यूकेमा सुनकद्वारा राजीनामा, सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री नियुक्त

सर किअर स्टार्मर

तस्बिर स्रोत, Reuters

यूकेमा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि राजा चार्ल्सले स्टार्मरलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

राजा चार्ल्सलाई राजीनामा दिएर निवर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिएलगत्तै लेबर पार्टीका नेता सर किअर स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

राजा चार्ल्सलाई भेटेर प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गए।

यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका थिए भने स्टार्मरले "अब परिवर्तन सुरु हुन्छ" भनेका थिए।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४१२ सीट जितेको हो। यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ।

यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक छ। अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए।

आफ्नो निर्वाचन क्षेत्र सुरक्षित रहेको पक्का भएपछि सुनकले लन्डन फर्किएर राजासँग भेट गरेका थिए।

पत्नी अक्षता मूर्तिसँग बकिङ्गम दरबार गएका सुनकले राजालाई आफ्नो राजीनामा बुझाए।

नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले यसअघि ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोडेका थिए।

राजा चार्ल्ससँग प्रधानमन्त्रीको रूपमा अन्तिम भेट गरेर ऋषि सुनक बकिङ्गम दरबारबाट बाहिरिए
तस्बिरको क्याप्शन, राजा चार्ल्ससँग प्रधानमन्त्रीको रूपमा अन्तिम भेट गरेर ऋषि सुनक बकिङ्गम दरबारबाट बाहिरिए
राजासँग भेट गर्दै स्टार्मर

तस्बिर स्रोत, BUCKINGHAM PALACE

तस्बिरको क्याप्शन, बकिङ्गम दरबार राजासँग भेट गर्दै स्टार्मर

अब के हुन्छ

यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

राजा र सर किअर स्टार्मरबीच भेटघाट भेटघाट भएपछि बहुमत पाएको दलका नेताका रूपमा स्टार्मर प्रधानमन्त्री नियुक्त भएका छन्।

त्यस क्रममा राजाले स्टार्मरलाई नयाँ सरकार गठन गर्न र सरकारको नेतृत्व गर्न निम्तो दिएका थिए।

उनी दुई वर्षभित्र यूकेको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति बनेका छन्।

राजासँग भेट गरेपछि उनले स्थानीय समयानुसार मध्याह्न राष्ट्रको नाममा सम्बोधन गर्ने छन्।

किअर स्टार्मर

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, स्टार्मरले लेबर पार्टीमा 'छाया गृहमन्त्री'को जिम्मेवारी पाएका थिए

कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट हट्ने घोषणा

टेन डाउनिङ स्ट्रीटबाट बाहिरिँदै गर्दा सुनकले यूके संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताए। उनले आफ्ना सहकर्मी र परिवारलाई धन्यवाद पनि दिए।

उनले लेबर नेता स्टार्मरको प्रशंसा गर्दै उनी "शालीन सार्वजनिक छवि" व्यक्ति भएको र आफूले उनको सम्मान गर्ने गरेको बताए।

उनले आफू कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट पनि हट्ने घोषणा गरेका छन्। तर त्यसका लागि केही समय लाग्ने छ। आफ्नो उत्तराधिकारी चयन गर्ने व्यवस्था भएपछि उनले राजीनामा दिने छन्।

संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।

नवनिर्वाचित संसद्को पहिलो बैठक जुलाई ९ मा बस्ने छ।

ऋषि सुनक
तस्बिरको क्याप्शन, प्रधानमन्त्री ऋषि सुनकले आफ्नो पार्टीको हारका लागि आफूले जिम्मेवारी लिने बताएका छन्

बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ।

त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ।

अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो।

बिहीवार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।

प्रधानमन्त्री सर किअर स्टार्मर को हुन्?

कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन्।

लन्डनको 'होल्बर्न एन्ड सेन्ट प्यान्क्रस' क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए।

लेबर पार्टीमा 'छाया गृहमन्त्री'को जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्री ऋषि सुनक र लेबर नेता सर किअर स्टार्मर

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, प्रधानमन्त्री ऋषि सुनकले हार स्वीकार गरी सर किअर स्टार्मरलाई बधाई दिइसकेका छन् (फाइल तस्बिर)

लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत

बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ।

सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए।

होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिएका छन्।

स्टार्मरले सामाजिक सञ्जाल 'एक्स'मा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएका छन्।

रक्षामन्त्री र पूर्वप्रधानमन्त्री पनि पराजित

लिज ट्रस

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, पूर्वप्रधानमन्त्री लिज पराजित भएकी छन्

प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन्।

पूर्वप्रधानमन्त्री लिज ट्रस ६०० मतले पराजित भएकी छन्। रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन्।

यद्यपि सुनकको सरकारमा अर्थमन्त्री रहेका जेरमी हन्ट साँघुरो मतातन्तरले विजयी भएका छन्। यद्यपि मतसर्वेक्षणहरूमा उनी पराजित हुने सम्भावना देखिएको थियो।

लेबर पार्टीबाट निलम्बित नेता जेरमी कोर्बिन स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका छन्। उनले लेबर उम्मेदवारलाई पराजित गरेका हुन्।

कोर्बिन सन् १९८३ देखि इस्लिङ्टन नोर्थ निर्वाचन क्षेत्रबाट उठ्दै आएका छन्।

यहुदीविरोधी भावनाबारे टिप्पणी गरेपछि उनी लेबर पार्टीको कारबाहीमा परेका थिए।

जेरमी कोर्बिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, लेबर पार्टीबाट निलम्बित नेता जेरमी कोर्बिन स्वतन्त्र सांसद निर्वाचित भएका छन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।