तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैदेशिक रोजगारीसम्बन्धी कामका लागि अब काठमाण्डू धाउनुपर्दैन?
वैदेशिक रोजगारसम्बन्धी सबै सेवा अब प्रदेशस्तरबाटै दिइने भएपछि सेवाग्राहीलाई खर्च र समयको हिसाबले ठूलो राहत हुने अधिकारीहरूले विश्वास लिएका छन्।
व्यक्तिगत तथा संस्थागत श्रमस्वीकृतिसम्बन्धी कामहरू प्रादेशिक कार्यालयबाट पनि उपलब्ध गराउन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए।
उनका अनुसार यसअघि वैदेशिक रोजगारसम्बन्धी धेरैजसो काम सङ्घीय राजधानी काठमाण्डूको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट दिँदै आइएको थियो।
झन्डै डेढ महिनादेखि पोखरा र बुटवलबाट पनि श्रमस्वीकृति दिँदै आइएकोमा पुस २४ गतेदेखि अरू प्रदेशमा पनि उक्त सेवा विस्तार गरिएको विभागले जनाएको छ।
प्रदेशबाट के-के काम हुन्छ?
पुस २४ गतेदेखि मधेश प्रदेशको जनकपुर र प्रदेश नं १ को राजधानी विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट सेवा थालिएको हो।
सुर्खेत र धनगढीका नयाँ कार्यालबाट भने केही दिनपछि सेवा सुरु गरिने विभागले जनाएको छ।
“कर्मचारीलाई तालिम लगायतका काम सकेर केही दिनपछि सुर्खेत र धनगढीबाट पनि सेवा सञ्चालन गरिने छ,” महानिर्देशक आचार्यले बीबीसीसँग भने।
सबै कार्यालयबाट संस्थागत र व्यक्तिगत नयाँ श्रमस्वीकृति र नवीकरणको काम हुनेछ।
त्यसबाहेक म्यानपावर कम्पनीहरूले गर्ने कामदार छनोटसहितका काम पनि प्रदेशस्तरबाट हुने आचार्यले बताए।
उनका अनुसार काठमाण्डूबाहिर रहेका सबै श्रम कार्यालयले दैनिक सरदर १०० देखि १५० वटासम्म श्रमस्वीकृति दिनेछन्।
अनलाइन आवेदन दिएको ७२ घण्टाभित्र श्रमस्वीकृतिसम्बन्धी काम हुनुपर्ने कानुनले परिकल्पना गरेको छ।
तर ताहाचलस्थित कार्यालयमै दैनिक ठूलो सङ्ख्यामा आवेदन पर्ने गरेको हुँदा सूचीको पुछारमा भएका व्यक्तिहरूले पालो पाउन निकै कुर्नुपर्ने अवस्था थियो।
“अब यसले सम्बन्धित व्यक्तिलाई आफ्नै क्षेत्रबाट श्रमसम्बन्धी काम गराउन सजिलो भयो अनि बाँकी रहेका केही काम गराउन र काठमाण्डूबाट उडानका लागि मात्रै आउनुपर्ने भयो,” फाइदाबारे उनले थपे।
यसबाहेक म्यानपावर कम्पनीहरूलाई प्रदेशहरूमा शाखा खोल्ने अनुमति दिइएपछि श्रमिक ठगिने घटना पनि रोकिने अधिकारीहरूको विश्वास छ।
“हिजोसम्म अनधिकृत एजेन्टहरूसँग उहाँहरूले डील गर्नुहुन्थ्यो भने अब सीधै म्यानपावर कम्पनीहरूको शाखासँगै डील हुने भयो,” महानिर्देशक आचार्यले भने।
“मलाई लाग्छ एजेन्टलाई बढी पैसा तिर्नुपर्नेलगायत अनेकौँ झमेलाबाट पनि उहाँहरू मुक्त हुनुहुनेछ।”
केका लागि काठमाण्डू नै जानुपर्छ?
वैदेशिक रोजगारीसम्बन्धी सेवाहरू विकेन्द्रीकृत गरिए पनि अहिले नै काठमाण्डू धाउनुपर्ने बाध्यताको अन्त्य हुँदैन।
महानिर्देशक आचार्यका अनुसार दूतावासहरूले तोकेका स्वास्थ्यसंस्था काठमाण्डूमा रहेकाले स्वास्थ्य परीक्षण एवं भिसा लगाउन काठमाण्डू आउनुपर्ने हुन्छ।
“त्यो कुरा प्रदेशबाट गराउन मिल्ने हिसाबले दूतावासहरूसमक्ष हाम्रो पहल रहनेछ,” उनले थपे।
काठमाण्डू बाहिरबाट स्वास्थ्य परीक्षण हुने र भिसा पनि लाग्ने व्यवस्था भए धेरै श्रमिक भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै जान सक्नेछन्।
यात्रु नपाउँदा उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडान रोकिएको अधिकारीहरू बताउँछन्।
श्रमविज्ञ के भन्छन्?
पछिल्लो कदमसँगै श्रमस्वीकृति लिनका लागि काठमाण्डू आएर केही दिन बस्नुपर्ने बाध्यताको अन्त्य हुने श्रमविज्ञ मीना पौडेल बताउँछिन्।
यद्यपि केही कामका लागि फेरि काठमाण्डू नै आउनुपर्ने भएपछि दोहोरो झन्झट हुने उनी औँल्याउँछिन्।
“श्रमिकहरू विदेश जानुअघि दिइने तालिम, स्वास्थ्य परीक्षण, भिसा लगाउने काम काठमाण्डूबाट हुने भए दोहोरो दुःख पो हुने हो कि?” पौडेलले भनिन्।
“त्यो भएर हाम्रा निकायहरूले प्रदेशस्तरबाटै बाँकी सेवाहरू उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गर्नुपर्ने हुन्छ।”