तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनका नयाँ विदेशमन्त्री मध्यरातपछि किन बाङ्लादेश उत्रिए?
चीनका नयाँ विदेश मन्त्री किन गांग गएको सोमवार आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत अफ्रिका जाँदै गर्दा मध्यरातपछि बाङ्लादेशको शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए।
त्यहाँ बाङ्लादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग उनको लगभग एक घण्टा कुराकानी भयो।
चीनका विदेशमन्त्रीको बाङ्लादेशमा अचानक रोकिनुपर्ने कारण इन्धनको कमी भन्ने बताइएको छ।
उनी बाङ्लादेशमा रोकिएको बेला भएको भेटलाई अनौपचारिक भनिएको छ।
तर चीनका विदेश मन्त्री एउटा त्यस्तो समयमा बाङ्लादेशमा पुगेका छन् जति बेला ढाकास्थित रुस तथा अमेरिकी दूतावासबीच द्वन्द्व चलिरहेको खबर आइरहेको छ।
बाङ्लादेशस्थित चिनियाँ दूतावासका प्रवक्ताले सोमवार किन गांग मन्त्री भएपछि आफ्नो पहिलो वार्षिक विदेश यात्राअन्तर्गत अफ्रिका जान लागेको बताएका थिए।
लगातार ३३ वर्षदेखि चीनका विदेश मन्त्री आफ्नो पहिलो विदेश भ्रमणको सुरुवात अफ्रिकाबाट गर्दै आएका छन्।
चीनका विदेश मन्त्रीको अफ्रिका भ्रमण चीनको व्यापक अफ्रिकी नीतिको हिस्सा भएको बताइन्छ।
चीनका लागि बाङ्लादेश किन महत्त्वपूर्ण छ?
अन्तर्राष्ट्रिय सम्बन्धबारेका विश्लेषकले अफ्रिकाको महत्त्वपूर्ण भ्रमणकै बेला चीनका विदेश मन्त्री बाङ्लादेशमा रोकिनुले नै चीनका लागि बाङ्लादेश कति महत्त्वपूर्ण हुँदै गएको छ भन्ने देखाउने बताए।
चीनमा रहेका बाङ्लादेश का राजदूत मुंशी फैज अहमद चीनका विदेश मन्त्री बाङ्लादेशमा केही समयका लागि रोकिनुले एउटा खास सङ्केत गरेको बताउँछन्। तर विषय यति मात्रै होइन।
एउटा सवाल यो पनि हो कि कुनै अर्को बाटोबाट जानुको सट्टा उनी किन बाङ्लादेश नै हुँदै गए भन्ने पनि हो।
अहमदका अनुसार चीनका विदेश मन्त्री त्यसरी रोकिनुले बाङ्लादेशसँग जोडिएको मुद्दालाई उनीहरूले गम्भीरतापूर्वक हेर्छन् भन्ने पनि हो।
चीन बाङ्लादेशको सबैभन्दा ठूलो आर्थिक साझेदार हो।
ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी प्राध्यापक लैलुफर यास्मीन भन्छिन्, “केही दिन पहिला मिडियामा भनिएको थियो कि रुस र अमेरिकाबीच शीतयुद्धको कारण बाङ्लादेश हो किनभने बाङ्लादेश चीनका लागि भूराजनीतिक नजरबाट धेरै महत्त्वपूर्ण छ।”
बाङ्लादेशको तर्फबाट पनि फरक फरक ढङ्गले चीनको महत्त्व देखाइएको छ।
यास्मीन भन्छिन्, "यस्तो प्रयासलाई विभिन्न यात्रा र सम्बन्धबाट बुझ्न सकिन्छ।"
बाङ्लादेश त्यस्ता क्षेत्रलाई महत्त्व दिन खोजिरहेको छ जहाँ उसको आवश्यकता छ। यसका साथै चीन पनि बाङ्लादेशको आवश्यकतामाथि ध्यान दिइरहेको छ।
यास्मीनलाई लाग्छ कि चीनका विदेश मन्त्रीको यो यात्रा सामरिक हिसाबले पनि धेरै महत्त्वपूर्ण छ।
उनले भनिन्, “हामी बाँकी विश्वलाई विश्वास दिलाउन चाहन्छौँ कि बाङ्लादेश चीनका लागि पनि महत्त्वपूर्ण छ।”
चीन-बाङ्लादेशबीच के कुरा भयो?
विमानस्थलमा भएको बैठकपछि विदेशमन्त्री एके अब्दुल मोमदले संवाददातासँग बोल्दै चीनले बाङ्लादेशलाई करिब ८२ लाख कोभिड खोप दिएको उल्लेख गरे।
बाङ्लादेश चीनलाई करिब ८० करोड डलर बराबरको सामान निर्यात गर्छ। त्यस्तै चीनले पनि बाङ्लादेशबाट करिब १३ अर्ब डलर बराबरको सामान आयात गर्छ।
विदेशमन्त्री मोमेनले चीनले कैयौँ परियोजनामा बाङ्लादेशलाई मद्दत गरिरहेको र त्यसमा पद्म सेतु र रेल परियोजना पनि रहेको बताए।
चीनका विदेशमन्त्रीले आफूलाई चीन आउन निम्तो दिएको र आफूले त्यसअगाडि चीनले बाङ्लादेशको औपचारिक भ्रमण गर्न आग्रह गरेको मोमेनले बताए।
त्यही बेला आफ्नो मुद्दाबारे कुराकानी गर्नेबारे आफूले बताएको पनि उनले उल्लेख गरे।
यसरी कुनै पनि विदेशमन्त्री वा राष्ट्रपति अचानक बाङ्लादेशको विमानस्थलमा रोकिएको यो पहिलो पटक हो।
प्राध्यापक यास्मीन भन्छिन्, “चीनको विदेश मन्त्रालयले पदभार सम्हालेदेखि नै बाङ्लादेशलाई महत्त्व दिएको थियो। यसबाट यो बुझ्न सकिन्छ कि चीनको दक्षिण एसियाली समीकरणमा बाङ्लादेश कति महत्त्वपूर्ण छ।"
यास्मीनले केही समय पहिला दुनियाभरि नै शुरू भएको गतिशील कूटनीतिमा चीन माहिर रहेको बताइन्। उनले यो अनौपचारिक रूपमा भएको भ्रमणले चीनको यस्तो खालको कूटनीतिक गतिविधिलाई तीव्र पार्ने प्रयास भनी व्याख्या गरिन्।