दाँतकी डाक्टर चम्किइन् भाडामा लुगा दिने व्यापारमा

लुगा
तस्बिरको क्याप्शन, सन्ध्या कँडेलले आफ्नै विवाहमा लगाएको कपडाबाट व्यवसाय शुरू गरेकी थिइन्

चार वर्ष दिन रात पढेर, लाखौँ खर्च गरेर दाँतको डाक्टर बनेकी छोरीले डाक्टरी पेशा नै थाती राखेर आफ्ना लुगा अर्कालाई भाडामा दिँदै पैसा कमाउन जुर्मुराएपछि उनको परिवार झस्कियो।

शुरूमा परिवारका सदस्यले डाक्टर बनाउन गरेको लगानी खेर गएको जस्तो व्यवहार देखाएको हाल भाडाको कपडा व्यवसायमा खुब जमिरहेकी डा. सन्ध्या कँडेल बताउँछिन्।

महामारी मच्चिएका बेला दाँत बनाउने काम छोडेर घरै बस्नुपर्दा सन्ध्याका मनमा अनेकौँ विचार खेलेका थिए।

काठमाण्डू घुम्न जाँदा देखेको लुगा भाडामा दिने काम आफू पनि गरौँ गरौँ लाग्यो उनलाई।

आफ्नै वचतले व्यवसाय गर्ने सुर कसिन्।

"कोरोनाभाइरसका कारण लकडाउन शुरू भएर घरमै बस्नुपर्दा त्यस्तो व्यवसायको सोच आयो र मैले यो काम पनि त्यसबेलै शुरू गरिहालेँ," उनले भनिन्।

आफूले चार वर्ष दुख: गरेर सिकेको दन्त चिकित्सा पेसा पनि सँगसँगै अघि बढाउन उनी विगत एक महिनायता क्लिनिक पनि जान थालेको बताउँछिन्।

सानो बच्चा हुर्काउने क्रममा चिकित्सा पेसालाई निरन्तरता दिन नसकेको पनि उनले बताइन्।

आफ्नै विवाहमा लगाएको कपडाबाट व्यवसाय शुरू

चल्ला कि नचल्ला भन्ने द्विविधाबीच दुई लाख रुपैयाँ र आफ्नै विवाहमा लगाएको कपडाबाट व्यवसाय शुरू गरेको उनी बताउँछिन्।

उनले भरतपुरको मालपोत चोकबाट व्यवसाय शुरू गरेकी हुन्।

शुरूआती महिनामै अस्पतालका डाक्टर, नर्स र गर्भवती महिलाहरू लुगा भाडामा लिन आउँदा हौसला थपिएको उनी बताउँछिन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कपडा भाडामा लिएर विवाह गरेका दुलाहाहरू

नेपाली समाजमा विवाह, व्रतबन्ध, पास्नी, भोजभतेरमा देखासिकी गरी लत्ताकपडामा फजुल खर्च गर्ने चलन बढिरहेको जानकारहरू बताउँछन्।

तर अहिले भाडामा लुगा लिएर कार्यक्रममा जानेहरूको सङ्ख्या बढ्दै गएको कँडेलको अनुभव छ।

विवाह, व्रतबन्ध, पास्नी, टीकाटालो, मेहन्दी, हल्दी, बेबी शावर लगायतका कार्यक्रमका लागि चाहिने लुगा उनीकहाँ भाडामा पाइन्छ।

लुगा भाडामा लिने ग्राहक उच्चदेखि निम्न वर्गसम्मका हुने गरेका उनी बताउँछिन्।

परम्पराअनुसार कपडा

उनी भन्छिन्, “धेरै परिवार भएका मानिसलाई कपडामा खर्च गर्न समस्या हुँदै आएकोमा भाडाको लुगाले राहत पुगेको भन्छन्।”

सामान्यतया एक पटक प्रयोग हुने लुगामा धेरै पैसा खर्च गर्नुभन्दा भाडामा लिएर प्रयोग गर्दा बचत हुने ग्राहकहरू बताउँछन्।

कँडेलको आउटलेट ‘आवर क्लोजेट’मा बच्चादेखि युवायुवतीका लागि लुगा भाडामा उपलब्ध छन्।

उनको पसलबाट लुगा लैजाँदा कम पैसामै गर्जो टर्ने गरेको त्यहाँ पुगेका ग्राहकहरूले बताए।

उनका कपडाको आउटलेटमा भेटिएकी शीला गुरुङले भनिन्, “यहाँ लुगा भाडामा पाइने रहेछ। एक पटक प्रयोग गर्ने लुगा सिलाएर किन धेरै खर्च गर्ने भनेर यहाँ आएकी हुँ।”

“मेहेन्दी र रिसेप्सनका लागि चाहिने लुगा मैले तिर्न सक्ने मूल्यमा पाएँ। यहाँ विकल्प पनि धेरै भएकोले समय र पैसाको पनि बचत भयो,” उनले थपिन्।

कँडेलले दुलाहाका लागि २,००० रुपैयाँदेखि २,५०० सम्ममा र दुलहीको लुगा २,५०० देखि ४,५०० रुपैयाँसम्ममा भाडामा दिने गरेको बताउँछिन्।

लुगा

मेहन्दी लगायतका कार्यक्रमका लागि चाहिने लुगाको भाडा ५०० देखि १,००० सम्म लिने गरेको उनले बताइन्।

उनको पसलमा भाडामा लुगा लिन आएका सम्राट ओझाले भाडामा लिँदा हुने फजुल खर्च रोकिएको बताए।

“दुलाहाको कपडा सिलाउँदा १०,००० देखि १५,००० रुपैयँसम्म खर्च हुने गर्छ भने भाडामा लिँदा दुई हजारदेखि तीन हजार रुपैयाँमा काम चल्यो,” उनले भने।

दुलहीका लागि कपडा सिलाउँदा २०,००० रुपैयाँभन्दा बढी खर्च हुने र भाडामा ५,००० रुपैयाँसम्म भए पुग्ने कँडेल बताउँछिन्।

रेड लाइन
सम्बन्धित सामग्री
रेड लाइन

भाडाका कपडाको प्रयोग भएपछि फजुल खर्च कम गर्न मद्दत पुगेको युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष सूर्य अधिकारी बताउँछन्।

एउटै लुगामा लाखौँ रुपैयाँ खर्चिनुभन्दा भाडाको लुगा प्रयोग गर्दा कम पैसामा फरकफरक प्रयोग गर्न पाइने र फजुल खर्च बच्ने उनले बताए।

दुई लाख रुपैयाँबाट शुरू गरेको व्यवसाय हाल चितवन, हैटौँडा, पोखरा र काठमाण्डू गरी चार ठाउँमा विस्तार भइसकेको उनले बताइन्।

आफूले अहिले २५ देखि ३० जनालाई रोजगारी समेत दिएको कँडेलले सगर्व सुनाइन्।

उनको लगानी हाल ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन्।