तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन खर्च उठाउन नै किन धौधौ
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू बन्द भएपछि सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको अधिकारीहरूले स्वीकारेका छन्।
जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले सिङ्गापुरका लागि उडान गर्दै आएकोमा ती दुवैले डिसेम्बर तेस्रो सातादेखि उडान स्थगित गरेका हुन्।
जजिरा एअरवेजले विमानस्थल उद्घाटनको दिन अर्थात् जेठ २ गतेदेखि नै सातामा तीनवटा उडान गर्दै आएको थियो।
विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार हिमालय एअरलाइन्सले चाहिँ डेढ महिना जति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो।
किन बन्द भयो?
“जजिराले मौसम लगायतका कारण उडान बन्द गरेको भनेको छ। कारण त अरू पनि होलान्, तर हामीलाई त्यति मात्र भनेका छन्,” बीबीसीसँग उनले भने।
उनका अनुसार कम भिजिबिलिटीका कारण अहिले बाहिरबाट चार्टर्ड उडानहरू समेत आउन नसकेको अवस्था छ।
कहिलेदेखि फेरि अन्तर्राष्ट्रिय उडान शुरू हुन्छ भन्ने कुरा किटेर भन्न सक्ने अवस्था नरहेको महाप्रबन्धक दाहालले बताए।
शुरूशुरूमा विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले चासो देखाए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्वीकारे।
एशियाली विकास ब्याङ्कको ऋण र ओपेक फन्ड तथा नेपाल सरकारसहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँमा उक्त विमानस्थल निर्माण भएको हो।
तर सञ्चालनमा आएको आठ महिना बितिसक्दा पनि विमानस्थललाई सञ्चालन खर्चै उठाउन मुश्किल परिरहेको छ।
महाप्रबन्धक दाहालका अनुसार विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालनका लागि मासिक औसतमा दुई करोड रुपैयाँ खर्च हुने गरेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नुका तीनवटा प्रमुख कारण रहेको उनी बताउँछन्।
१. विशेष रुट नपाएर
भारतले महेन्द्रनगर भएर सीधै भैरहवा आउन दिने एअर रुटको अनुमति नदिँदा सिमरा भएर आउँदा बढी समय लाग्ने भयो।
त्यो भएर काठमाण्डू जानुभन्दा भैरहवा आउन ८/१० मिनेट ढिलो हुने भयो,” महाप्रबन्धक दाहालले भने।
२.आईएलएस प्रयोग नभएर
इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटीमा पनि विमान गर्न सकिएन।
“भारतीय हवाई क्षेत्रलाई पनि त्यसले छुने भएर भारत सरकारले त्यसको प्रयोगका लागि सहमत भएन,” दाहालले भने।
३. भारतले एनओसी नदिएर
भैरहवाबाट वायुसेवा लिनका लागि भारतले आफ्ना नागरिकहरूलाई नो अब्जेक्शन सर्टिफिकेट नदिएर पनि उनीहरू यहाँबाट जान नमिल्ने भयो।
“भारतले आफ्ना नागरिकलाई त्यो अनुमति दिएको भएर यताबाट हवाईमार्गबाट जाने यात्रु हुन्थे,” उनले थपे।
यात्रु नपाएर पनि ती दुई वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेको महाप्रबन्धक दाहालले औँल्याए।
अधिकारीहरूका अनुसार भैरहवाबाट जाने धेरै यात्री नेपाली कामदार हुने गरेका थिए।
धेरैले श्रम इजाजत, भिसा नवीकरण लगायतका काम काठमाण्डूबाट गराउने गरेका छन्।
“ती कामका लागि काठमाण्डू पुगेर फेरि भैरहवाबाट उडानका लागि आउँदैनन्,” यात्री नपाउनुको एउटा कारणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले बीबीसीसँग भने।
महाप्रबन्धक दाहालका अनुसार जजिरा एअरवेज र हिमालय एअरलाइन्सले काठमाण्डूबाट बसमा यात्री लगेर प्रायः उडान गर्ने गरेका थिए।
“हामीले विविध शीर्षकमा छुट पनि दिने गरेका छौँ। अहिले अन्तर्राष्ट्रिय उडानहरू नै बन्द भएपछि केही त लस हुन्छ,” उनले थपे।
सञ्चालन खर्च नै उठाउन गाह्रो हुने भएपछि ऋण तिर्न टाढाको कुरा भएको विमानस्थलका महाप्रबन्धक दाहाल बताउँछन्।
नतिजा नराखेर लगानी गरिएकोले यो अवस्था आएको उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक क्षेत्रीको तर्क छ।
“पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे भन्न त अहिले हतार होला। तर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो लागि सेतो हात्ती नै भएको छ,” उनले थपे।