अमेरिकामा सिख नेताको हत्या प्रयासः आरोपित भारतीयद्वारा अदालतमा दोष अस्वीकार

निखिल गुप्ता

तस्बिर स्रोत, Reuters

संयुक्त राज्य अमेरिकामा एक सिख पृथक्तावादी नेताको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ परेका भारतीय नागरिक निखिल गुप्ताले सोमवार न्यूयोर्कस्थित एउटा अदालतमा आफू निर्दोष रहेको दाबी गरेका छन्।

चेक गणतन्त्रबाट यो सप्ताहान्तमा अमेरिका सुपुर्दगी भएका गुप्तालाई सोमवार अदालतमा पहिलो पटक पेस गरिएको थियो। उनी गत वर्ष चेक रिपब्लिकमा पक्राउ परेका थिए।

अमेरिकामा गुप्तामाथि खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नुनको हत्या गर्न "गोली हान्ने व्यक्ति" परिचालन गर्ने प्रयास गरेको अभियोग लागेको छ।

गुरपतवन्त सिंह पन्नुन अमेरिका र क्यानडा दुवै देशको नागरिकता भएका व्यक्ति हुन्।

अदालतमा के भयो

अदालतमा उनीविरुद्धको अभियोगपत्र वाचन नगरी न्यायाधीश जेम्स कटले गुप्तालाई आफ्नो दलिल पेस गर्न भनेका थिए।

उनको पक्षबाट बोल्दै उनका एक वकिलले गुप्ता "दोषी नभएको" दाबी गरे।

अभियोजनकर्ताहरूले सुनुवाइ नसकिँदासम्म उनलाई हिरासतमा राख्नुपर्ने माग गरे।

गुप्ताका वकिलहरूले उनलाई जमानतमा रिहा गर्न पछि निवेदन दिइने बताएका छन्। त्यसको अर्थ अहिलेका लागि उनी थुनामै रहने छन्।

गुरपतवन्त सिंह पन्नुन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तस्बिरमा देखिएका गुरपतवन्त सिंह पन्नुनसँग अमेरिका र क्यानडाको दोहोरो नागरिकता छ

सुनुवाइपछि गुप्ताका वकिल जेफ श्याब्रोले यो मुद्दा भारत र अमेरिका दुवैका लागि जटिल विषय भएको टिप्पणी गरे।

गुप्ताविरुद्ध लगाइएका आरोपको विषयमा मानिसहरूले चाँडै यसै हो भनेर निष्कर्षमा पुग्नु नहुनेको उनको भनाइ थियो।

गुप्तालाई अदालतमा पेस गरेपछि सुरु भएको सुनुवाइ हेर्न खालिस्तान अभियानमा संलग्न केही व्यक्तिहरू पनि गएका थिए। एक जनाले अदालतबाहिर खालिस्तानको झण्डा बोकेको देखिन्थ्यो।

अब गुप्ता फेरि जुन २८ मा उपस्थित हुने छन्।

खालिस्तानको झण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कस्तो आरोप

अमेरिकी अभियोजनकर्ताहरूका अनुसार गुप्ताले एक भारतीय अधिकारीबाट सिंहको हत्या गर्ने आदेश पाएका थिए। ती भारतीय अधिकारीको नाम उल्लेख गरिएको छैन।

भारतले भने उक्त षड्यन्त्रसँग आफ्नो सम्बन्ध नभएको बताउँदै आएको छ।

गुप्ताले आफूविरुद्ध लागेको आरोप खण्डन गर्दै आएका छन्। चेक रिपब्लिकमा पक्राउ परेपछि उनले आफूलाई अमेरिका सुपुर्दगी नगरियोस् भन्दै त्यहाँको संवैधानिक अदालतमा निवेदन दिएका थिए।

तर गत उनको आग्रह अस्वीकार भएपछि उनलाई अमेरिकाको जिम्मा लगाउने बाटो खुलेको थियो।

निखिल गुप्ता कहाँ छन्

गुरपतवन्त सिंह पन्नुनको हत्या गर्ने षड्यन्त्र बनाएको अभियोग लागेका ५२ वर्षीय निखिल गुप्तालाई २० वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ।

कारागारको अभिलेखअनुसार उनलाई ब्रुक्लिनस्थित मेट्रोपोलिटन डिटेन्शन सेन्टरमा राखिएको छ।

चेक अधिकारीहरूले उनको सुपुर्दगीको विषयमा कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

गत नोभेम्बरमा गुप्तामाथि अमेरिकी अभियोजककर्ताहरूले दक्षिण अमेरिकामा पन्नुनसहित चार सिख पृथक्तावादी नेताहरूको हत्या गर्ने योजना बनाएको अभियोग लगाएका थिए।

गुप्ताले 'भाडाका हत्यारा'लाई एक लाख अमेरिकी डलर दिएको अभियोजनकर्ताहरूले बताएका छन्।

यद्यपि उनीहरूका अनुसार गुप्ताले "खटाएका" व्यक्ति अपराधी नभई अमेरिकी गुप्तचर थिए।

गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गर्दा खालिस्तान समर्थकहरूले ह्वाइटहाउसबाहिर प्रदर्शन गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत वर्ष जुन महिनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गर्दा खालिस्तान समर्थकहरूले ह्वाइटहाउसबाहिर प्रदर्शन गरेका थिए

गुरपतवन्त सिंह पन्नुन को हुन्?

अमेरिका र क्यानडाको दोहोरो नागरिकता भएका पन्नुन न्यूयोर्कमा बस्दै आएका छन्।

पन्नुनलाई भारत सरकारले सन् २०२० मा आतङ्ककारी घोषित गरेको थियो। यद्यपि उनले भारतले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएका छन्।

उनी 'सिख फर जस्टिस' नामक संस्थाका प्रमुख वकिल हुन्। अमेरिकामा आधारित उक्त संस्थाले बृहत्तर खालिस्तानी आन्दोलनलाई समर्थन गर्छ। उक्त आन्दोलनले सिखहरूका लागि छुट्टै स्वतन्त्र राज्यको माग गर्दै आएको छ। भारतको कुल जनसङ्ख्यामा दुई प्रतिशत सिखहरू छन्।

पन्नुन गत वर्ष क्यानडामा कारमा गोली हानी मारिएका हरदीप सिंह निज्जरका सहयोगी पनि थिए।

हरदीप सिंह निज्जर

तस्बिर स्रोत, SIKH PA

तस्बिरको क्याप्शन, हरदीप सिंह निज्जरको गत वर्ष जुन महिनामा क्यानडामा हत्या भएको थियो

निज्जरको हत्या भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले "विश्वसनीय आरोप" भन्दै उक्त घटनामा नयाँ दिल्लीलाई मुछेपछि भारत र क्यानडाको सम्बन्ध बिग्रिएको थियो। भारतले उक्त आरोपलाई अस्वीकार गरेको थियो।

गत नोभेम्बरमा ह्वाइट हाउसले पन्नुनको हत्या गर्ने तथाकथित षड्यन्त्रबारे भारतको सबैभन्दा उच्च तहसँग कुरा उठाइएको जानकारी दिएको थियो।

भारतीय अधिकारीहरूले भने उक्त योजनामा आफ्नो संलग्नना नभएको र त्यस्तो कार्य सरकारी नीतिविपरीत भएको बताएका छन्। यद्यपि दिल्लीले गुप्तामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको जनाएको थियो।

गत ज्यानुअरीमा गुप्ताले निष्पक्ष सुनुवाइ र आफ्नो मुक्तिका लागि सहयोग गर्न माग गर्दै दिएको निवेदनलाई भारतको सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो।

उक्त निवेदनमा गुप्ताले अमेरिकी सङ्घीय गुप्तचर भएको दाबी गर्ने व्यक्तिहरूले आफूलाई गिरफ्तार गरेको र आफूलाई निष्पक्ष सुनुवाइको अवसर नदिइएको दाबी गरेका थिए।

भारतको सर्वोच्च अदालतले आफूले हस्तक्षेप नगर्ने भन्दै उक्त विषयमा के गर्ने भन्ने कुरा भारत सरकारमा निर्भर भएको जनाएको थियो।

हरदीप सिंह निज्जरको हत्या र भारत-क्यानडाबीच तनाव

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।