा गरेको छ।

नेपालको सुस्त ब्याटिङ

नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य भेट्टाउन आएको नेपालले सुरुदेखि नै सङ्घर्ष गर्‍यो।

ओपनर सीता रानामगरले धैर्यपूर्ण ब्याटिङ गर्दे एकातर्फ सङ्घर्ष गरिरहँदा अर्कातर्फ बारम्बार विकेट झर्न थालेपछि नेपाली टोली विजय लक्ष्यबाट टाढिँदै गएको देखिएको थियो।

सीताले जम्मा २८ रन बनाइन्।

मध्यक्रममा पूजा महतोले १४ बलमा दुई छक्कासहित आक्रामक २४ रन तथा सातौँ नम्बरमा आएकी कविता जोशीले दुई छक्कासहित १७ बलमा २७ रन बनाउँदा खेल रोमाञ्चक बन्न पुगेको थियो।

तर त्यतिन्जेल नेपाललाई ढिलो भइसकेको थियो।

यसअघि कप्तान इन्दु वर्मा सात रन, सम्झना खड्का नौ रन, कविता कुँवर आठ रन र रुबिना क्षेत्री ११ रन बनाएर आएट भएका थिए।

आक्रामक नेदरल्यान्ड्स

नेपालको फील्डिङ गर्ने निर्णयलाई गलत साबित गर्दै नेदरल्यान्ड्सका महिला खेलाडीहरुले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेका थिए।

ओपनर फेबे मोल्केन्बोर शून्य रनमा आउट भए पनि अर्की ओपनर स्टिर कालिसले २९ रन बनाइन्।

टोलीका लागि मध्यक्रमकी रोबिन रिकेको ५९ रनको अर्धशतक महत्त्वपूर्ण रह्यो। उनले ४८ बलमा आठ चौका हानेकी थिइन्। हेटर सिगेर्सले २३ रन बनाइन्।

तर आरिस विलिङले १३ बलमा पाँच चौका हान्दै अविजित ३१ रन बनाएपछि टोली उच्च स्कोरतर्फ अगाडि बढेको थियो।

नेपालले अन्तिम पाँच ओभरमा ६२ रन खर्चिनु महँगो साबित हुन पुगेको थियो।

नेपालका लागि कविता कुवँर, पूजा महतो, सीता रानामगर र ईश्वरी बिष्टले एकएक विकेट लिएका थिए।

त्रिदेशीय शृङ्खला

नेपाल, नेदरल्यान्ड्स र थाईल्यान्ड सम्मिलित महिला टी२०आई शृङ्खलामा हरेक टोलीले एकअर्कासँग तीनतीन खेल खेल्ने छन्।

महिला टी२०आई विश्व वरीयतामा नेपाल २० औँ, थाईल्यान्ड १३ ‍‍औँ र नेदरल्याण्ड्स १६ औँ स्थानमा छ।

नेपालले माघ १९ गते थाईल्यान्डसँग, माघ २० गते नेदरल्यान्ड्ससँग, माघ २२ गते थाईल्यान्डसँग, माघ २३ गते नेदरल्यान्ड्ससँग र माघ २५ मा थाईल्यान्डसँग खेल्ने तालिका छ।

सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुने छन्। दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।

सबै खेल सकिएपछि अङ्कतालिकामा अगाडि रहने टोली च्याम्पिअन हुने छ।

दुई नेपाली खेलाडीको डेब्यु

यसैबीच दुई नेपाली खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा पाइला टेकेका छन्।

उनीहरू विकेटकीपर अलिसाकुमारी यादव र स्पिनर मनीषाकुमारी उपाध्याय हुन्।

विकेटकिपर अलिसा यू-१९ महिला टोलीकी महत्त्वपूर्ण सदस्य हुन्।

भर्खरै मलेशियामा सम्पन्न यू-१९ टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेकी उनी सिनिअर टोलीका लागि पनि पहिलो रोजाइमा परेकी छन्।

त्यसैगरी स्पिनर मनीषा भने गत साता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० प्रतियोगितामा सर्वाधिक विकेटकर्ता बनेपछि उनको राष्ट्रिय टोलीको ढोका खुलेको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।