कारभित्र सीटबेल्ट नलाएकोमा ब्रिटेनका प्रधानमन्त्रीलाई जरिवाना

ऋषि सुनक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ऋषि सुनकले सरकारमा रहँदा दोस्रोपटक यस्तो जरिवानाको सूचना पाएका हुन्

यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडिओ खिचिरहेको अवस्थामा सिट बेल्ट नलगाएकोमा जरिवाना तिराइएको छ। उनी कारको पछाडिपट्टिको सीमा बसेका थिए।

ल्यांकश प्रहरीले भनेको छ- लन्डनका ४२ वर्षीय पुरुषमाथि उसले फिक्स्ड पेनाल्टी नोटीस जारी गरेको छ।

ब्रिटेनको प्रधानमन्त्री कार्यालयले सुनकले पूर्ण रूपमा आफ्नो गल्ती स्वीकार गरेको र माफी मागेको जनाउँदै उनले जरिवाना तिर्ने बताएको छ।

सजाय के छ

सीट बेल्ट भएको अवस्थामा पनि त्यसलाई नलगाउने यात्रुहरूलाई १०० पाउन्ड (१६ हजार रुपैयाँ भन्दा बढी) जरिवाना गराउन सकिने व्यवस्था ब्रिटेनमा छ।

यदि कोही अदालतमा गएको खण्डमा त्यो बढेर ५०० पाउन्ड (८० हजार रुपैयाँ भन्दा बढी) पुग्न सक्छ।

उत्तरी ब्रिटेनको भ्रमणका क्रममा प्रधानमन्त्री सुनक ल्यांकशमा रहँदा उक्त भिडिओ खिचिएको थियो।

विभिन्न ठाउँका खर्च सन्तुलन विषयका सरकारी नीति प्रवर्द्धन गर्न लिइएको उक्त भिडियो ब्रिटेनका प्रधानमन्त्रीको इन्स्टाग्राम खातामा राखिएको थियो।

सरकारमा रहँदा सुनकले सजायको सूचना पाएको यो दोस्रो घटना हो।

गएको एप्रिलमा कोभिड सम्बन्धी नियमहरू तोडेकामा बोरिस जोनसन र उनकी श्रीमती क्यारीसहित सुनकलाई पनि जरिवाना तिराइएको थियो।

तत्कालीन प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रममा जुन २०२० मा उनीहरू डाउनिङ स्ट्रीटमा भेला भएका थिए।

यूकेका प्रधानमन्त्री

तस्बिर स्रोत, Reuters

‘नियमप्रति बेवास्ता’

फिक्स्ड पेनाल्टी नोटिस कानुन तोडेकोमा दिइने एक किसिमको सजाय हो जसमा २८ दिनभित्र जरिवाना तिर्नुपर्छ या त्यसलाई कानुनी चुनौती दिनुपर्छ।

यदि कसैले जरिवाना गर्ने कदमलाई चुनौती दिने निर्णय गर्‍यो भने प्रहरीले उक्त घटनाको पुनरवलोकन गर्छ र त्यसलाई फिर्ता लिने वा अदालतसम्म विषय पुर्‍याउने निर्णय लिन्छ।

लेबर पार्टीकी उपनेता एन्गेला रेनरले एउटा ट्विटमार्फत सुनक ‘पूर्ण रूपमा दायित्व’ बनेको बताएकी छन्।

लेबर पार्टीका एकजना प्रवक्ताले ‘फोटो अप’ ले प्रधानमन्त्रीलाई मजाकको विषय बनाइदिएको टिप्पणी गरेका छन्।

लिबरल डेमोक्र्याटहरूले प्रहरीले जरिवाना गराएका दोस्रो प्रधानमन्त्री बनेर सुनकले ‘बोरिस जोनसनले जस्तै नियमप्रति बेवास्ता रहेको देखाएको’ टिप्पणी गरेका छन्।

तर एक जना कन्जरभेटिभ सांसद स्कट बेन्टनले सुनकको प्रतिरक्षा गर्दै ‘सबैबाट गल्ती हुने’ टिप्पणी गरेका छन्।

उनले प्रत्येक वर्ष दशौँ लाख ब्रिटिस नागरिकले यस्ता दण्ड खेप्ने गरेको बताए।

१४ वर्ष वा सो भन्दा बढी उमेरका यात्रुले कार, भ्यान र अरू सवारी साधनमा त्यहाँ रहेका सिट बेल्ट लगाउनुपर्ने नियम छ।

१४ वर्षभन्दा कमका बालबालिकाबारे चाहिँ चालकलाई जिम्मेवार ठहर्‍याउने गरिएको छ।

स्वास्थ्यको कारणले त्यसो गर्न नसकेको भन्दै चिकित्सकबाट प्रमाणित गराएको खण्डमा वा प्रहरी, दमकल वा अन्य उद्धार सेवाको सवारी साधनभित्र रहेको अवस्थामा यो नियममा छुटहरू रहेका छन्।