वैदेशिक रोजगार: नेपाली श्रमिक इजरेलका स्याहार केन्द्रसम्म पुर्‍याउने दोहोरो सम्झौता के हो?

वैदेशिक रोजगारीका लागि १,००० जनाभन्दा बढी नेपालीहरू इजरेल जाने क्रम सुरु भएको छ।

दुई देशबीच दोहोरो श्रम सम्झौता भएलगत्तै ज्यानुअरी १९ देखि हालसम्म २९७ जना नेपाली इजरेल पुगिसकेको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए।

विभाग र इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएबीच भएको दोहोरो सम्झौतापछि ८२१ जना महिलासहित १,१७५ जना छानिएको सुनुवारले बताए।

उनले बीबीसीसँग भने,"गत साउन महिनामा सूचना जारी गरी इजरेलका लागि सहायक कामदार माग गरेका थियौँ। हामीले छानिएका १,६०० जनामध्ये १,१७५ जना गोलाप्रथाबाट छनौट भएका हुन्।"

इजरेलमा नेपाली कामदारहरूले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेछन्।

के हो सम्झौता?

२०७७ सालको असोज महिनामा नेपाल र इजरेलबीच श्रम सम्झौता भयो। त्यसलगत्तै नेपाली श्रमिक माग गरियो।

प्रक्रिया अनुरूप इजरेल जान योग्य ठहरिएका व्यक्तिहरूको विवरण पेस भयो। त्यही विवरणका आधारमा स्ट्यान्डर्ड इम्प्लोयमेन्ट कन्ट्र्याक्ट एसईसी भएको निर्देशक सुनुवारले बताए।

"इजरेल सरकारद्वारा मान्यता प्राप्त स्याहार केन्द्रहरूको मागका आधारमा पीआईबीएले विभागमा सम्झौता पठाउन थालियो," उनले भने।

सम्झौतासहित थप विवरण पीआईबीए र नेपालस्थित इजरेली राजदूतावासमा पठाए पछि भिसा जारी भएको हो। हालसम्म ९९९ जनाको सम्झौता प्राप्त भइसकेको र उनीहरू जाने प्रक्रियामा रहेका छन्।

इजरेल जानुपूर्व कामदारहरूलाई दुई दिनको पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन भएको थियो।

कसरी जान्छन् श्रमिक?

वैदेशिक रोजगार ऐन २०६४ का अनुसार कामदारहरूले श्रमिक कल्याणकारी कोषमा १,५०० रुपैयाँ बुझाउनु पर्छ।

त्यस्तै स्वास्थ्य परीक्षण, जीवनबिमा र श्रम स्वीकृति पनि अनिवार्य गरिएको छ।

कामदारले नेपाल प्रहरीबाट असल चरित्रको प्रमाणपत्र समेत लिनु पर्छ।

भिसा जारी भइसकेपछि कामदारहरूले श्रम स्वीकृति लिनु पर्छ।

"तत्काल इजरेल जाने थप कामदारहरूलाई श्रम स्वीकृति दिएका छैनौँ। प्रक्रियामा हुनुहुन्छ," वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी हरिराम नागीलाले जानकारी दिए।

स्वास्थ्य परीक्षण पेस गरेकाहरू मात्र रोजगारका लागि जान पाउने प्रावधान छ।

इजरेल जाँदा खर्च कति?

विभागले इजरेल जाने कामदारहरूले अनुमानित एक लाख ६४ हजार सात सय रुपैयाँ खर्च गर्नु पर्ने सूचना जारी गरेको थियो।

आवश्यक खर्चहरूमा हवाई भाडा एक लाख ४० हजार, स्वास्थ्य परीक्षणको कम्तीमा १० हजार र पीसीआर परीक्षण शीर्षक उल्लेखित थिए।

"तर प्रतिस्पर्धात्मक माध्यमबाट हवाई कम्पनी पनि तय भयो। श्रमिकहरू ५९,९९० रुपैयाँमा उडे," निर्देशक सुनुवारले जानकारी दिए।

सम्झौताका फाइदा कस्ता?

दोहोरो सम्झौताले नेपाली कामदारलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु नै पहिलो फाइदा भएको सुनुवार बताउँछन्।

त्यस्तै पारिश्रमिकको निश्चिततालाई पनि अर्को लाभ मानिन्छ।

कामका लागि इजरेल पुगेका नेपालीले कम्तीमा ५,३०० इजरेली सेकल (करिब दुई लाख रुपैयाँ) पाउने देशबीचको श्रम सम्झौतामा उल्लेख गरिएको सुनुवार बताउँछन्। तर श्रमिकका लागि स्याहार गृहले पठाएको सम्झौतामा भने ६,५०० सय सेकल (करिब साढे दुई लाख रुपैयाँ)सम्म उल्लेख गरिएको बताए।

हरेक कामदारसँग एक वर्षको सम्झौता छ। रोजगारदाताले चाहेको खण्डमा उक्त सम्झौता पाँच वर्षसम्म नवीकरण गर्न सक्छन्।

तोकिएको समयावधिमा नेपाल फर्कनेहरूलाई त्यहाँको सरकारले मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ।

"सोही तहको अन्य कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा वृद्धि हुँदा नेपाली कामदारको पनि तलब बढ्नेछ," उनले भने।

ती कामदारले सिकेको सीप, बटुलेको अनुभव र जम्मा गरेको पुँजी भोलि नेपालको आन्तरिक श्रम बजारमा काम लाग्नेमा सुनुवार आशावादी सुनिन्छन्।

"स्वरोजगारको बाटो खुल्छ। व्यक्ति, परिवार र देशको आर्थिक उन्नतिमा सानै भए पनि टेवा पुग्छ भन्ने विश्वास छ।"

अन्य देशबाट पनि प्रस्ताव

श्रम सम्झौताको प्रशंसा भइरहेको विभागका निर्देशक सुनुवारको दाबी छ।

इजरेलसँगको समन्वयनबाट प्रभावित भएर बेलायत र जापानले पनि सोही कामका लागि कामदार लाने प्रस्ताव अघि सारेको उनी बताउँछन्।

"केही प्रक्रिया अघि बढेका छन्। हालका लागि इजरेल गएका नागरिकहरूको सुविधा, पारिश्रमिक र सुरक्षाका लागि निगरानीमा जोड दिएका छौँ," सुनुवारले बताए।