हिज्बुल्लाहद्वारा नयाँ नेताको नाम घोषणा, लेबननमा इजरेली हमला जारी

तस्बिर स्रोत, Reuters
लेबननी उग्रवादी समूह हिज्बुल्लाहले गत महिना बेइरुतमा इजरेले गरेको हवाई हमलामा आफ्ना नेता हसन नस्रल्लाह मारिएपछि उनका उत्तराधिकारीको नाम घोषणा गरेको छ।
नस्रल्लाह विभिन्न देशद्वारा आतङ्कवादी सङ्गठन घोषित उक्त समूहको नेतृत्वमा लामो समयदेखि थिए।
हिज्बुल्लाहका नयाँ नेताको नाम नयिम कासिम हो। यसअघि उनी उक्त समूहका उपमहासचिव थिए।
हिज्बुल्लाहलाई इरानले समर्थन गर्दै आएको छ।
हालैका दिनमा इजरेलले सो समूहका धेरै शीर्ष नेताहरूलाई मारिदिएपछि कासिम हिज्बुल्लाहका जीवित नेतामध्ये वरिष्ठ हुन्।
इजरेली सैन्य कारबाही जारी

तस्बिर स्रोत, Getty Images
इजरेलले लेबननमा सैन्य कारबाही जारी राखेकै समयमा हिज्बुल्लाहले आफ्नो नयाँ नेता छानेको हो।
सोमवार राति लेबननको बेका उपत्यकामा भएको इजरेली हवाई हमलामा ६० जनाको मृत्यु भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यहाँको बेल्बाक क्षेत्रका विभिन्न १६ स्थानमा हमला भएको अधिकारीहरूले बताएका छन्।
ज्यान गुमाउनेमध्ये दुई जना बालबालिका भएका र अन्य ५८ जना घाइते भएका बताइएको छ।
बेइरुतमा रहेका बीबीसी संवाददाता ह्यूगो बशेगाका अनुसार इजरेलले हमला गरेका स्थानमा भग्नावशेषहरूमा आपत्कालीन उद्धार टोलीहरूले जीवित हुन सक्ने मानिसको खोजी गरिरहेका छन्।
बाल्बेकका गभर्नर बशिर खोदरका अनुसार गत महिना इजरेलले हिज्बुल्लाहविरुद्ध हमलालाई सघन पारेपछि अहिले सो क्षेत्रमा “सबैभन्दा हिंसात्मक आक्रमण” भएको हो।
हिज्बुल्लाह किन निसानामा

तस्बिर स्रोत, Getty Images
सिरिया, इराक र इरानतर्फको बाटोमा पर्ने बेका उपत्यका रणनीतिक महत्त्वको स्थान हो। त्यस क्षेत्रमा हिज्बुल्लाहको बलियो उपस्थिति रहेको ठानिन्छ।
विगत पाँच सातादेखि इजरेलले लेबननभरि हजारौँ हवाई हमलाहरू गरिसकेको छ। हमलाको निसानामा "हिज्बुल्लाहका कार्यकर्ता, भौतिक पूर्वाधार र अस्त्र" भएको इजरेलको दाबी छ।
हमासले सन् २०२३ को अक्टोबर ७ तारिखमा इजरेलमा गरेको आक्रमणको भोलिपल्टै प्यालेस्टिनीहरूको समर्थनमा भन्दै उक्त लेबननी समूहले उत्तरी इजरेलमा रकेटहरू प्रहार गर्न थालेको। त्यसयता इजरेल र हिज्बुल्लाहबीच सीमावारपार सङ्घर्ष चर्किएको छ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस क्रममा अहिलेसम्म लेबननमा २,७०० जना मारिनुका साथै १२,४०० जना घाइते भएका छन्।
द्वन्द्व नाटकीय रूपमा चर्किने गरी गत सेप्टेम्बर ३० तारिखमा इजरेलले दक्षिणी लेबननमा स्थल अतिक्रमण थालेको थियो।
लेबननको सरकारले द्वन्द्वका कारण हालसम्म १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित हुनुपरेको बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








