यूकेका नयाँ प्रधानमन्त्री सर किअर स्टार्मर को हुन्

तस्बिर स्रोत, Getty Images
यूकेमा बिहीवार भएको संसदीय निर्वाचनमा लेबर पार्टीले फराकिलो विजय हात पारेसँगै सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री बनेका छन्।
उनी सन् २०२० मा जेरमी कोर्बिनको स्थानमा लेबर पार्टीको नेतृत्वमा पुगेका थिए। त्यसयता उनी पार्टीको साख फर्काउन र चुनावमा जित हासिल गर्न केन्द्रित भएका थिए।
लेबर पार्टी विगत १४ वर्षदेखि सत्ताबाहिर थियो।
राजनीतिमा आउनुअघिको जीवन
स्टार्मर सफल वकिल थिए। उनी ५० वर्षको उमेमा सांसद बने।
राजनीतिमा सदैव रुचि राख्दै आएका उनी युवावस्थामा कट्टर वामपन्थी थिए।
उनको जन्म सन् १९६२ मा लन्डनमा भएको थियो। उनका आमाबुवाका चार सन्तान जन्मिए।
उनी दक्षिणपूर्वी यूकेको सरी भन्ने ठाउँमा हुर्किए। उनी आफ्नो पृष्ठभूमि श्रमिक वर्गसँग सम्बन्धित भएको बताउँछन्। उनका बुवाएउटा कारखानामा काम गर्थे भने आमा नर्स थिइन्।
उनको परिवार लेबर पार्टीप्रति निष्ठावान् थियो। किअर हार्डी नामका व्यक्तिबाट प्रेरित भएर उनको नाम किअर राखिएको थियो। हार्डी स्कटिश थिए र खानीमा काम गर्थे। उनी लेबर पार्टीको पहिलो नेता थिए।
स्टार्मरको पारिवारिक जीवनमा धेरै समस्या आइपरेको थियो। स्टार्मर आफ्ना बुवा "चिसो व्यक्ति" भएको र उनीसँग निकट सम्बन्ध नरहेको बताउँछन्। उनकी आमा प्रतिरक्षा प्रणालीसँग सम्बन्ध भएको 'स्टिल्स् डिजिज' बाट पीडित थिइन्। पछि उनी बोल्न र हिँड्न पनि नसक्ने भइन्। उनको खुट्टा समेत शल्यक्रिया गरेर फाल्नुपरेको थियो।
स्टार्मर १६ वर्षको उमेरमै लेबर पार्टीको युवा सङ्गठनमा जोडिएका थिए। केही समय उनले कट्टर वामपन्थी पत्रिका ‘सोसलिस्ट ओल्टर्नटिभ’ को सम्पादन पनि गरे।

स्टार्मर आफ्नो परिवारबाट विश्वविद्यालय जाने पहिलो व्यक्ति थिए। उनले ‘लीड्स एन्ड अक्स्फर्ड’ मा कानुन अध्ययन गरे। पछि मानवाधिकारसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित भई वकिलका रूपमा काम गरे।
त्यस समयमा उनले क्यारिबियन र अफ्रिकाका देशहरूमा मृत्युदण्ड हटाउनका लागि काम गरेका थिए।
सन् १९९० मा उनले एउटा चर्चित मुद्दामा दुई पर्यावरणवादी अभियानकर्मीको प्रतिनिधित्व गरेका थिए। रेस्टुँराको विश्वव्यापी चेन म्याक्डोनल्ड्सले ती दुई जनाविरुद्ध उक्त मुद्दा हालेको थियो।
सन् २००८ स्टार्मर 'पब्लिक प्रोसिक्यूशन्स' का निर्देशक तथा 'क्राउन प्रोसिक्यूशन सर्भिस'का प्रमुख नियुक्त भए। अर्थात् उनी इङ्ल्यान्ड र र वेल्सको वरिष्ठतम सरकारी वकिल बने।
उनी सन् २०१३ सम्म उक्त पदमा रहे र सन् २०१४ मा उनलाई 'नाइट' को उपाधि प्रदान गरियो।

तस्बिर स्रोत, PA Media
लेबर पार्टीको नेता
स्टार्मर सन् २०१५ मा लन्डनको 'होल्बर्न एन्ड सेन्ट प्यान्क्रस' क्षेत्रबाट सांसदका रूपमा सदनमा प्रवेश गरे।
लेबर पार्टी त्यतिखेर कट्टर वामपन्थी नेता जेरमी काेर्बिनको नेतृत्वमा प्रतिपक्षमा थियो। उनले स्टार्मरलाई आप्रवासनसहितका क्षेत्रमा सरकारको कार्यसम्पादन नियाल्न "छायागृहमन्त्री"को जिम्मेवारी दिए।
यूकेले मतदानमार्फत् युरोपेली सङ्घबाट बाहिरिने निर्णय गर्दै गर्दा उनलाई ब्रेक्जिटसँग सम्बन्धित विषय हेर्ने छायामन्त्री पनि बनाइएको थियो। स्टार्मरले दोस्रो जनमतसङ्ग्रह गर्न जोड दिन उक्त भूमिका उपयोग गरे।

तस्बिर स्रोत, PA Media
सन् २०१९ को संसदीय निर्वाचनपछि स्टार्मरले लेबर पार्टीको नेतृत्व गर्ने अवसर पाए। उक्त चुनाव पार्टीका निम्ति एउटा विपत्ति थियो। लेबर पार्टीले सन् १९३५ पछिकै सबैभन्दा नराम्रो पराजय भोगेको थियो। उक्त परिणामका कारण कोर्बिन राजीनामा दिन बाध्य भए।
स्टार्मरले ऊर्जा र पानी कम्पनीहरूको राष्ट्रियकरण तथा नि:शुल्क विश्वविद्यालय शिक्षाको वकालत गरेर वामपन्थी मञ्चबाटै लेबर पार्टीको नेतृत्वमा जित हासिल गरेका थिए।
काेर्बिनले लेबर पार्टीलाई वामपन्थी र नरमपन्थी गरी दुई भागमा विभाजित गराएका थिए।
त्यहीँ स्टार्मरले पार्टीमा एकता चाहेको बताए। तर उनी काेर्बिनको "कट्टरपन्थ" लाई निरन्तरता दिन राख्न चाहन्थे। पार्टीको विचारधारा "मध्यमार्गतिर ढल्किएकोमा’ उनले आपत्ति जनाउँदै आएका थिए।
कोर्बिन नेता हुँदा यहुदीविरोधी भावना फैलिएको र उनको टिप्पणीबारे विवाद भएपछि स्टार्मरले उनलाई संसदीय दलबाट निलम्बन गरे। यो निर्वाचनमा कोर्बिन स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका छन्।
वामपन्थी पक्षधरहरू भने स्टार्मरले नरमपन्थीहरूलाई मात्रै उम्मेदवार बनाउन पार्टीभित्र दीर्घकालीन अभियान चलाएको ठान्छन्।
स्टार्मरको धारणा
पार्टीको नेतृत्वमा पुग्ने क्रममा जेजस्तो भनेको भए पनि अहिलेको चुनावलाई लक्षित गरी पार्टीलाई उनले मध्यमार्गमा ल्याइपुर्याएका छन्।
यूकेको सार्वजनिक अर्थ व्यवस्थापनको स्थिति कमजोर रहेको भन्दै उनले थुप्रै खर्चालु नीतिहरू परित्याग गरेका छन्।
राष्ट्रियकरण
स्टार्मरले ऊर्जा र पानी कम्पनीहरूलाई राष्ट्रियकरण गर्ने आफ्नो पुरानो प्रस्ताव पनि छाडिदिएका छन्।
तथापि उनले लगभग सबै यात्रुवाहक रेलसेवालाई नयाँ ‘ग्रेट ब्रिटिश रेल्वेज’ नामक कम्पनीमार्फत् पाँच वर्षमा सार्वजनिक स्वामित्वमा ल्याउने वाचा गरेका छन्।
शिक्षा
सरकारले धान्न नसक्ने भन्दै उनले क्याम्पसहरूको शैक्षिक शुल्क हटाउने कुरा पनि पन्छाएका छन्।
गत मे महिनामा बीबीसीसँग उनले भनेका थिए, “फरक आर्थिक अवस्थामा पुगेका कारण हामी त्यो प्रतिबद्धताबाट पछाडि हट्नुपर्ने हुन सक्छ।”
तर उनले लेबर पार्टीले ब्रिटेनका निजी विद्यालयमा मूल्य अभिवृद्धि कर (भ्याट) लागु गराउने बताएका छन्।

पर्यावरण
लेबर पार्टीले सन् २०२१ मा हरित ऊर्जा परियोजनाहरूमा प्रतिवर्ष २८ अर्ब पाउन्ड खर्च गर्ने उद्घोष गरेको थियो। अहिले उक्त पार्टी त्यसबाट पनि पछि हटेको छ। तर सो पार्टी समुद्रनजिकै वायु ऊर्जा उत्पादन गर्ने र विद्युतीय सवारीसाधनका लागि चाहिने ब्याटरी कारखाना बनाउने प्रतिबद्धता कायम राखेको छ।
लेबर पार्टीको यो कदमलाई कन्जर्भेटिभ पार्टीले नीतिगत प्रतिबद्धताबाट "विमुख" भएको भन्दै आलोचना गरेको छ।
भर्खरै सर किअर स्टार्मरले जीवी एनर्जी नामक नयाँ कम्पनीबाट हरित ऊर्जामा आठ अर्ब पाउन्ड लगानी गर्ने प्रतिबद्धता पनि गरेका छन्।
उनले यूकेको ऊर्जा उत्पादनमा सन् २०३० सम्म जीवाश्म इन्धनको प्रयोग लगभग पूर्ण रूपमा हटाउने वाचा गरेका छन्। यद्यपि धेरै विज्ञहरू त्यसो गर्न सम्भव नभएको धारणा राख्छन्।
इजरेल र गाजा
सन् २०२३ अक्टोबरमा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि स्टार्मरले गाजामा इजरेलले थालेको राखेको सैन्य कारबाहीको र इजरेलले आफ्नो प्रतिरक्षा गर्ने पाउने अधिकारको समर्थन गरेका थिए।
त्यसबाट प्यालेस्टाइनको समर्थन गर्ने मतदाताहरू आक्रोशित भएका थिए। तत्कालै युद्धविरामको आह्वान गर्ने लेबर पार्टीका दर्जनौँ सांसदले त्यसमा विद्रोह गरेका थिए।
तर यो वर्ष फेब्रुअरीमा उनले "दीर्घकालीन युद्धविराम’ का लागि आह्वान गर्दै "अहिले त्यसो गर्न आवश्यक भएको" बताए।
मार्चमा यूगभले गरेको सर्वेक्षणमा यूकेका ५२ प्रतिशत मानिसले उनी उक्त विषयलाई असंवेदनशील भएको धारणा व्यक्त गरेका थिए।
हूथी लडाकुहरूले इजरेलसँग सम्बन्ध भएका पानीजहाजहरूमा गरेको आक्रमणको प्रतिकारस्वरूपम यूकेले यमनस्थित हूथी शिविरहरूमा गरेको बम आक्रमणप्रति समर्थन व्यक्त गरेका थिए।
युरोप
सन् २०१९ मा स्टार्मरले नै यूकेले ईयू छोड्ने विषयमा विषयमा दोस्रो जनमतसङ्ग्रह गराउन दबाव दिएका थिए।
अहिले उनी ब्रेक्जिटमा पुनः जाने सम्भावना नभएको बाउँछन्। तर उनले खाद्यान्न, पर्यावरण र श्रम मापदण्डजस्ता विषयमा ईयूसँग नयाँ सम्झौताको विषयमा छलफल गर्ने बताएका छन्।
'मलाई पराजय मन पर्दैन'

तस्बिर स्रोत, Getty Images
प्रतिद्वन्द्वीहरू स्टार्मर "नीरस" भएको भन्दै उनको खिल्ली उडाउँछन्।
स्टार्मर भने आफूलाई नियम पालना गर्ने व्यक्तिका रूपमा चित्रण गर्न रुचाउँछन्। एक सहकर्मीले त उनलाई "मिस्टर रुल्स" उपनाम दिएका थिए।
एक पटक उनले कानुन उल्लङ्घन गरेका थिए। युवावस्थामा अनुमतिपत्र नलिई आइसक्रीम बेच्दा प्रहरीले उनलाई फेला पारेको थियो। उनको आइसक्रीम जफत भयो। तर उनले अरू कारबाही भोग्नुपरेन।
अन्तर्वार्ताहरूमा उनी आफ्नो व्यक्तित्वबारे खासै केही भन्दैनन्। तर आफूले निकै प्रतिस्पर्धी गर्नुपरेको कुरा भने उनले खुलाएका छन्।
उनले यूकेको 'गार्डिअन' पत्रिकालाई भनेका छन्, “मलाई पराजय मन पर्दैन। कतिपयले भाग लिनु नै ठूलो कुरा हो भन्छन्। तर म त्यो कुरा मान्दिनँ।”
सर किअर स्टार्मरले भिक्टोरिआ एलेक्जेन्डरसँग सन् २००७ मा विवाह गरेका थिए। उनी यूकेको राष्ट्रिय स्वास्थ्य सेवा 'एनएचएस'मा काम गर्छिन्। उनीहरूका दुई सन्तान छन्।
फुर्सदको समय उनी फुटसल खेल्छन् र उनी आर्सनल फुटबल क्लबका समर्थक हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








