तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदी अरब प्रवेश गर्न लागेका सयौँ आप्रवासीको हत्या गरिएको आरोप
- Author, पोल एडम्स
- Role, कूटनीतिक संवाददाता
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ।
उक्त प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक भएको बताइएको छ।
आप्रवासीहरूले गोली लागेर आफ्नो अङ्गभङ्ग भएको र आफूहरूले बाटोमा शवहरू देखेको बीबीसीलाई बताएका छन्।
साउदी अरबले यसअघि नियोजित हत्याको आरोप अस्वीकार गरेको थियो।
ह्ययूमन राइट्स वाचको प्रतिवेदनमा आप्रवासीहरूले सुनाएको बीभत्स वर्णन समावेश छ।
उनीहरूले साउदी प्रहरी तथा सैनिकहरूले साउदी अरब र यमनबीचको अप्ठ्यारो सीमामा आफूहरूमाथि गोली प्रहार गरेको र 'विस्फोटक अस्त्र' ताकेको बताएका छन्।
बीबीसीले छुट्टै कुरा गरेका आप्रवासीहरूले पनि रातको समयमा सीमा पार गर्दाको अत्यासलाग्दो अवस्था वर्णन गरेका छन्।
उनीहरूका अनुसार महिला र बालबालिकासहित साउदी अरब प्रवेश गर्ने इथियोपियालीहरूको ठूलो समूहमा गोली प्रहार भएको थियो।
सपना चकनाचुर
एक्काइस वर्षीय मुस्तफा सोफिया मोहम्मदले निरन्तर गोलीको वर्षा भएको बताए।
उनले गत वर्षको जुलाईमा ४५ जनाको समूहमा सीमा पार पर्ने क्रममा आफूहरूमाथि गोली प्रहार भएको र केही मानिसको मृत्यु भएको बताए।
“मैले मलाई गोली लागेको पनि भेउ पाएको थिइनँ,” उनले भने।
“उठेर हिँड्न खोज्दा मेरो खुट्टाको एउटा भाग नै थिएन।”
घटनाको केही घण्टापछि खिचिएको भिडिओमा उनको देब्रे खुट्टा चुँडिन लागेको देखिन्छ। अहिले इथियोपियामा आफ्ना आमाबुवासँग बसिरहेका उनको घुँडामुनिको भाग काट्नुपरेको थियो।
उनीहरूलाई यमनी र इथियोपियाली तस्करहरूले त्यहाँ पुर्याएका थिए।
“परिवारको जीवन उकास्न म साउदी अरब जान चाहन्थेँ,” उनले भने। उनका दुई सन्तान छन्।
“तर मैले सोचेको पूरा भएन। अहिले मेरा आमाबुवाले मेरा लागि सबै गरिरहनुभएको छ।”
आफ्नो परिचय गोप्य राख्न आग्रह गरेका अर्का इथियोपियालीले (जसलाई हामीले इब्सा नाम दिएका छौँ) आफूलाई पनि साउदी सैनिक पोसाक लगाएका मानिसले गोली प्रहार गरेको बताए।
“उनीहरूले हामीलाई कुटपिट पनि गरे, बाँचेका केहीलाई अस्पताल लगे। मारिएका मानिसहरूको शव मैदानभरि छरिएको थियो,” उनले भने।
ठूलो खर्च
त्यहाँबाट बाँचेर फर्किएका कतिपय मानिसमा गम्भीर मानसिक आघातको लक्षण देखिएको छ।
यमनको राजधानीमा बस्ने जारा त्यहाँ आफूले भोगेको घटनाबारे बताउन पनि सहजै तयार हुन्नन्।
उनका अनुसार उनी १८ वर्षकी हुन्। तर त्यो भन्दा भर्खरैकी देखिन्छिन्। हामीले उनको गोपनीयताका लागि परिचय खुलाएका छैनौँ।
यात्राका क्रममा फिरौती र घुसका लागि २,५०० अमेरिकी डलर (३,३०,००० नेपाली रुपैयाँ) खर्च गरेकी उनको साउदी अरब प्रवेश गर्ने सपना गोलीको वर्षासँगै भताभुङ्ग भयो।
एउटा गोलीले उनको एउटा हातका सबै औँला लगिदियो। यात्राबारे सोध्दा उनी टाढा हेरेर टोलाइरहिन् र केही भन्न सकिनन्।
डरलाग्दो यात्रा र चिहानको बाटो
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमका अनुसार प्रत्येक वर्ष दशौँ हजार मानिसहरू होर्न अफ अफ्रिकाबाट समुद्र पार गरेर यमन साउदी अरबतिर जान्छन्।
मानव अधिकारवादी संस्थाहरूका अनुसार धेरै मानिस बाटोमै जेल पर्छन् वा कुटिन्छन्।
यहाँको समुद्र पार गर्न पनि निकै डरलाग्दो छ। गत साता मात्रै जिबूटीनजिकै समुद्रमा एउटा डुङ्गा डुब्दा २४ जनाभन्दा धेरै आप्रवासी हराइरहेका छन्।
यमन हुँदै आप्रवासीहरू साउदी सीमासम्म जाने बाटोमा चिहानहरूको लस्कर छ। यात्राका क्रममा ज्यान गुमाएका मानिसहरू त्यहाँ पुरिएका छन्।
यमनको अधिकांश उत्तरी क्षेत्र त्यहाँका विद्रोहीहरूको कब्जामा छ। उनीहरूले सञ्चालन गरेको हिरासतमा दुई वर्षअघि आगलागी हुँदा दर्जनौँ आप्रवासीहरूको मृत्यु भएको थियो।
तर ह्यूमन राइट्स वाचले औँल्याएको दुर्व्यवहारको मात्रा योभन्दा पनि ठूलो छ।
‘हत्याको मैदान’
“हामीले सामूहिक हत्याको मात्रै अभिलेख राखेका छौँ,” प्रतिवेदनकी मुख्य लेखिका नाडिया हार्ड्मनले बीबीसीसँग भनिन्।
“मानिसहरूले त्यो ठाउँ हत्याको मैदानजस्तो रहेको वर्णन गरेका छन्। त्यहाँका पहाडमा जताततै शवहरू छरिएका छन्।”
उक्त प्रतिवेदनमा सन् २०२२ को मार्चबाट यो वर्षको जुनसम्मको अवधि समेटिएको छ। त्यसमा 'विस्फोटक अस्त्र' प्रयोग भएको र नजिकबाट गोली प्रहार भएका २८ वटा घटना समावेश गरिएको छ।
“त्यहाँबाट बाँचेर फर्किएकाहरूले पठाएका सयौँ बीभत्स तस्बिरहरू मैले हेरेकी छु। त्यसमा डरलाग्दो चोटपटक देखिन्छ,” उनले भनिन्।
त्यस ठाउँको दुर्गमता र त्यहाँबाट बाँचेर फर्किएकाहरूलाई भेट्न हुने कठिनाइका कारण ठ्याक्कै कति मानिसहरूको ज्यान गयो भन्ने निर्क्योल गर्न मुस्किल छ।
“हामी कम्तीमा पनि ६५५ जना मारिएको भन्न सक्छौँ तर त्यहाँ मारिने मानिसको सङ्ख्या हजारौँ पनि हुनसक्छ,” हार्ड्मन भन्छिन्।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले साउदी सरकारलाई लेखेको पत्रपछि गत अक्टोबरबाटै त्यहाँ सामूहिक हत्या भएको कुरा सार्वजनिक भएको थियो।
यद्यपि उक्त पत्रबारे धेरै चर्चा र बहस भएन।
साउदी अरबद्वारा अस्वीकार
साउदी सरकारले भने उक्त आरोपलाई गम्भीर रूपमा लिइएको जनाउँदै नियोजित र ठूलो सङ्ख्यामा हत्या भएको राष्ट्रसङ्घको आरोप अस्वीकार गरेको थियो।
“हामीलाई उपलब्ध गराइएको एकदमै थोरै सूचनाका आधारमा अधिराज्यका अधिकारीहरूले त्यस्तो आरोप पुष्टि गर्ने कुनै पनि सूचना वा प्रमाण फेला पार्न सकेनन्,” साउदी सरकारले भनेको थियो।
उक्त प्रतिवेदनमा सीमा क्षेत्रमा सडेका शवहरू रहेको उल्लेख छ।
सीमा पार गर्ने क्रममा नियन्त्रणमा लिइएका आप्रवासीहरूलाई साउदी सीमारक्षकहरूले कुन खुट्टामा गोली हानौँ भनेर सोधेको र मानिसहरूको ठूलो समूहलाई आक्रमण गर्न मशीनगन र मोर्टारहरू प्रयोग गरिएको जस्ता विवरणहरू छन्।
ह्यूमन राइट्स वाचको प्रतिवेदन अझ विस्तृत विवरणसहित आएको छ। त्यसमा सीमा पार गर्न प्रयोग हुने स्थानहरूको भूउपग्रहबाट खिचिएका तस्बिरहरू समावेश छन्। ती तस्बिरमा चिहानहरू देखिन्छन्।
उक्त प्रतिवेदनमा सशस्त्र तस्करहरूले आप्रवासीहरूलाई सीमामा लैजानुअघि राख्न प्रयोग गर्ने अस्थायी शिविरबारे पनि विस्तृतमा उल्लेख छ।
प्रतिवेदनका लागि अन्तर्वार्ता लिइएका एक आप्रवासीले यमनका हूथी विद्रोहीहरू नै तस्करसँग मिलेको बताएका छन्।
भूउपग्रहबाट प्राप्त तस्बिरमा तारबार गरिएको सुन्तला रङ्गका पालहरू बाक्लै देखिन्छन्।
ताजा चिहान
ह्ययूमन राइट्स वाचले जुन महिनासम्मको मात्रै विवरण समावेश गरेको भए पनि बीबीसीले त्यहाँ निरन्तर हत्या भइरहेको पत्ता लगाएको छ।
उत्तरी सहर सादामा खिचिएको एउटा भिडिओमा सीमामा घाइते भएका आप्रवासीलाई अस्पताल ल्याउँदै गरेको देखिन्छ। उक्त दृश्य गत शुक्रवारको हो। नजिकैको एउटा चिहानमा शवहरू गाड्ने क्रम पनि चलिरहेको देखिन्छ।
ताजा प्रतिवेदनहरूबारे बीबीसीले साउदी सरकारसँग सोधेको प्रश्नको उत्तर आएको छैन।
साउदी सरकारको एउटा स्रोतले एएफपी समाचारसंस्थालाई आरोपहरू "निराधार र विश्वसनीय स्रोतहरूमा आधारित नभएको" बताएको छ।
ह्यूमन राइट्स वाचले पठाएको पत्रको उत्तर दिँदै स्यानास्थित हूथी नेतृत्वको सरकारले साउदी सीमारक्षकहरूद्वारा "आप्रवासी र यमनीहरूको नियोजित हत्या" बारे सचेत रहेको बताएको छ।
तस्करहरूलाई आफ्नो सरकारले अपराधी मान्ने भन्दै विद्रोही सरकारले उनीहरूलाई सघाएको आरोप अस्वीकार गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।