नेपालको तेस्रो हारसँगै द्विपक्षीय शृङ्खला वेस्ट इन्डिज 'ए'द्वारा कब्जा

तस्बिर स्रोत, CAN
वेस्ट इन्डिज 'ए' सँगको टी२० शृङ्खलाको चौथो खेलमा बिहीवार नेपाल २८ रनले पराजित भएको छ।
योसँगै पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज 'ए'ले तीन खेल जितिसकेको छ। अर्थात् अन्तिम खेल जिते पनि नेपाल पाहुना टोलीसँग शृङ्खलामा हारेकै मानिने छ।
बिहीवारको खेलमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए'ले तीन विकेट गुमाएर २०९ रन बनाएको थियो।
नेपालको ब्याटिङ
जबाफी ब्याटिङका क्रममा नेपालले अन्तिम बलमा १०औँ विकेट गुमाएर १८१ रन बनाउन सक्यो।
दुई जनै ओपनर सस्तैमा आउट भएका थिए। आशिफ शेख शून्यमा आउट भएका थिए भने कुशल भुर्तेल एक रन बनाएर फर्किए।
भुर्तेल आउट भएपछि क्रीजमा आएका कुशल मल्ल लगत्तै चार रन बनाएर आउट भएका थिए।
पहिलो र दोस्रो खेलमा शतक र अर्धशतक बनाएका कप्तान रोहित पौडेलले चौथो खेलमा पनि ८२ रन बनाए। उनले ७ चौका र ५ छक्का हिर्काएका थिए।
खेलको आरम्भमै अर्को छेउमा लगातार विकेटहरू खसिरहे पनि कप्तान पौडेल एक्लै डटिरहे।
सन्दीप जोराले १९ रन बनाएर चौथो विकेटका निम्ति उनीसँग ४० रनको साझेदारी गरेका थिए।
त्यसपछि क्रिजमा केही बेर साझेदारी गरेका दीपेन्द्रसिंह ऐरी र गुल्शन झा दुवैले १९-१९ रन बनाएका थिए।
वेस्ट इन्डिजका म्याथ्यू फोर्ड र हेडन वाल्शले ३-३ विकेट लिएका थिए।
वेस्ट इन्डिज 'ए'को ब्याटिङ

तस्बिर स्रोत, CAN
यसअघि तेस्रो खेलमा २२७ रन बनाएको वेस्ट इन्डिज 'ए'ले चौथो खेलमा पनि उही लय कायम राख्यो।
बुधवारको खेलमा विस्फोटक ब्याटिङ् गरेका ओपनरद्वय जोन्सन चार्ल्स र आन्द्रे फ्लेचरले बिहीवार पनि उस्तै खेल देखाएका थिए।
बुधवार शतक प्रहार गरेका चार्ल्सले बिहीवार ३० बलमा ५८ रन बनाएका थिए भने अघिल्लो दिन ५३ रन बनाएका फ्लेचरले बिहीवारको खेलमा ५४ बल खेलेर अविजित ८४ रन बनाए।
नेपाली बलरहरूमध्ये कुशल भुर्तेल सर्वाधिक सफल रहे। उनले चार ओभरमा २३ रन खर्चिएर दुई विकेट लिए। प्रतीश जीसीले ४३ रन खर्चिएर एक विकेट लिएका थिए।

तस्बिर स्रोत, CAN
अघिल्ला तीन खेलमा नेपालको उतारचढावपूर्ण प्रदर्शन
गएको शनिवार भएको पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक खेलमा वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो।
उक्त खेलमा वेस्ट इन्डिज 'ए' ले आक्रामक ब्याटिङ गर्दै २०५ रनको चुनौतीपूर्ण लक्ष्य पेस गरेको थियो। तर जबाफमा कप्तान रोहित पौडेलले शतक प्रहार गरेपछि नेपालले दुई बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो।

तस्बिर स्रोत, CAN
दोस्रो खेल पनि प्रतिस्पर्धात्मक रह्यो तर नेपालले १० रनको हार बेहोर्नुपर्यो।
वेस्ट इन्डिज ‘ए’ले पेस गरेको १६१ रनको लक्ष्य जितको निम्ति पर्याप्त ठहरियो। नेपालले पूरै ओभर खेलेर नौ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो।
तेस्रो खेलमा चाहिँ नेपालको प्रदर्शन निकै फितलो देखिएको थियो।
वेस्ट इन्डिज ‘ए’ले विस्फोटक ब्याटिङ गर्दै जितको निम्ति २२८ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १५१ रन मात्र बनाउन सक्यो। सो खेलमा नेपाल ७६ रनको अन्तरले हार्यो।
विश्वकपका निम्ति नेपाली टोली चयन
जुन १ देखि संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी२० विश्वकप प्रतियोगिताको सङ्घारमा काठमाण्डूमा भएको वेस्ट इन्डिजसँगको शृङ्खलालाई त्यसैको तयारीको रूपमा पनि हेरिएको छ।
बुधवार नेपाल क्रिकेट संघले टी२० विश्वकपका निम्ति राष्ट्रिय टोलीको घोषणा गरेको छ।
कप्तान रोहित पौडेलको अगुवाइमा रहेको १५ सदस्यीय टोलीमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतीश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी परेका छन्।

तस्बिर स्रोत, CAN
उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। तिनलाई चारवटा समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘घ’ मा परेको छ जसमा श्रीलङ्का, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बाङ्ग्लादेश रहेका छन्।
विश्वकपमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा हुनेछ। उक्त खेल अमेरिकाको ड्यालस सहरको ग्र्यान्ड परेरी रङ्गशालामा हुनेछ।
दोस्रो खेल चाहिँ श्रीलङ्कासँग जुन १२ मा फ्लोरिडामा हुनेछ।
तेस्रो र चौथो खेलचाहिँ नेपालले वेस्ट इन्डिजअन्तर्गतको सेन्ट भिन्सेन्टमा क्रमश: दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँग जुन १५ र १७ मा खेल्नेछ।
प्रत्येक समूहबाट दुई शीर्ष टोली ‘सुपर एट’ मा प्रवेश गर्ने छन् जसबाट छानिएका चार टोली सेमिफाइनल पुग्ने छन्।
फाइनल खेल बार्बाडसमा जुन २९ मा हुनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








