चितवन-२ को उपनिर्वाचनमा रवि लामिछानेलाई कुन-कुन दलले सहयोग गर्दैछन्?

रवि लामिछाने

तस्बिर स्रोत, Getty Images

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै जाँदा त्यहाँ हुने तालमेल र प्रतिस्पर्धा रोचक हुनसक्ने ठानिएको छ।

यसअघि उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तर सहित विजयी भएका थिए।

नेपाली नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद पद खारेज भयो।

हाल सांसद विहीन रहेको चितवनको उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

गत मङ्सिरमा भएको निर्वाचनमा पूर्वमन्त्री सहित प्रभावशाली नेताहरूले प्रतिस्पर्धा गरेको उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पुनः नेपाली नागरिकता प्राप्त गरेका लामिछाने फेरि पनि अघि सर्ने आकलन गरिएको छ।

रास्वपाले रविलाई नै उठाउँछ?

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूका अनुसार उक्त पार्टीबाट चितवन-२ मा फेरि पनि पार्टी सभापति लामिछाने नै उम्मेदवार हुने सम्भावना छ।

रास्वपाले चितवनमा उठाउने उम्मेदवारको टुङ्गो लगाउन चैत्र पहिलो साता पार्टीको बैठक बोलाउने तयारी गरिरहेको पार्टीका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

“अहिलेको केन्द्रीय समितिमा रहेका साथीहरूको भनाइ र प्रयास पार्टी सभापतिलाई नै उठाउने भन्ने नै छ। तर हाम्रो पार्टीमा उम्मेदवार छान्न सदस्यहरूलाई अधिकार दिइएको छ,” उनले भने।

redline
यो पनि पढ्नुहोस्
redline

बुर्लाकोटीका अनुसार चितवन-२ मा उम्मेदवारी दिन पार्टीका अरू पनि नेताहरूले इच्छा देखाएको अवस्थामा सबैभन्दा पहिले आकाङ्क्षीहरूबीच सहमतिका लागि आग्रह गरिन्छ।

“सहमति नभए सदस्यहरूको अनलाइन मतदानबाट उम्मेदवार छान्ने काम (प्राइमरी इलेक्सन) हुन्छ,” उनले भने।

बुर्लाकोटीका अनुसार रास्वपाले आफ्नो दलका उम्मेदवारको पक्षमा समर्थन जुटाउन अन्य दलहरूलाई पनि आग्रह गर्ने सम्भावना छ।

“हामी सहयोगका लागि दलहरूलाई औपचारिक आग्रह नै गर्छौँ,” उनले भने।

नयाँ गठबन्धनले रवि लामिछानेलाई सघाउला?

गठबन्धन बैठक

तस्बिर स्रोत, RSS

राष्ट्रपति निर्वाचनको उम्मेदवारीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका आठ वटा दलहरूले नयाँ गठबन्धन बनाएका छन्।

यो गठबन्धनमा रवि लामिछाने नेतृत्वको रास्वपा सहभागी भएको छैन तर माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छैन।

राष्ट्रपति निर्वाचनमा पनि नयाँ गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले रास्वपा सभापति लामिछानेसँग केही दिनअघि भेट गरेका थिए।

नयाँ गठबन्धन समेटेर बिस्तार गरिने मन्त्रीमण्डलमा यो दललाई पनि सहभागी गराउन प्रयास गरिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बीबीसीसँग बताएका छन्।

तर रास्वपाले गठबन्धन, सरकार र राष्ट्रपति निर्वाचनका कुनै पनि विषयमा निर्णय लिइसकेको छैन।

गठबन्धनले उपनिर्वाचनमा लामिछानेलाई सहयोग गर्ने वा नगर्नेबारे राष्ट्रपति निर्वाचनपछि मात्रै टुङ्गो लाग्ने कांग्रेस नेता रमेश लेखकले बताए।

“राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उहाँहरूले कसलाई समर्थन गर्नुहुन्छ। यो गठबन्धनमा आउनुहुन्छ कि आउनुहुन्छ र सरकारमा के हुन्छ भन्ने कुराका आधारमा मात्रै उपनिर्वाचनमा के गर्न सकिन्छ भन्नेबारे थाहा होला,” कांग्रेस नेता लेखकले बीबीसीसँग भने।

यसअघि मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले उक्त निर्वाचन क्षेत्रबाट दोस्रो धेरै मत ल्याएका थिए।

नेकपा माओवादी सहित तत्कालीन पाँच दलीय गठबन्धनका दलहरूले पनि श्रेष्ठलाई समर्थन गरेका थिए।

एमालेले आफ्नै उम्मेदवार उठाउँछ?

एमाले बैठक

तस्बिर स्रोत, RSS

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ नेकपा एमालेको निर्णय पनि रवि लामिछानेको पार्टी उभिने कित्तामा भर पर्ने बताउँछन्।

“हामी एकै ठाउँमा भएको भए एउटा कुरा हुन्थ्यो। उहाँहरूले अहिले सरकारलाई समर्थन गरिरहनुभएको छ,” गुरुङले भने, “अब सहयोग गर्नुपर्ने विशेष परिस्थिति भए सचिवालयबाट निर्णय होला नभए सामान्यतया आफ्नै उम्मेदवार उठाउने कुरा हुन्छ।”

उम्मेदवारी दर्ताअघि यसबारे पार्टीमा छलफल हुने गुरुङ बताउँछन्।

एमालेबाट गत निर्वाचनमा रवि लामिछानेसँग प्रतिस्पर्धा गरेका कृष्णभक्त पोखरेलले रास्वपासँग सहकार्य गर्ने सम्भावना नरहेको दाबी गरे।

“उसले सरकारलाई समर्थन गरेकाले अब सहकार्य गर्ने सम्भावना छैन। हाम्रो आफ्नै उम्मेदवार हुन्छ,” उनले भने।