अमेरिकी विदेशमन्त्रीको चिनियाँ राष्ट्रपतिसँग भेट: 'तनावपूर्ण सम्बन्ध स्थिर बनाउने' वाचा

तस्बिर स्रोत, Getty Images
अमेरिका र चीनले उनीहरूको तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने बताएका छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनको दुई दिने बेइजिङ भ्रमणका बेला उनीहरूले सम्बन्ध सुधार्ने बताएका हुन्।
अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले सोमबार राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरे, जसलाई दुई प्रतिद्वन्द्वी महाशक्तिहरुबीच उच्च तहको संवाद पुन सुरु भएको कडीका रूपमा हेरिएको छ।
राष्ट्रपति सीले केही प्रगति भएको बताएका छन् भने ब्लिङ्कनले दुवै पक्ष थप संवादका लागि खुला रहेको जनाएका छन्।
तर वरिष्ठ अमेरिकी कूटनीतिज्ञले दुवै पक्षबीच कैयौँ फरकपन रहेको स्पष्ट पारे।
द ग्रेट हल अफ द पिपलमा भएको ३५ मिनेट लामो संवादपछि उनले भने, “मैले जोड दिएँ कि उच्च तहमा दिगो किसिमको संवाद विमतिहरूको व्यवस्थापन गर्ने र प्रतिस्पर्धा द्वन्द्वतर्फ नजाओस् भन्ने सुनिश्चित गर्ने सबैभन्दा उपयुक्त माध्यम हो।”
ट्रम्पकालीन व्यापार युद्ध सहितका कारणले चिसिएको बेइजिङ र वासिङ्टनबीचको सम्बन्ध चीनले ताइवानमाथि आक्रामक रूपमा व्यक्त गरेका दाबी र अमेरिकी आकाशमा देखिएको सन्दिग्ध चिनियाँ गुप्तचर बेलुन खसालिएपछि अझ पेचिलो बनेको थियो।
सुरुमा ब्लिङ्कन र सीबीच भेटवार्ता हुने हुने निधो नभए पनि भेटवार्ताको एक घण्टाअघि मात्रै त्यो घोषणा गरिएको थियो।
'खुलस्त' कुराकानी

तस्बिर स्रोत, Reuters
विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफ्ना चिनियाँ समकक्षीसँग "खुलस्त" कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो।
चीनका अधिकारीहरूसँगको दुई दिने बैठकको आरम्भमा उनले चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।
ब्लिङ्कनले कूटनीति र "संवादका ढोकाहरू खुला राख्नुपर्ने" आवश्यकतामा जोड दिएको विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा उल्लेख गरिएको छ।
करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलो पटक हो।
अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो।
अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।

तस्बिर स्रोत, Reuters
चीनका विदेशमन्त्री किन गांगले ब्लिङ्कनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी अधिकारीहरूले चाहिँ वार्तामा उनी वाशिङ्टन भ्रमणका लागि सहमत भएको बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार किनले चीन-अमेरिका सम्बन्धका लागि ताइवान मामिला "सबैभन्दा प्रमुख जोखिम" भएको बताए र ताइवान मुद्दालाई "चीनको मुख्य चासो"का रूपमा वर्णन गरे।
चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ। तर ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले गतवर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। त्यसलाई बेइजिङले निन्दा गरेको थियो।


चिनियाँ विदेशमन्त्रीले आइतवार बिहान ब्लिङ्कनलाई विशेषगरी विदेशी पाहुनाहरूलाई स्वागत गरिने भव्य स्टेट गेस्ट हाउसमा स्वागत गरेका थिए।
त्यसपछि दुवैले आ-आफ्नो झण्डाको अगाडि उभिएर हात मिलाए अनि त्यसपछि बैठक सुरु गर्न लामो टेबलमा उनीहरूका प्रतिनिधिमण्डलसँग बसे।
हालैका वर्षहरूमा दुई महाशक्तिबीच विकसित भएको चिसो सम्बन्धलाई दर्शाउनेगरी भेटघाट नितान्त रूपमा औपचारिक जस्तो मात्र देखिन्थ्यो।
अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन्।
युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्ने अपेक्षा गरिएका छन्।
चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सामान्य प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन्।

तस्बिर स्रोत, Reuters


सम्बन्ध सुधार
ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो।
गत महिना अस्ट्रियाको भियनामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो।
ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुन् र अक्टोबर २०१८ पछि अमेरिकी विदेश मन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो।
अमेरिका-चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई कम गर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरुरी भएको ठान्छन्।
र, ब्लिङ्कनको भ्रमणले त्यसको थालनी गर्न सक्ने ठानिएको छ।

तस्बिर स्रोत, Reuters
व्यापार विवाद कम गर्ने प्रयास
राष्ट्रपति बाइडनको कार्यकाल चीनसँगको असहज सम्बन्धसँगै सुरु भयो।
त्यसको एउटा कारण उनले ट्रम्प प्रशासनले लागु गरेका व्यापार प्रतिबन्धहरूलाई हटाउने इच्छा नदेखाउनु पनि हो।
त्यस्ता प्रतिबन्धका कारण चिनियाँ उत्पादनहरूले अमेरिकामा अरबौँ डलरको आयात शुल्क बेहोर्नु परेको छ।
केही क्षेत्रमा बाइडनले अझ कडा कदम चालेका छन्।
उन्नत कम्प्युटर तथा इलेक्ट्रोनिक्स प्रविधिमा अमेरिकी दबदबा कायम राख्ने प्रयासमा चीनमा अमेरिकी कम्प्युटर-चिप निर्यातमा प्रतिबन्ध लगाइएको छ।
त्यसको प्रतिक्रियामा चीनले सबैभन्दा ठूलो अमेरिकी चिप निर्माता माइक्रोनले बेच्ने कम्प्युटर मेमोरी चिप्समा आफैँले प्रतिबन्ध लगाइदिएको छ।
ब्लिङ्कनको भ्रमणले अमेरिका र चीनबीच जारी यस्तो लडाइँलाई कम गर्ने एउटा महत्त्वपूर्ण पहलको रूप लिन सक्नेछ।

तस्बिर स्रोत, Reuters
युद्ध रोक्ने प्रयास
बलुन घटनापछि चीनले रुसलाई अस्त्र पठाउने विचार गरिरहेको र ती अस्त्रहरू तुरुन्तै युक्रेन विरुद्धको युद्धमा प्रयोग हुनसक्ने खबरहरू आएका थिए।
युक्रेन-रुस द्वन्द्व अमेरिका र चीनबीचको छद्म युद्धमा परिणत हुनसक्ने र दुई राष्ट्रबीचको विशेष विवादास्पद मुद्दा हुन सक्ने जोखिममालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरू पछिल्लो समय ती आरोपहरूबाट पछि हटेका छन्।
तर ब्लिङ्कनले भियनामा चिनियाँहरूलाई दिएको चेतावनीलाई दोहोर्याउने अपेक्षा गरिएको छ।
भियनामा अमेरिकी अधिकारीहरूले चीनले रुसलाई सैन्य र आर्थिक सहायता दिएमा त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएका थिए।












